Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

एमाले सचिवालय बैठक आज, विधान महाधिवेशनको तयारी तीव्र

एमाले सचिवालय बैठक आज, विधान महाधिवेशनको तयारी तीव्र

  • काठमाडौँ। नेकपा (एमाले) को सचिवालय बैठक आज बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ। बैठकको तयारीबारे जानकारी दिँदै स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठक साउन २ र ५ गते तय गरिएको पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीस्वरूप बोलाइएको जानकारी दिनुभयो।

    एमालेले यसअघि माघ ८ गते बसेको सचिवालय बैठकमार्फत आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसको तयारीस्वरूप पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

    सचिवालय स्रोतका अनुसार बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावहरू तयार पारिने छन्। राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेलले र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने निर्णय सचिवालयले गरिसकेको छ।

    सचिवालय बैठकको केन्द्रमा विधान संशोधन प्रस्ताव विशेष चर्चाको विषय बनेको छ। मौजुदा विधानअनुसार कार्यकारी कमिटीमा लागू गरिएको ७० वर्षे उमेरहद र लगातार दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाइने प्रावधान हटाउने तयारी भइरहेको छ।

    २०७८ को दसौँ महाधिवेशनमा उक्त प्रावधानहरू पारित भए पनि पछिल्लो समय सचिवालय र केन्द्रीय कमिटी बैठकमार्फत ती प्रावधानहरूमा संशोधन हुँदै आएका छन्। २०८० जेठमा बसेको सचिवालय बैठकले समाजवादीबाट फर्किएका केही नेताहरूलाई पुनः पार्टीमा समेट्न उमेरहदको प्रावधान स्थगित गरेको थियो, जसलाई पछि केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको थियो।

    तर, उक्त प्रावधानहरू हटाउने वा यथावत राख्ने विषयमा पार्टीभित्र मतभेद देखिएको छ। स्थायी कमिटी सदस्य कर्ण थापाले कार्यकाल सीमा हटाउने निर्णय महाधिवेशनको निर्णय नभई विधान छाप्ने क्रममा छलछामपूर्वक गरिएको दाबी गरेका छन्। अर्कोतर्फ, महासचिव पोखरेलले भने उक्त संशोधन महाधिवेशनको बन्द सत्रअघि बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको बताएका छन्।

    आजको सचिवालय बैठकबाट पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूचीहरू अन्तिम रूप दिइनेछ भने विधान संशोधन प्रस्तावमा सहमति कायम गर्न प्रयास गरिने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij