Logo

Jul 16 2025 | २०८२, असार ३२गते

Jul 16 2025 | २०८२, असार ३२गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार ३१ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् असार ३१ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार ३१ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू.....

    श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ६ हजार कित्ता संस्थापक सेयर विक्रीमा

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ६ हजार कित्ता संस्थापक सेयर हाल विक्रीमा आएको छ। कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूद्वारा खरीद नगरिएका सेयरहरूलाई अन्य व्यक्ति तथा संस्थाहरूका लागि खुला रूपमा विक्रीमा ल्याएको हो।

    यसअघि, जेठ २३ गते कम्पनीले यी सेयरहरू विद्यमान संस्थापकहरूलाई प्राथमिकतामा राखी विक्री खुला गरेको थियो। तर, ३५ दिनको अवधिभित्र कुनै पनि संस्थापकले सेयर नखरेपछि, अब सर्वसाधारण लगानीकर्ताहरूका लागि पुनः सूचना जारी गरिएको हो।

    ट्रेड टावर लिमिटेडको सेयर नेप्सेमा सूचीकृत, पहिलो कारोबारको रेन्ज निर्धारण

    काठमाडौं । ट्रेड टावर लिमिटेडको आइपीओ मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सफलतापूर्वक सूचीकृत भएको छ। कम्पनीका कुल ८१ लाख ५६ हजार ९७ कित्ता सेयरहरू सूचीकृत गरिएका छन्। तीमध्ये सर्वसाधारणलाई वितरण गरिएका ३९ लाख ७१ हजार ६९३ कित्ता र संस्थापक सेयरधनीहरूको ४२ लाख ८४ हजार ४०४ कित्ता सेयर समावेश छन्।

    नेप्सेले ट्रेड टावरको प्रथम कारोबारका लागि ओपनिङ रेन्ज न्यूनतम रू.१२३.०९ देखि अधिकतम रू. ३६९.२७ तोकेको छ। दोस्रो बजारमा कारोबारका लागि कम्पनीलाई संकेत चिन्ह प्रदान गरिएको छ। यससँगै ट्रेड टावर लिमिटेडले पूँजी बजारमा आफ्नो औपचारिक प्रवेश गरिसकेको छ।

    शेयर बजार : नेप्से परिसूचकमा ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा ,९ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा आएको छ । यस दिन ९ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

    जलविद्युत आयोजनाको आइपिओ निष्कासन रोक्नु गलतः देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युत् आयोजना सम्बन्धी आईपीओ (प्रथम सार्वजनिक निष्कासन)रोकिएको निर्णयलाई गलत ठहर गरेका छन्। काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) को २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले धितोपत्र बोर्डले चाँडै शेयर निष्कासनको प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गरे। उनका अनुसार जलविद्युत् परियोजनाहरूमा आईपीओ रोक्नुले लगानी वातावरणमै नकारात्मक प्रभाव पार्छ र यसले निजी क्षेत्रको उत्साहमा पनि धक्का दिन्छ। यस्ता निर्णयले आर्थिक वृद्धिको गतिमा बाधा उत्पन्न गर्छ, त्यसैले शेयर निष्कासनलाई रोक्नु हुँदैन।

     
     

    संविधान संशोधन अल्पमत र बहुमत नभई आमसहमतिको विषय होः उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल

    काठमाडौँ, ३१ असारः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पछिल्ला चार निर्वाचनमा रुपन्देही जिल्लाबाट लगातार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष समेत रहनुभएका अर्थमन्त्री पौडेल त्यसअघि २०५१ सालमा पाल्पा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । विसं २०५४ युवा, खेलकुद तथा संस्कृतिमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका उहाँले त्यसयता जलस्रोत मन्त्री, रक्षामन्त्री, अर्थमन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएको छ । पार्टीभित्र सन्तुलित र प्रस्ट धारणा राख्ने छवि बनाउनुभएका उपाध्यक्ष पौडेल पार्टी नेतृत्वले पत्याएका नेताका रुपमा रहनुभएको छ ।

    विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, दोस्रो बजार सूचीकृतको तयारीमा

    काठमाडौं ।विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँट प्रक्रिया पूरा गरिसकेको छ र अब दोस्रो बजारमा सूचीकृत हुने प्रक्रिया अघि बढाएको छ। कम्पनीले असार २९ गते आइतबार आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले संस्थापक समेत ९० लाख ९१ हजार १३ कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराउने तयारी गरेको छ। कम्पनीमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहेको छ। सूचीकृत शेयरमध्ये संस्थापक, आयोजना प्रभावित स्थानीय, कर्मचारी, र सामूहिक लगानी कोषबाहेकका शेयरहरु सूचीकृत भएको भोलिपल्टदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ।

    माबिलुङ इनर्जी लिमिटेडको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि जारी आइपीओमा १०.८६ करोड बराबरको आवेदन, मागभन्दा ७.२१ गुणा बढी

    काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि खुला गरेको प्राथमिक सेयरमा अत्यधिक आवेदन परेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार, आज बिहान १०:६ बजेसम्म ६३ हजार २१३ जना आवेदकले १० लाख ८६ हजार ३०० कित्ता, अर्थात् रु १० करोड ८६ लाख ३० हजार बराबरको आवेदन दिएका छन्। यो संख्या कम्पनीले निष्कासन गरेको सेयरभन्दा ७.२१ गुणा बढी हो।

    माबिलुङ इनर्जीले असार २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार ४७१ कित्ता सेयर बिक्री खुला गरेको हो। यस योजनाअन्तर्गत न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। साउन ४ गतेभित्र आवेदन दिने समयसीमा तोकिएको छ।

    बरुण हाइड्रोपावरको १००% हकप्रद सेयर बिक्री खुला, साउन १९ गतेसम्म आवेदन दिन सकिने

    काठमाडौँ ।बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार ३१ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १:१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो, जसको अंकित मूल्य प्रतिकित्ता रु १०० तोकिएको छ। यसअनुसार, कुल रु ५३ करोड ५८ लाख १५ हजार बराबरको सेयर निष्कासन गरिएको छ।

    उक्त हकप्रद सेयरका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ, जसका आधारमा जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो सेयरमा आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताहरूले साउन १९ गतेसम्म आवेदन दिन सक्ने छन्।

    धरहराको समय विस्तार: अब बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला

    काठमाडौँ । आगामी २०८२ साउन १ गतेदेखि ऐतिहासिक धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म, अर्थात् १२ घण्टा सर्वसाधारणका लागि खुला गरिने भएको छ। हाल धरहरा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालनमा छ, तर अब यो समय थपिने भएको हो।

    शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार, धरहरा दुई सिफ्टमा सञ्चालन गरिनेछ। साथै, सार्वजनिक विदाको दिनहरूमा पनि धरहरा अवलोकनकर्ताहरू तथा पर्यटकहरूका लागि खुला रहनेछ।

    अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन

    साओ पाउलो ।अमेरिकाले ब्राजिलबाट आउने सामानहरूमा ५० प्रतिशत महसुल (कर) लगाउने घोषणा गरेपछि ब्राजिलको कुल आम्दानी(जीडीपी) ०.४१ प्रतिशतले घट्न सक्ने एउटा प्रतिवेदनमा जनाइएको छ।

     

    यो प्रतिवेदन ब्राजिलको प्रसिद्ध संस्था गेटुलियो भर्गास फाउन्डेसनले तयार पारेको हो। सो अनुसार, ट्रम्प सरकारले घोषणा गरेको नयाँ महसुलले ब्राजिलको खाद्यान्न ९खाना० सम्बन्धी सामानको अमेरिका पठाउने कारोबार ७५ प्रतिशतसम्म घटाउन सक्छ। यसले देशको कुल आम्दानीमा ठूलो असर पार्नेछ।

    आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः महामन्त्री शर्मा

    बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था नआउने बताउनुभएको छ ।

     

    बारा सदरमुकाम कलैयामा आज आयोजित नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले गठबन्धनका कारण विगतमा साइकल, मसाल, कलममा भोट हाल्ने बाध्यता सिर्जना भए पनि विसं २०८४ मा हुने आमनिर्वाचनमा त्यस्तो अवस्था नआउने बताउनुभयो । महामन्त्री शर्माले देशको हरेक परिवर्तनमा अतुल्नीय योगदान रहेको कांग्रेसको चुनाव चिन्हमा मत हाल्न जनता आतुर रहेको भन्दै अब कसैसँग कुनै प्रकारको गठबन्धन नगरी पार्टीले नै चुनाव लड्ने बताउनुभयो ।

    सरकारले राजस्व अनुसन्धान विभागमा महानिर्देशक पठाउन अझै सकेन, संक्रमणकालको फाइदा उठाउँदै चोरी तस्करी बढ्यो

    काठमाडौँ । सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशक अझै पठाउन सकेको छैन् । अत्यन्तै संवेदनशील मानिएको राजस्व अनुसन्धान विभागमा असार १५ गतेदेखि महानिर्देशक खाली छ । सरकारले १५ दिन बितिसक्दा पनि विभागमा महानिर्देशक पठाउन नसक्दा संक्रमणकालको फाइदा उठाउँदै  चोरी तस्करी बढेको हो । 
    राजस्व अनुसन्धान विभागमा महानिर्देशक रहेका चण्डीप्रसाद घिमिरेको असार १५ गते अनिवार्य अवकाश भएको थियो । घिमिरेको अनिवार्य अवकाश भएपछि महानिर्देशक विहीन बनेको राजस्व अनुसन्धान विभागमा सरकारले पुनः महानिर्देशक पठाउन नसक्दा विशेषतः दक्षिणी खुला सीमा नाकाहरूबाट हुने चोरी तस्करी बढेको बताइन्छ ।

    क्यासिनो सञ्चालन गर्न  लाइसेन्स शुल्क तीन करोड

    काठमाडौँ । नयाँ नियमावलीमा क्यासिनो सञ्चालन गर्न लाइसेन्स शुल्क तीन करोड तोकिएको छ । सरकारले १२ वर्षअघि बनाइएको नियमावली खारेज गरी  क्यासिनो सञ्चालन र नियमन सम्बन्धमा नयाँ नियमावली बनाएको हो।नियमावली अनुसार क्यासिनो सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँसम्म तोकिएको छ। ठूलो क्यासिनो सञ्चालन गर्नेको हकमा ३० करोड र सानो क्यासिनो सञ्चालन गर्नेको हकमा २० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने छ ।

    मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    काठमाडौँ।सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु ४० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा रु ४०० ले वृद्धि भई सोमबार रु एक लाख ९३ हजार ३०० कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो ।

    आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

     

    युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५६ पैसा र बिक्रीदर १६१ रुपैयाँ २६ पैसा, युके पाउण्डस्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७३ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij