Logo

Aug 25 2025 | २०८२, भदौ ९गते

Aug 25 2025 | २०८२, भदौ ९गते

images

रसुवागढी बाढी : सुक्खा बन्दरगाह बग्दा ठूलो क्षति, २० जना बेपत्ता, विद्युत उत्पादन पूर्ण रूपमा ठप्प

रसुवागढी बाढी : सुक्खा बन्दरगाह बग्दा ठूलो क्षति, २० जना बेपत्ता, विद्युत उत्पादन पूर्ण रूपमा ठप्प

  •  

    रसुवा । गए रातिको भीषण बाढीले रसुवागढी भन्सार नजिकको सुक्खा बन्दरगाह बगाउँदा ठूलो जनधनको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय, रसुवाका अनुसार बाढीले २३ वटा मालवाहक कन्टेनर, ६ वटा मालवाहक ट्रक, र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ सवारीसाधन बगाएको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार हालसम्म २० जना बेपत्ता भएका छन्। तीमध्ये नेपाल प्रहरीका ३ जना, बन्दरगाहमा कार्यरत ६ जना कामदार, ५ जना डिब्बा चालक, र ६ जना चिनियाँ नागरिक रहेका छन्।

    बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनाको ड्यामसाइट पूर्ण रूपमा बगाउँदा १११ मेगावाट क्षमताको उत्पादन पूर्ण रूपमा ठप्प भएको छ। चिलिमे जलविद्युत् केन्द्र (२० मेगावाट) को टेलरेसिभरमा लोदो पस्दा त्यहाँको उत्पादन पनि बन्द भएको छ। मर्मतको काम तीव्र पारिएको प्रशासनले जनाएको छ। माथिल्लो त्रिशूली ‘ए’ (६० मेगावाट) जलविद्युत् आयोजना पनि ड्यामसाइटमा क्षति पुगेपछि प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।

    यता, नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीको जोखिममा परेका ५५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। साथै, ल्हेन्दे खोलामा अवस्थित मितेरी पुलमा पनि क्षति पुगेको छ। सो पुल केरुङसँगको सीधा सम्पर्कका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। १० मिटर चौडा र १०० मिटर लामो उक्त पुलमा प्राविधिक क्षति पुगेको बताइएको छ।

    प्रारम्भिक अनुमानअनुसार रसुवागढीबाट करिब ८० कोषमाथिको चिनियाँ भूभाग छुसुमधोबाट आएको ठूलो पहिरोले उक्त बाढी निम्त्याएको हो। थप क्षतिको विवरण संकलन कार्य जारी छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij