
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन ५ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
शेयर बजार : नेप्से परिसूचकमा ३१.७८ अंकले बढेर २९०२.७४ विन्दुमा ,१६ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ३१.७८ अंकले बढेर २९०२.७४ विन्दुमा आएको छ । यस दिन १६ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.९३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
पश्चिम सेती कोरिडोरमा ४०० केभी प्रसारण लाइन निर्माणका लागि बहुपक्षीय समझदारी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले अब देशमा उत्पादन भएको विद्युत् खेर जाने अवस्था नरहने स्पष्ट गरेका छन्। ट्रान्समिसन लाइनको अभाव हटाउँदै ऊर्जा विकासको लक्ष्यतर्फ ठोस टेवा पुर्याउने गरी सोमबार एक महत्वपूर्ण बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।
पश्चिम सेती कोरिडोरमा जलविद्युत् आयोजना र ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि हाइड्रो इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल), राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, चैनपुर सेती जलविद्युत् कम्पनी, चिलिमे सेती हाइड्रोपावर कम्पनी र समृद्धि इनर्जी लिमिटेडबीच आपसी सहमति भएको हो।
२२ करोडभन्दा बढी ठगी गरेको आरोपमा सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ
काठमाडौं । सेयर कारोबारमार्फत २२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा लगानीकर्ता दिपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी परिसरका अनुसार अग्रवाललाई टोखाबाट नियन्त्रणमा लिइएको हो।
अग्रवालले धितोपत्र बजारमार्फत विभिन्न लगानीकर्ता तथा दलाल कम्पनीहरूलाई विश्वासमा पारेर ठूलो रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ। उनीविरुद्ध ठगी र विश्वासघातसम्बन्धी उजुरीहरू परेपछि अनुसन्धान अघि बढाइएको थियो।
राप्ती हाइड्रोको अवितरित हकप्रद शेयर साउन १३ गतेदेखि लिलामीमा
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साउन १३ गतेदेखि अवितरित हकप्रद शेयरको लिलामी विक्री प्रक्रिया सुरु गर्ने भएको छ। कम्पनीले अघिल्लो पटक शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण हुन नसकेका कुल ७ लाख ४ हजार १११ कित्ता शेयर लिलामीमार्फत विक्री गर्न लागेको हो।
लिलामीमा संस्थापकतर्फका ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारणतर्फका १ लाख ४० हजार १०१ कित्ता शेयर समावेश छन्। सर्वसाधारणतर्फको शेयर साउन ८ गतेसम्म लकइनमा रहेको कम्पनीले जनाएको छ।
ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई बाँडफाँट, सर्वसाधारणतर्फ १२ करोड ७५ लाख इकाई छुट्याइयो
काठमाडौं — ग्लोबल आइएमई बैंक लिमिटेडको कोष प्रवर्द्धन र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ अन्तर्गतको इकाई बाँडफाँट सम्पन्न भएको छ। प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ रहेको यस योजनाअन्तर्गत सुरुवाती रूपमा १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याइएको थियो।
उक्त योजना २०८२ असार २२ गतेदेखि बिक्री खुला गरिएको थियो, जसको अन्तिम म्याद साउन ४ गते तोकिए पनि असार २७ गतेभित्रै मागभन्दा बढी आवेदन प्राप्त भएकाले समयअघि नै निष्कासन प्रक्रिया बन्द गरिएको हो।
बङ्गलादेशको ढाकामा लडाकु विमान दुर्घटना, १६ जनाको मृत्यु
ढाका । बङ्गलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् । यो विगत केही दशक यताकै सबैभन्दा गम्भीर विमान दुर्घटना हो ।
चिनियाँ निर्मित एफ–७ बीजेआई ९एफ–७ बीजेआई० लडाकु विमान दिउँसो १ः०६ बजे प्रशिक्षणका लागि उडेपछि केही समयमै ढाकास्थित मिलस्टोन स्कूल एन्ड कलेजको क्याम्पसमा दुर्घटनाग्रस्त भएको हो ।
एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी
काठमाडौँ । नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठक जारी छ ।
ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष ओलीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आआफ्ना धारणा राख्ने क्रम सुरु भएको हो ।
स्वास्थ्य मन्त्री पौडेलद्वारा एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक वर्षे कार्यकालको जानकारी गराएका छन् ।सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएका हुन् ।कार्यविधि र निर्देशिका तर्जुमा तथा विषयगत समिति गठनलाई मुख्य उपलब्धि भन्दै उनले एक वर्षे कार्य प्रगति सार्वजनिक गरेका छन्।१५ पृष्ठमा सार्वजनिक गरिएको प्रतिवेदनमा उनले एक वर्षमा उल्लेख्य सफलता हासिल गरेको दाबी गरिएको छ ।
केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले केरुङमा फसेका नेपालीको चाँडो उद्धार गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गर्नुभएको छ । सांसद आचार्यले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेटेर रसुवागढीमा आएको बाढीका कारण केरुङमा फसेर बसेका नेपालीलाई चाँडो उद्धार गर्न आग्रह गर्नुभएको हो ।
रसुवागढी बाढीले निम्त्याएको समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिनसमेत आफूले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । नेता आचार्यले भन्नुभयो, “केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भइरहेको ढिलाइ, नेपाल–चीन जोड्ने अस्थायी पुल निर्माण, दुई देश जोड्ने मितेरी पुलको पुनःनिर्माण, मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलगायत विषयमा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको छु ।” भेटमा परराष्ट्रमन्त्री राणाले यस विषयमा चिनियाँ पक्षसँग निरन्तर संवाद भइरहेको र छिटोभन्दा छिटो समस्या समाधान हुने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।
आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा गत आवमा करिब १३ अर्ब राजस्व संकलन
लुम्बिनी । आन्तरिक राजस्व कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०८१/८२ मा करिब १३ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ । गत आवमा १३ अर्ब २७ करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा १२ अर्ब ९८ करोड रूपैयाँ अर्थात् लक्ष्यको ९७ दशमलव आठ प्रतिशत राजस्व संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले जानकारी सार्वजनिक गरेका हुन् ।
कार्यालयका अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा राजस्व सङ्कलन दुई अर्ब ३५ करोड रूपैयाँ अर्थात् २५ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । कार्यालयले गत आवको भदौ, असोज, फागुन, वैशाख, जेठ र असारमा लक्ष्यअनुसार राजस्व संकलन गरेको प्रमुख पोखरेलले बताए।
अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, चार वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग ९सिड्का० का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
द्विपक्षीय भेटवार्तासँगै विभिन्न चार वटा परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माणसम्बन्धी परियोजना र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ । जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गर्नुभयो ।
बङ्गलादेशद्वारा गहुँ आयातको लागि अमेरिकासँग सम्झौता
ढाका ।आगामी पाँच वर्षका लागि प्रतिस्पर्धी मूल्यमा अमेरिकाबाट वार्षिक सात लाख टन उच्च गुणस्तरको गहुँ आयात गर्न बङ्गलादेश र अमेरिकाबिच सम्झौता भएको छ ।
जुलाईको अन्तिम हप्तामा बङ्गलादेश र अमेरिकाबिच तेस्रो चरणको शुल्क वार्ता अघि यो सम्झौतामा हस्ताक्षर भएको हो । अमेरिकाले शुल्क सम्झौतामा हस्ताक्षर गर्न निश्चित सुरक्षा सहयोग बढाउनका लागि शर्तहरू लगाएपछि दोस्रो चरणको वार्ता निर्णयविहिन भएको छ ।
यसैबिच अमेरिकाले बङ्गलादेशसँग संयुक्त सैन्य अभ्यास जारी राख्ने घोषणा गरिसकेको छ ।
महँगी र अमेरिकी कर नियन्त्रणका लागि आफू पदमै रहने जापानका प्रधानमन्त्री इशिबाकोे चाहना
टोकियो ।जापानका प्रधानमन्त्री शिगेरु इशिबाले चुनावमा पराजय भोगेपछि बढ्दो मूल्यवृद्धि र उच्च अमेरिकी करजस्ता चुनौतीको सामना गर्न आफू पदमा रहिरहने बताउनु्भएको छ ।
इशिबाको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र उसको कनिष्ठ गठबन्धन साझेदार कोमेइतोले २४८ सदस्यीय माथिल्लो सदनमा आइतबार भएको मतदानको नतिजाले बहुमत कायम गर्नका लागि तीन सिट नपुग्ने देखाएको छ । गठबन्धन अहिले डाइट वा संसदको दुवै सदनमा अल्पमतमा छ, यद्यपि एलडीपी अझै पनि प्रमुख पार्टी हो ।
करिब सवा ४४ अर्बमा चार प्रसारण लाइन निर्माणका लागि आशय पत्र माग
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले करिब सवा ४४ अर्ब रुपैयाँ लागतमा ४ वटा प्रसारण लाइन निर्माण गर्न लागेको छ ।प्राधिकरणले न्यु खिम्ती–ढल्केबर ४०० केभी, अरुण हब–इनरुवा ४०० केभी, तिङ्ला–दुधकोसी–ढल्केबर ४०० कभी र लप्सीफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माण गर्ने जनाएको हो।
प्रसारण लाइन सार्वजनिक निजी साझेदारी(पीपीपी) मोडेलमा निर्माण गर्ने प्राधिकरणले जनाउँदै यसका लागि ४४ अर्ब २० करोड लागत अनुमान गरिएको खुलाएको छ । प्रसारण लाइन बुट मोडेलमा निर्माण गरिने छ।यी चार वटा प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले सोमबार आशयपत्र माग गरेको छ । आशयपत्र पेस गर्न इच्छुक फर्म वा कम्पनीलाई ३० दिनको समय दिइएको छ।न्यु खिम्ती–ढल्केबर ८० किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि ११ अर्ब ५ करोड १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
राष्ट्र बैंकले बैंकहरूलाई तरलता व्यवस्थापन गर्न संकलन गरेको निक्षेपमा ९ अर्ब बढी ब्याज दियो
काठमाडौँ । कर्जा लगानी गर्न नपाएका बैंकहरूमा तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले गरेको निक्षेप संकलनमा एक वर्षमा ९ अर्ब रुपैयाँ ब्याज तिरेको छ ।पछिल्ला वर्षहरूमा कर्जाको माग सुस्त भएर तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले समय समयमा गर्दै आएको निक्षेप संकलनमा यो ब्याज तिरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूमा प्रचुर मात्रामा मौज्दात रहेको भएपनि कर्जाको माग नभएकाले बैंक प्रणालीमा अधिक तरलता उत्पन्न हुन्छ । केन्द्रीय बैंकले यसरी थुप्रिन गरेको अधिक तरलतालाई सन्तुलनमा ल्याउन निक्षेप संकलन उपकरणको प्रयोग गर्ने गरेको छ ।
सोही व्यवस्थापनका लागि संकलन गरेको निक्षेपमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक वर्षमा ९ अर्ब रुपैयाँ बराबरको ब्याज तिरेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ७०० रुपैयाँ कायम
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले बढेर एक लाख ९३ हजार ७०० रुपैयाँ पुगेको छ। आईतबार सोही सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला चार दिनदेखि सुनको मूल्य लगातार बढ्दो क्रममा छ, जसले उपभोक्ता र सुन व्यवसायी दुवैको ध्यान तानेको छ।
अब बालुवाटार र नक्सालमा पनि मेलम्चीको खानेपानी
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, नक्साल, भाटभाटेनी पूर्वलगायत क्षेत्रमा मेलम्चीको खानेपानी वितरण गरिने भएको छ । खानेपानीमन्त्री प्रदीप यादवका अनुसार खानीपानी पठाउनका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा रहेकाले अब चाँडै सो क्षेत्रमा मेलम्चीको खानेपानी पुग्नेछ ।
खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालय ९पिआइडी० द्वारा आज बालुवाटार क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतको ‘पाइपलाइन’ बिछ्याइएको क्षेत्रमा अनुगमन तथा निरीक्षणपछि उहाँले पाइपलाइन बिछ्याउने कार्य सफल भएकाले चाँडै मेलम्चीको खानेपानी वितरण गरिने बताउनुभयो ।
काँकरभिट्टा नाकाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात
भद्रपुर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८१÷८२ मा रु २२ अर्ब १६ करोड ११ लाख ७२ हजार बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ ।
कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । गत आवमा सबैभन्दा धेरै चिया रु नौ अर्ब ५५ करोड ८५ लाख, अलँैची रु छ अर्ब ५९ करोड २० लाख, प्लाइ तथा भेनियर रु तीन अर्ब ८५ करोड ७१ लाख, अम्लिसो रु एक अर्ब नौ करोड मूल्य बराबरको निर्यात भएको छ ।
गुराँस लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, खुद नाफा ८९.९६% ले उकालो
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार संस्थाको नाफा उल्लेखनीय रूपले वृद्धि भएको छ। गत आर्थिक वर्षमा कम्पनीले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८९.९६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो।
नाफा वृद्धिको प्रमुख कारण लघुवित्तको ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धि हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५९.७४ प्रतिशतले, सञ्चालन मुनाफा ८७.८५ प्रतिशतले र कुल सञ्चालन आम्दानी ४२.१६ प्रतिशतले बढेको छ। त्यस्तै, सञ्चालन आम्दानी पनि १५.४७ प्रतिशतले बढेको देखिन्छ। यस्तै, जोखिम व्यवस्थापन पक्षमा पनि सुधार देखिएको छ, जसअनुसार खराब कर्जा अनुपात ३.६७ प्रतिशतबाट घटेर २.९१ प्रतिशतमा झरेको छ।
निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकतामा प्रचण्डको जोड
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता रहेको बताएका छन् ।नेपाल उद्योग परिसंघ (सीएनआई) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा सोमबार भेटवार्ता गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताउँदै प्रचण्डले सीएनआईका नवनिर्वाचित पदाधिकारीहरूलाई बताए ।सीएनआईका नवनिर्वाचित पदाधिकारीहरूको एक टोली अध्यक्ष प्रचण्डासँग भेट्न उनको निवास खुमलटार पुगेको थियो ।
साउने सोमबारदेखि पशुपतिनाथ दर्शनमा निःशुल्क बस सेवा, विशेष पूजा र सुरक्षासहितको व्यवस्था
काठमाडौँ । यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले निःशुल्क यातायात सुविधा पाउने भएका छन्।
धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल ९रेक्जोन० का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूसँग आज यहाँ भएको अन्तरक्रियामा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले निःशुल्क बस सेवा दिइने बताएका हुन्। धर्म, संस्कृतिसँग सम्बन्धित संस्था र यातायात व्यवसायीको सहयोगमा साउन ५ गते पहिलो सोमबारदेखि यस्तो सुविधा दिन लागिएको उनले जानकारी दिए।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहँदा आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकर दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij