Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानताहरू छन्ः परराष्ट्रमन्त्री

नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानताहरू छन्ः परराष्ट्रमन्त्री

  •  

    काठमाडौँ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानताहरू रहेका उल्लेख गर्नुभएको छ । आज राजधानीमा आयोजित ‘थाइ फ्लेभस् ‘इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उहाँले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिकलगायत धेरै क्षेत्रमा समानता रहेका बताउनुभयो ।

     

    मन्त्री राणाले दुई देशका बीचमा पाहुनाहरूको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरूको सम्मान, सहिष्णुता तथा पर्यटन र यसमार्फत प्राप्त गर्न सकिने समिृद्धिलगायत समानताहरू रहेका चर्चा गर्नुभयो । 

     

    पर्यटन दुई देशका बीचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट गर्दै मन्त्री डा राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन एवं हस्पिटालिटीका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो ।

     

    नेपाल उद्यमशिलताका क्षेत्रमा अघि बढिरहेको र हस्तकलालगायत कैयौँ वस्तुको उत्पादन विश्वबजारको आकर्षण पनि बनेको भन्दै उहाँले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको हो । 

     

    नेपाल र थाइल्याण्ड कहिल्यै पनि कुनै उपनिवेशमा नरहेका स्वतन्त्र र स्वाधीन राष्ट्र रहेका प्रसङ्ग उल्लेख गर्दै मन्त्री डा राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै थाइल्याण्डको भ्रमण गर्नुभएको र त्यस क्रममा सरकारी तथा निजी क्षेत्रमा सहमति र समझदारी भएका स्मरण गर्नुभयो ।

     

    सो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको जनाउँदै उहाँले आगामी दिनमा यस प्रकारका उच्चस्तरीय भ्रमणहरुलाई निरन्तरता दिनुपर्ने पनि उहाँले बताउनुभयो । नेपालस्थित थाई दूतावास र भाटभाटेनी सुपरमार्केटद्वारा सो फेयरको आयोजना गरिएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij