Logo

Jul 17 2025 | २०८२, साउन १गते

Jul 17 2025 | २०८२, साउन १गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार ३२ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् असार ३२ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार ३२ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू....

    राष्ट्र बैंकद्वारा कर्जा सीमा वृद्धि : व्यक्तिगत मार्जिन कर्जा २५ करोड, आवासीय घर कर्जा ३ करोडसम्म ( सर्कुलरकाे पूर्णपाठ सहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ। बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई सर्कुलर जारी गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिमा गरिएको संशोधनअनुसार अबदेखि २५ करोड रुपैयाँसम्मको व्यक्तिगत मार्जिन कर्जा दिन सकिने जानकारी दिएको हो।

     

    त्यस्तै, पहिलो आवासीय घर कर्जाको सीमा पनि २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ। साथै, यस्तो कर्जामा बैंकले ८० प्रतिशतसम्म लोन टु भ्यालु  रेसियोमा कर्जा दिन सक्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो कर्जामा रेसियो ७० प्रतिशत मात्र थियो।

    हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न, ७७ हजार ३९७ जनालाई शेयर प्राप्त

    काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरेको छ। विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले काठमाडौंको थापाथलीस्थित कार्यालयबाट बुधवार दिउँसो बाँडफाँट प्रक्रिया सम्पन्न गरेको हो। कम्पनीको आईपीओमा कुल २० लाख ४४ हजार ४५६ जनाले आवेदन दिएका थिए, जसमध्ये १८ लाख ९५ हजार ३७६ जनाको आवेदन मात्र रितपूर्वक रहेकाले बाँडफाँटमा समावेश गरिएको थियो।

    पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला, साउन ११ गतेसम्म आवेदन दिने समय

    काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरिसकेको छ। कम्पनीले असार २२ गतेदेखि साउन ११ गतेसम्म लगानीकर्ताहरूका लागि आवेदन दिन सकिने व्यवस्था मिलाएको हो।

    यस योजना अन्तर्गत कम्पनीले १ः०।५ अनुपातमा कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गर्दैछ, जुन प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा रहेको छ। यसअनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।

     

    कम्पनीले हकप्रद सेयरका लागि असार २ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार असार १ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

    उन्नति सहकार्य लघुवित्तको विशेष साधारण सभा साउन १७ गते, शेयर संरचना परिवर्तन प्रस्ताव

    काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो साउन १७ गते विशेष साधारण सभा बोलाएको छ। असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले रूपन्देहीको भैरहवास्थित एशियन बुद्ध होटलमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो।

    सभाले प्रमुख रूपमा शेयर संरचना परिवर्तन सम्बन्धी प्रस्ताव पारित गर्नेछ। नयाँ प्रस्तावअनुसार, संस्थापक तर्फको ६२।४१५ र सर्वसाधारण तर्फको ३७।५९५ शेयर स्वामित्व कायम गरिनेछ। यसअनुसार, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गरी पारित गर्ने र सो प्रक्रिया सञ्चालक समितिलाई जिम्मेवारी दिने निर्णय पनि सभाबाट हुनेछ।

    शेयर बजार : नेप्से परिसूचकमा ३७.५३ अंकले बढेर २७९१.७१ विन्दुमा ,१४ अर्ब ०३ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ३७.५३ अंकले बढेर २७९१.७१ विन्दुमा आएको छ । यस दिन  १४ अर्ब ०३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

     

    हजार दरको नोट छाप्नेलगायत यस्तो छ मन्त्रीपरिषद्का २९ निर्णय (सूचीसहित )

    काठमाडौँ । सरकारले १ हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने निर्णय गरेको छ  । नवनियुक्त गभर्नर विश्व पौडेलको हस्ताक्षरवाला १ हजार दरको नोट छाप्न हालै बसेको मन्त्रिपरिषद् बैठकबाट  स्वीकृति दिइएको हो । 
    ‘नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशितका लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने’, अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णयमा उल्लेख  छ । ।नेपाल सरकारले असार २३ र असार ३० गते गरेका २९ वटा मन्त्रिपरिषद्का निर्णयहरू एकै पटक सार्वजनिक गरिएको छ।

    लुम्बिनी विकास बैंकको १ लाख ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं ।लुम्बिनी विकास बैंक लिमिटेडले असार ३२ गतेदेखि १ लाख ४ हजार ८१५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यस सेयरमा व्यक्तिगत, कम्पनी तथा विभिन्न संघ–संस्थाहरुले आवेदन दिन सक्नेछन्।

     

    यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेपछि अब सर्वसाधारण लगानीकर्ताले समेत यी सेयर खरिद गर्न पाउने व्यवस्था मिलाइएको हो।

    झापा इनर्जीलाई आईपीओ निष्कासनको स्वीकृति, ९ लाख ५० हजार कित्ता शेयर जारी गर्न अनुमति

    काठमाडौं ।नेपाल धितोपत्र बोर्डले झापा इनर्जी लिमिटेडलाई आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ। बोर्डले असार ३१ गते कम्पनीलाई यो अनुमति दिएको हो।

    कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। यसअनुसार, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि निष्काशन गरिनेछ।

    कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

    कर्णाली । कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

     

    विसं २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार भोलि प्रदेशका सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थामा बिदा सूचना गरिएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिनुभयो ।

    राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई शपथ दिलाउनु भएको हो । 

     

     

    राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई मङ्गलबार सङ्घीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

    बेलायतद्वारा पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने निर्णय

    इस्लामाबाद ।बेलायतको राजधानी इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ ।

     

    सन् २०२० को जुन महिनामा कराँचीको सडकमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एउटा विमान खस्दा करिब १०० जनाको मृत्यु भएपछि पाकिस्तानी वायुसेवामाथि बेलायतले प्रतिबन्ध लगाएको थियो । 

    चालक र एयर ट्राफिक कन्ट्रोलले गरेको मानवीय त्रुटिका कारण यो दुर्घटना भएको र त्यसपछि चालकका लागि लगभग एक तिहाइ लाइसेन्स नक्कली वा शङ्कास्पद भएको आरोप लागेको थियो ।

    प्रधानमन्त्रीको अग्रसरमा सबै विश्विद्यालयले स्वीकृत गराए नयाँ आर्थिक वर्षको बजेट र कार्यक्रम

    काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै  सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गराएका छन् । विश्वविद्यालयहरुको आर्थिक स्वच्छता र मुलुकको संसदीय लोकतान्त्रिक प्रणाली र विद्यमान आर्थिक ऐनसम्बन्धी व्यवस्था अनुकूल हुने गरी सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले सम्भवतः पहिलो पटक यसरी एकै समयमा बजेट पारित गरेका छन् । चालु आवको अन्तिम दिन असार ३२ गते मात्रै नेपाल संस्कृत विश्वविद्यालयको ७८ औैँ र लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औ सभा बैठक सम्पन्न भएको छ । आजै चिकित्सा शिक्षा आयोगको बैठक पनि राखिएको छ ।
    यही असार ३१ गते एकै दिन चार वटा विश्वविद्यालयको सभा बैठक (सिनेट) भएको थियो । उक्त दिन सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ, पूर्वाञ्चल विश्वविद्यालयको ४१ औँ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५ औँ र कृषि तथा वन विज्ञान विश्वविद्यालयको १४ औँ सभा बैठक सम्पन्न भई बजेट तथा कार्यक्रम पारित भएको थियो ।

    भोलिदेखि बजेट र मौद्रिक नीति कार्यान्वयन हुँदै

    काठमाडौँ । संसदबाट पारित बजेट र नेपाल राष्ट्र बैंकद्वारा जारी भएको मौद्रिक नीति कार्यान्वयनमा गइरहेको छ ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा सदनमा प्रस्तुत भई पारित भएको बजेट साउन १ गतेदेखि लागु हुन गइरहेको छ ।सरकारको  बजेटलाई सफल बनाउन तदनुरुपको  गनर्भर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरिसकेको मौद्रिक नीति पनि साउन १ गतेदेखि लागु हुन गइरहेको हो ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत

    काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ ।

     

    प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो । विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव पाँच मात्रै भएको बैठकलाई अवगत गराइयो ।

    महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ

    काठमाडौँ । महानगर यातायात प्रालिले आजदेखि  विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन् ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज यहाँ आयोजित कार्यक्रममा  नयाँ बस सेवाको शुभारम्भ गर्नुहुँदै पेट्रोलियम इन्धनमा निर्भरता कम गर्दै वातावरणमैत्री र ‘स्मार्ट’  सहर निर्माणका लागि विद्युतीय सार्वजनिक यातायात आवश्यक भएको बताउनुभयो ।

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा दुई फर्मलाई जरिवाना

    काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले   गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर  तथा रिलेबलिङ गरेको पाइएपछि दुई वटा व्यापारिक फर्ममाथि कारबाही गरेको छ। विभागले श्रीराम टोबाको उद्योग प्रालिलाई तीन लाख बराबरको जरिवाना गरेको हो ।यसैगरी  एसबिएल प्रोफेसनल प्रालिलाई दुई लाख पाँच हजार बराबरको जरिवाना गरिएको छ । विभागले जनाए अनुसार अधिकतम खुद्रा मूल्य नराखी बिक्री वितरण गरेको पाइएपछि कारबाही गरिएको छ ।

     

    विभागले उपलब्ध गराएको विवरण अनुसार सात वटा फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । काठमाडौँ र ललितपुरका पाँच वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

    सुनको मूल्य तोलामा १३ सय रुपैयाँ  घटेर बुधबार प्रति तोला मूल्य १ लाख ९२ हजार रूपैयाँ निर्धारण

    काठमाडौँ । बुधबार सुनको मूल्यमा प्रतितोला १३ सय  रुपैयाँ घटेको छ ।  असार ३२ गते  चालु आर्थिक वर्षको अन्तिम दिन सुनको मूल्य तोलामा १३ सय रुपैयाँ  घटेर    बुधबार प्रति तोला मूल्य १ लाख ९२ हजार रूपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  हो ।

    मंगलबार सुन प्रति तोला १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो। सोमबार सुन तोलामा ४०० रुपैयाँ बढेर प्रति तोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रति तोला २ हजार २६० रुपैयाँ कायम भएको छ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij