
काठमाडौँ ।पसल बन्द गरेर सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । सरकारले आगामी बजेट (आर्थिक वर्ष २०८२/८३) मार्फत् सुनमा २ प्रतिशत विलासिता कर र हिरालगायत रत्न तथा पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले बजेटमार्फत सुनचाँदीका गहनामा विलासिता कर लागू गर्ने निर्णय गरेपछि सुनचाँदी व्यवसायीहरूको आन्दोलन चर्किन लागेको हो । व्यवसायीहरूले यो तुरुन्त खारेजीको माग गर्दै अनिश्चितकालीन व्यापार बन्दको घोषणा गरेका छन् । यसअघि सरकारले व्यवसायीहरूसँग गरेको छलफलमा कर नलगाउने वा समायोजन गर्ने संकेत दिइए पनि बजेट संसदबाट पास भयो । सो माग बेवास्ता गरिएको भन्दै पुनः आन्दोलन गरेको महासंघले जनाएको छ ।
सरकार र सुनचाँदी व्यवसायीहरूबीच छलफल भइरहेको छ । छलफलमा सहमतिको प्रयास त भएको छ तर, निष्कर्षमा भने नपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् ।
सरकारले माग पुरा हुन्छ भने आश्वासन दिए पनि विलासिता कर नहटेसम्म आन्दोलन जारी नै रहने उनी बताउँछन् ।व्यवसायीहरूले आफ्नो पसलमा ‘विलासिता कर खारेज गर’, ‘हाम्रो माग पुरा गर’ भन्ने जस्ता नारा अंकित व्यानर टाँसिरहेका छन् । विरोध स्वरूप याली, जुलुस र नाराबाजी समेत भइरहेको, उनको भनाई छ ।
महासंघले शनिबार बाहेक प्रत्येक दिन बिहान साढे १० बजे कारोबार मूल्य तोक्ने गरेकोमा निर्धारित समयमा मूल्य नै नतोकी आन्दोलनको कार्यक्रम सञ्चालन गरेको छ । सरकारको अर्थतन्त्रको क्षेत्र भएकाले दैनिक मूल्य निर्धारण त गरिन्छ तर बजार बन्द भएकाले मूल्यको आवश्यकता नपर्ने हुँदा कारोबार मूल्य नै समयमा नतोकेको उनी बताउँछन् ।
तर अर्थमन्त्री पौडेलले नेपाललाई ग्रेलिष्टबाट बाहिर निकाल्नका लागि सुनमा विलासिता कर लगाएको जनाएका छन् । अर्थमन्त्रीको यो अभिव्यक्तिप्रति महासंघले आपत्ति जनाएको छ । ग्रेलिष्टबाट निकाल्नका लागि भ्रष्टाचार र सुनको अवैध तस्करी रोक्नुपर्ने महासंघको भनाई छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij