
काठमाडौँ । अर्थतन्त्रको अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्रमा ल्याउपर्ने आवश्यकता औँल्याइएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिका लागि अनौपचारिक क्षेत्रलाई औपचारिकतामा ल्याउन जरुरी रहेको बताएका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले औपचारिकीकरणले व्यवसायलाई कानुनी सुरक्षा, वित्तीय पहुँच र श्रमिक अधिकारको प्रत्याभूति दिने बताए । उनका अनुसार औपचारिकता बिना उत्पादकत्व वृद्धि, राजस्व संकलन र लगानीमैत्री वातावरण निर्माण सम्भव हुँदैन् । हाल पनि देशमा ठूलो हिस्सा अनौपचारिक क्षेत्रको रहेको छ । ती क्षेत्रलाई औपचारिक बनाउन राज्यले सहुलियत र प्रोत्साहन दिनुपर्ने छ ।
अनौपचारिक क्षेत्र औपचारिकतामा आएपछि मात्रै प्रतिस्पर्धी वातावरण बन्छ । राज्यले उनीहरूलाई कर, व्यवसाय दर्ता, कानुनी सुरक्षा र अन्य सेवामा सहजता दिनुपर्छ । व्यवसाय दर्ता प्रक्रिया अझै जटिल रहेको र करप्रणालीबारे अन्योलता कायमै रहेको छ । औपचारिक व्यवसायलाई अनावश्यक नियमनले दुःख दिइरहेको अवस्थामा अनौपचारिक क्षेत्र औपचारिकीकरणमा आउन डराउने अवस्था सिर्जना भएको छ ।
केही समयअघि हामीले आयात प्रतिस्थापनको कुरा गर्यौं भन्दै अध्यक्ष ढकालले तर सीमामा इनफर्मल आयात बढी हुँदा प्रतिस्पर्धाको वातावरण नबनेको बताए । त्यसले औपचारिक व्यवसायलाई निरुत्साहित बनाएको छ । औपचारिकीकरण अब विकल्प नभई आवश्यकता भएको स्पष्ट पार्दै उनले निजी क्षेत्रका मागहरूलाई सरकारले सुन्न थालेको र त्यसअनुसार नीतिगत सुधार हुने विश्वास व्यक्त गरे ।
ढकालका अनुसार नीति निर्माणमा निजी क्षेत्रको सहभागिता र सुझावलाई स्थान दिइनु सकारात्मक संकेत हो । लगानीमैत्री वातावरण सिर्जनाका लागि निजी क्षेत्रमैत्री नीतिहरू अपरिहार्य छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij