Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

वाणिज्य बैंकतर्फ लगानीकर्ता आकर्षित, नेपाल बैंक, इन्भेष्टमेन्ट मेगा र सिद्धार्थ बैंकको शेयर सस्तो मूल्यमा कारोबार

वाणिज्य बैंकतर्फ लगानीकर्ता आकर्षित, नेपाल बैंक, इन्भेष्टमेन्ट मेगा र सिद्धार्थ बैंकको शेयर सस्तो मूल्यमा कारोबार

  • काठमाडौं।मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारमा लगानीकर्ताको मनोबल बढ्दै गएको छ। पछिल्लो समय नेप्से सूचक स्थिर रूपमा उकालो लागिरहँदा लगानीकर्ताको ध्यान वाणिज्य बैंकतर्फ मोडिएको देखिन्छ। विशेषतः आधारभूत आर्थिक सूचक — जस्तै नेटवर्थ — को आधारमा मूल्यांकन गर्न थालिएको छ।

    हाल बजारमा धेरैजसो वाणिज्य बैंकको शेयर मूल्य तिनीहरूको नेटवर्थको तुलनामा निकै सस्तो मूल्यमा कारोबार भइरहेको छ। नेपाल बैंक, इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकको शेयर मूल्य विशेषगरी सस्तो मानिएको छ। नेपाल बैंकको नेटवर्थ करिब २६१ रुपैयाँ भए पनि यसको शेयर ३०७ रुपैयाँमा कारोबार भइरहेको छ, जुन नेटवर्थको १.१४ गुणा मात्र हो।

    त्यसैगरी, इन्भेष्टमेन्ट मेगा बैंकको शेयर मूल्य पनि नेटवर्थको तुलनामा कम छ। अन्य धेरै वाणिज्य बैंकहरू — जस्तै कुमारी, सिटिजन्स, एनएमबी, लक्ष्मी सनराइज लगायत — को शेयर मूल्य नेटवर्थको दुई गुणाभन्दा कममा झरेको देखिन्छ।

    शेयर विश्लेषकहरूका अनुसार सामान्यतया कुनै पनि कम्पनीको शेयर मूल्य नेटवर्थको तीनदेखि पाँच गुणासम्म हुनसक्ने मानिन्छ। तर अहिले बैंक समूहमा यो अनुपात अपेक्षाकृत न्यून देखिएको छ, जसले लगानीकर्तालाई तुलनात्मक रूपमा सुरक्षित र दीर्घकालीन लगानीको अवसर देखाएको हो।

    यसैबीच, विगतमा उच्च कारोबार गर्ने हाइड्रोपावर समूहको हिस्सा नेप्सेमा घट्दै गएको छ। एक समय कुल कारोबारको ७५ प्रतिशत हिस्सा ओगट्ने यो समूह हाल बैंक तथा वित्तीय संस्थाको तुलनामा फितलो देखिन्छ। यसको उल्टो, बैंक समूहले अहिले दैनिक रूपमा १ अर्बभन्दा बढीको कारोबार गर्दै लगानीकर्ताको विश्वास पुनः आर्जन गरेको संकेत मिलेको छ।

    विश्लेषकहरूको बुझाइमा, अहिलेको अवस्था दीर्घकालीन लगानीको लागि अनुकूल देखिएको छ, विशेषगरी आधारभूत पक्ष बलियो भएका बैंकहरूको शेयर मूल्य अझै वृद्धि हुने सम्भावना रहेको उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij