
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२ को नौ महिनामा ५ लाख ७३ हजार ६ सय ८२ नयाँ करदाता थपिएका छन् । अर्थ मन्त्रालयले तथ्यांक सार्वजनिक गरे अनुसार नेपालमा स्थायी लेखा नम्बर लिने कुल करदाताको सङ्ख्या ६७ लाख ९९ हजार ८सय९५ पुगेको हो । देशको कुल जनसंख्याको आधारमा यो करदाताहरूको संख्या करिब २३ प्रतिशत हो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करदाता थपिने क्रम बढेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा ५ लाख ५१ हजार ५६७ नयाँ करदाता थपिएका थिए । यसवर्ष सोही अवधिमा २२ हजारभन्दा बढी करदाता थपिएको देखिन्छ ।चालु आर्थिक वर्षको चैतसम्म थपिएका नयाँ करदातामध्ये सबैभन्दा ठुलो हिस्सा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेहरूको रहेको छ । यस अवधिमा ४ लाख ८० हजार ७० जनाले व्यक्तिगत प्यान लिएका छन् । यो थपिएको कुल संख्याको करिब ८४ प्रतिशत हो ।
रोजगारीमा रहेका व्यक्तिहरू, परामर्शदाता र व्यक्तिगत आय भएका नागरिकहरूले व्यक्तिगत प्यान लिने गर्छन् । यसले रोजगारीको क्षेत्र र व्यक्तिगत आयमा औपचारिक रुपमा महत्वपूर्ण योगदान पुगेको देखिन्छ ।व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्यामा पनि वृद्धि भएको छ । यो अवधिमा ९१ हजार ७ सय ७३ नयाँ व्यावसायिक प्रतिष्ठान करको घेरामा आएका छन् । यसले नयाँ व्यवसाय दर्ता र उद्यमशीलतामा भइरहेको वृद्धिलाई जनाउ दिन्छ ।
हालसम्म कुल करदाता सङ्ख्या ६७ लाख ९९ हजार ८९५ मध्ये व्यक्तिगत प्यानको हिस्सा पनि ठुलो देखिएको छ । कुल ४७ लाख २७ हजार ७५४ जनाले व्यक्तिगत प्यान लिएका छन् । जुन कुल सङ्ख्याको ६९.५ प्रतिशत हो । साथै व्यावसायिक प्यान लिनेको सङ्ख्या २० लाख ३५ हजार ८७४ (२९.९ प्रतिशत) पुगेको छ । कर कट्टी गर्ने निकायको सङ्ख्या भने ३५ हजार ९६७ (०.५ प्रतिशत) रहेको छ ।
स्थायी लेखा नम्बरका अतिरिक्त मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्यामा पनि विस्तार भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा १८ हजार ५सय ६१ नयाँ करदाता भ्याटमा दर्ता भएका छन् । योसँगै भ्याटमा दर्ता हुने कुल करदाताको संख्या ३ लाख ४५ हजार १७८ पुगेको छ ।सोही गरी अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या पनि बढेको छ । यस अवधिमा ६ हजार ८ सय ९६ नयाँ करदाता थपिँदा अन्तःशुल्कमा दर्ता हुनेको कुल संख्या १ लाख २४ हजार २ सय ६४ पुगेको आन्तरिक राजस्व विभागको तथ्यांकले दर्शाउँछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij