
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिपछि पहिलोपटक बजारबाट ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। आइतबारको दिन केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्नका लागि बोलकबोल प्रणालीमार्फत यो निक्षेप संकलन गर्न लागेको हो।
हाल बैंकिङ प्रणालीमा ७१ खर्बभन्दा बढी निक्षेप भइसकेको छ, जसका कारण तरलता उच्च देखिएको छ। यस्तो अवस्थामा केन्द्रीय बैंकले वित्तीय प्रणालीको स्थायित्व र ब्याजदर सन्तुलन गर्न ‘निक्षेप संकलन उपकरण’ र ‘स्थायी निक्षेप सुविधा’ प्रयोग गर्दै आएको छ।
यस पटकको बोलकबोलमा ‘क, ख र ग वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलन उपकरण अन्तर्गत बोलकबोलमा सहभागी संस्थाहरूले आफैंले प्रस्ताव गरेको ब्याजदरका आधारमा कम ब्याजदर बोल गर्नेहरूलाई प्राथमिकता दिई निक्षेप बाँडफाँट गरिनेछ।
राष्ट्र बैंकका अनुसार, बोलकबोल प्रक्रिया अनलाइन खरिद प्रणालीमार्फत सञ्चालन हुनेछ र यसमा ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ। संकलन गरिएको निक्षेपको मुख्य रकम र ब्याज २०८२ साउन १ गते भुक्तानी गरिनेछ। आवेदनको लागि न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि ५ करोडको गुणांकमा रकम कबोल गर्न सकिनेछ।
यो कदम केन्द्रीय बैंकको खुला बजार कारोबार कार्यविधि अन्तर्गत संरचनात्मक तरलता व्यवस्थापनका लागि चालिएको हो, जसमा आवश्यकता अनुसार ६ महिने अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिन्छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij