
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युत् आयोजना सम्बन्धी आईपीओ (प्रथम सार्वजनिक निष्कासन)रोकिएको निर्णयलाई गलत ठहर गरेका छन्। काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) को २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले धितोपत्र बोर्डले चाँडै शेयर निष्कासनको प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गरे। उनका अनुसार जलविद्युत् परियोजनाहरूमा आईपीओ रोक्नुले लगानी वातावरणमै नकारात्मक प्रभाव पार्छ र यसले निजी क्षेत्रको उत्साहमा पनि धक्का दिन्छ। यस्ता निर्णयले आर्थिक वृद्धिको गतिमा बाधा उत्पन्न गर्छ, त्यसैले शेयर निष्कासनलाई रोक्नु हुँदैन।
सभापति देउवाले नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि सहज, सरल र भरोसायोग्य वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। उनले लगानीकर्तालाई अनावश्यक झन्झट र असहजता नहोस् भन्नेतर्फ सरकार विशेष संवेदनशील हुनुपर्ने बताए। ूलगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै हुन्न, भन्दै उनले स्पष्ट गरे कि लगानीमैत्री वातावरण सिर्जना नगरेसम्म नेपालको आर्थिक विकास सम्भव छैन। निजी क्षेत्रको सहभागिता र संरक्षण विना दीगो आर्थिक समृद्धि प्राप्त गर्न कठिन हुन्छ।
पूर्वप्रधानमन्त्री देउवाले जलविद्युत् उत्पादनपछि त्यसको खपत र व्यापार गर्ने दायित्व सरकारकै भएको उल्लेख गर्दै, यसमा निजी क्षेत्रलाई सहभागी गराउनु अत्यावश्यक भएको बताए। ऊर्जा क्षेत्र नेपालका लागि अत्यन्त महत्वपूर्ण छ र यो प्रकृतिले दिएको अमूल्य सम्पत्ति हो भन्ने उनको धारणा थियो। जलविद्युत् स्रोतको सदुपयोग गर्न सरकारले स्पष्ट नीति ल्याउनुका साथै, निजी क्षेत्रको साथ र सहयोगमा अघि बढ्नुपर्ने उनले बताए।
उनले वर्तमान परिस्थितिमा हरित ऊर्जामाविशेष ध्यान दिनुपर्ने सुझाव पनि दिए। जलवायु परिवर्तन र दीगो विकासलाई ध्यानमा राखी ग्रिन इनर्जीमा लगानी बढाउन सके, नेपालले दीर्घकालीन फाइदा लिन सक्ने उनले बताए। ूयदि ग्रिन इनर्जीमा ध्यान बढी दिन सक्यौँ भने, हामीलाई निकै राम्रो हुन्छ, भन्दै उनले नवीकरणीय ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij