
जुम्ला । जुम्लामा चट्याङबाट १९७ भेडा मरेका छन् । जिल्लाको गुठीचौर गाउँपालिका–५ स्थित धौलीगाडको ठूलो हाँका पाटनमा सोमबार दिउँसो ४ः३० बजे चट्याङ पर्दा १९७ भेडा मरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिनुभयो ।
“पाटनमा छ जना किसानका भेडा मरेका रहेका छन् । कुन किसानका भेडा कति मरे छन् भन्ने तथ्याङ्क सङ्कलन भइरहेको छ”, प्रनाउ रेग्मीले भन्नुभयो, “ पाटनमा चरिरहेका भेडाको बथानमा चट्याङ परेको भन्ने खबर प्राप्त भएको छ ।”
सुरक्षा निकाय र स्थानीयवासिको टोली घटनास्थल पुगेर चट्याङले मरेका भेडाको गणना भइरहेको उपरीक्षक रेग्मीको भनाइ छ । उहाँका अनुसार चट्याङले घाइते भएका सिंजा गाउँपालिका भाडगाउँका ५२ वर्षका धनबहादुर रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते रावतको स्वास्थ्य अवस्था सामान्य रहेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij