
काठमाडौँ । गत आर्थिक वर्ष (२०८१/८२) मा नेपालको निर्यात व्यापारमा देखिएको उछालबाट अर्थतन्त्र मन्त्रालयका अधिकारीहरू उत्साहित भएका छन् ।निर्यात व्यापारमा देखिएको यो उछाल आफैमा ऐतिहासिक वृद्धिदर देखिएको विषय उत्साहित गर्ने खालको भएको उनीहरूले बताएका हुन् ।
एकै वर्षमा दुई खर्ब ७७ अर्ब रुपैयाँ बराबरको वस्तु नेपालबाट विदेशी बजारमा बिक्री भएको हो। आर्थिक वर्ष २०८०/०८१ मा एक खर्ब ५२ अर्ब रूपैयाँ बराबरको बिक्री भएको थियो। पछिल्लो वर्षमा निर्यात वृद्धिदर करिब ८२ प्रतिशतको भएको आकलन गरिएको छ।
विगतमा कुनै पनि आर्थिक वर्षमा नदेखिएको निर्यात वृद्धिदर पछिल्लो वर्षमा देखिनुमा अर्थतन्त्र गतिशील भएको उनीहरूको बुझाइ छ । उपलब्ध भन्सार तथ्यांकअनुसार आर्थिक वर्ष २०३१/०३२ यता आर्थिक वर्ष २०४०/४१ मा ५० प्रतिशत र त्यसपछिको आर्थिक वर्षमा ६० प्रतिशतको निर्यात वृद्धिदर पुगेको थियो।
रकमका आधारमा यसअघि आर्थिक वर्ष २०७८/७९ मा दुई खर्ब रुपैयाँ पुगेको थियो। त्यसपछिका दुई आर्थिक वर्षमा क्रमशः २१ र ३ प्रतिशतले निर्यात घटेको थियो।यस्तोमा गत आर्थिक वर्षको निर्यात व्यापारको उछाल हौस्याउने खालको हो । आर्थिक वर्ष २०८०/८१मा औसत रूपमा १३ अर्ब ६६ करोड रूपैयाको मासिक निर्यात भएको थियो। गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०८१/८२ मा मासिक औसत २३ अर्ब ८ करोड बढीको निर्यात भएको देखिन्छ। २०८१ फागुन महिना देखियता भने हरेक महिना ३० अर्ब बढीको वस्तु निर्यात भएको देखिन्छ।
यसरी अत्यधिक निर्यात बढ्नुमा भटमासको तेलको हिस्सा बढी भएको देखिन्छ । सो निर्यातमा ३८ प्रतिशत बढी हिस्सा प्रशोधित भटमासको तेलको छ। यो अवधिमा एक खर्ब ६ अर्ब रूपैयाँको यस्तो तेल निर्यात भएको छ। आर्थिक वर्ष २०८०÷८१ मा ९० करोड रूपैयाँ बराबरको मात्रै निर्यात भएको थियो। भटमासको कच्चा तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड, युक्रेनलगायतका देशबाट किनिएको छ। रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिएको छ। पछिल्लो वर्षमा एक खर्ब ८ अर्ब रूपैयाँ बराबरको कच्चा तेल आयात गरिएको देखिन्छ।
गत भदौमा भारतले खाने तेलको आयातमा लाग्ने भन्सार महसुल २० प्रतिशत विन्दुले बढाएकोले अन्य राष्ट्रबाट भारतमा जाने तेल महँगो भएको थियो। तर, नेपाल–भारतको वाणिज्य सन्धिअनुसार नेपालबाट भारत निर्यात हुने यस्तो तेललाई भन्साररहित सुविधा प्राप्त छ। आयात गरिएको कच्चा पदार्थको हकमा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि गर्नुपर्छ।
यसले गर्दा मासिक १६ अर्ब रूपैयाँ बराबरको निर्यात पुगेको थियो। २०८२ जेठमा भारतले तेस्रो मुलुकबाट निर्यात आयात हुने भटमासको तेलको भन्सार घटाएपछि मासिक निर्यातमा केही कमी आएको छ। असार महिनामा ११ अर्ब रूपैयाँ बराबरको भटमासको तेलको निर्यात भएको छ। यद्यपि असार महिनामा भएको निर्यातमा पनि ३६ प्रतिशत हिस्सा भटमासको तेलको नै देखिन्छ।
भटमाससँगै सूर्यमुखी तेलको नेपालबाट हुने निर्यात पनि बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रशोधित सूर्यमुखी तेलको निर्यात १२ अर्ब ३२ करोड रुपैयाँको भएको छ। आर्थिक वर्ष २०८१/८२ मा ३६ करोड रूपैयाँ बराबरको निर्यात भएको थियो।सूर्यमुखीको कच्चा तेल चीन, मलेसिया, स्पेन, भियतनाम, युक्रेनलगायतका देशबाट खरिद गरी नेपालमा प्रशोधन गरिनछ । त्यसपछि प्रशोधित उपभोग्य तेल भारतमा बेचिन्छ।
भटमास र सूर्यमुखीको निर्यात बढ्दा विगतका वर्षमा सबैभन्दा बढी निर्यात हुने पाम तेलको निर्यात यो वर्ष घटेको देखिन्छ । व्यवसायीहरूका अनुसार भन्सार दरबन्दीको परिभाषामा देखिएको विवादका कारण पाम तेलको निर्यातमा कमी हुन गएको हो। अहिले मौजुद रहेको पाम तेलको पनि निर्यात हुन नसकेको उनीहरूको गुनासो छ । यो वर्ष दुई अर्ब ४१ करोडको मात्र पाम तेल निर्यात भएको छ।
यसैगरी गत आवमा वनस्पति तेलपछि धागो निर्यात पनि देखिने गरी बढेको छ । एक वर्षको अवधिमा धागोको निर्यात २२ प्रतिशतले बढेर १४ अर्ब ३६ करोड रूपैयाँ बराबरको पुगेको छ। नेपाली कच्चा पदार्थमा आधारित भेनियर सिट, जुटबाट बुनिएका कपडा, कुकुर बिरालोको खाना, चिया लगायतको निर्यात पनि बढेको छ।
यस्तै जुटबाट बुनिएका कपडा ६ अर्ब ३० करोड, भेनियर सिट २ अर्ब ६ करोड, कुकुर बिरालोको खाना ४ अर्ब ५१ करोड र चिया ४ अर्ब ५९ करोड रूपैयाँ बराबरको निर्यात भएको छ।आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट निर्माणजन्य सामग्रीको निर्यात अत्यधिक थियो। पछिलो वर्ष भने यस्ता वस्तुको निर्यात निकै घटेको देखिन्छ । निर्यातमा यो पक्ष चिन्ताको कारण भएको मन्त्रालयका सरोकारवाला अधिकारीहरू बताउँछन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij