Logo

Jul 29 2025 | २०८२, साउन १३गते

Jul 29 2025 | २०८२, साउन १३गते

images

‘सङ्घीयता कार्यान्वयन अघिको बेरुजु फर्छ्यौट गर्न सकिँदैन, विकल्प खोजियोस्’

‘सङ्घीयता कार्यान्वयन अघिको बेरुजु फर्छ्यौट गर्न सकिँदैन, विकल्प खोजियोस्’

  • काठमाडौँ।मुख्यसचिव एकनारायण अर्यालसहित अधिकांश मन्त्रालय र संवैधानिक आयोग तथा निकायका सचिवले सङ्घीयता कार्यान्वयन अघिको अनियमित बेरुजु फर्छ्यौट गर्न नसकिने भएकाले यसको वैकल्पिक निकास खोजिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आज बेरुजु फर्छ्यौटको अवस्थाबारे सबै लेखा उत्तरदायी अधिकारीसँग छलफल गरेको थियो । उक्त छलफलका क्रममा सचिवले नेपालको संविधान कार्यान्वयन पछि धेरैवटा संरचना खारेज भएको तथा जिम्मेवारी तल्लो तहमा गएको भएपनि सङ्घ सरकारका मन्त्रालयले त्यस्ता निकायको बेरुजुको भार अहिलेसम्म खेपिरहेकाले यस विषयमा निकास खोज्नुपर्ने बताएका हुन् । महालेखा परीक्षक तोयम राया र मुख्यसचिव एकनारायण अर्यालले संविधान कार्यान्वयन हुनुभन्दा अघिका असुल उपर गरिनुपर्नेबाहेकका अनियमित बेरुजुहरु फर्छ्यौट गर्न नसकिने धारणा राखेका हुन् । “पहिलेका जिल्ला विकास समिति खारेज भएका छन् । तर तिनका फाइल कहाँ र कस्तो अवस्थामा छन् जानकारी छैन । तर तिनको बेरुजु सङ्घीय मन्त्रालयमा कायम छ । असुल गर्नुपर्ने बेरुजु छभने छोड्नु हुँदैन ।

    तर सैद्धान्तिक बेरुजुलाई कुनै निर्णय गरेर तह लगाइनुपर्छ”, मुख्य सचिव अर्यालले भन्नुभयो । व्यवहारिक दृष्टिले पनि त्यस्ता बेरुजु फर्छ्यौट गर्न नसकिने उहाँको तर्क छ । त्यो बेलाका बेरुजु फर्छ्यौटका लागि कर्मचारी संयन्त्रलाई कसरी जिम्मेवार बनाउने भन्ने मुख्य प्रश्न रहेको मुख्यसचिव अर्यालले बताउनुभयो । “पुराना बेरुजु फर्छ्यौटका लागि छुट्टै केही निर्णय गर्न आवश्यक छ । २०७२ साल भन्दा अघिको बेरुजु नियमित गर्न सम्भव छैन । ती कागजात कहाँ छन् ? कसेलै राखेका छन् ? कागज कस्ले खोज्छ र लेखापरीक्षण गर्छ ?”, उहाँले समितिमा प्रश्न गर्दै भन्नुभयो । अधिकांश विषयगत मन्त्रालयका सचिवले सङ्घीयता लागु भएसँगै खारेज भएका र अधिकार क्षेत्र फरक परेका निकायको बेरुजु फर्छ्यौटमा समस्या रहेको धारणा राखेका थिए । यसरी कर्मचारी संयन्त्रले २०७२ साल अघिको लेखापरीक्षणबाट कायम बेरुजु गर्न नसकिने धारणा राखेपछि महालेखापरीक्षक तोयम रायाले यसमा सहमति जनाउनुभयो । “मुख्यसचिव र सचिवले भन्नुभएपछि मलाई पनि २०७२ अघिका अनियमित बेरुजुलाई डिसमिस गर्ने कुरा ठिकै लाग्यो । तल्लो तहमा हस्तान्तरण भएका कार्यालयहरुको कागजात प्रदेश र स्थानीय तहमा छन कि छैनन भन्ने स्पष्ट छैन । यसलाई निकास दिन हामीले केही गृहकार्य गर्नुपर्छ”, महालेखापरीक्षक रायाले भन्नुभयो । सार्वजनिक लेखा समितिले सबै विषयगत मन्त्रालय, संवैधानिक आयोग तथा निकायलाई बेरुजुको अवस्था र फर्छ्यौटका लागि भइरहेका काम बारे जानकारी दिन १३ बुँदे प्रश्नसहित कार्ययोजना मागेको थियो । आजको छलफलमा सरकारको समग्र वित्तीय अनुशासनका लागि ‘शून्य बेरुजु अभियान’ सञ्चालन गरेको भएपनि सङ्घीयता कार्यान्वयन अघिका बेरुजु फर्छ्यौट गर्ने ठोस आधार र संयन्त्रको अभावले प्रयास अपेक्षाकृत र प्रभावकारी बन्न नसकेको धारणा मन्त्रालयबाट आएको हो । अधिकांश मन्त्रालयले कुनै न कुनै रूपमा बेरुजु फर्छ्यौटका लागि पहल गरेको देखिए तापनि सङ्घीयता अघिका बेरुजु, स्वायत्त निकाय र खारेज भइसकेका कार्यालयका बेरुजु फर्छ्यौटमा समस्या झन् गहिरो देखिएको छ । कार्यसम्पादन मूल्याङ्कनमा बेरुजु न्यूनीकरणलाई समावेश गरिए पनि कागजात अभाव, जिम्मेवारीमा अस्पष्टता र कानुनी झमेलाका कारण फर्छ्यौटमा ढिलाइ भइरहेकोलगायतका विषय पनि समितिमा उठेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, जल तथा ऊर्जा आयोगको सचिवालय, राष्ट्रिय योजना आयोगजस्ता निकायले पछिल्ला तीन वर्षदेखि बेरुजु शून्य बनाएका छन् । अर्कातर्फ बढी बेरुजु रहेका अर्थ, भौतिक, सामान्य प्रशासन, सहरी विकास, सञ्चार, उद्योग, स्वास्थ्य, शिक्षा, कृषिलगायतका मन्त्रालयमा पुराना बेरुजु घटाउने प्रयास भए पनि उल्लेखनीय सुधार देखिएको छैन । मन्त्रालयले बेरुजु फर्छ्यौट र न्यूनीकरणलाई कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनसँग जोडेर वार्षिक कार्ययोजनाअनुसार काम अघि गरिरहेको भएपनि त्यसले नतिजा देखाउन सकेको छैन । आजको बैठकमा श्रम सचिव कृष्णहरी पुष्करले ‘फोकल पर्सन’ तोकी बेरुजु घटाउने, प्रविधिको प्रयोग बढाउने जस्ता प्रयास भएको बताउनुभयो । न्यूनतम बोलकबोल गर्ने ठेकेदारलाई कामको जिम्मा दिँदा गुणस्तरीय काम नहुने र बेरुजु बढ्ने खतरा रहेको टिप्पणी उहाँको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाले सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनी व्यवस्थाका कारण बेरुजु बढेको बताउनुभयो । धेरै सचिवले लेखापरीक्षण शैली र प्रक्रियामाथि प्रश्न उठाएका छन् । महालेखा परीक्षकको प्रतिवेदन अमूर्त भाषामा लेखिने, प्रक्रियागत लचकता नहुनु, फाइल समयमै सम्पादन हुन नसक्नु, स्थानीय तहमा हस्तान्तरण भएका कागजात हराउनुजस्ता समस्या दोहोरिने गरेको उहाँहरुको भनाइ थियो । शिक्षा सचिव चूडामणि पौडेलले विश्वविद्यालयको बेरुजु न्यूनीकरण चुनौतीपूर्ण रहेकाले छुट्टै पहल आवश्यक रहेको बताउनुभयो । भूकम्पले क्षति पु¥याएका विद्यालयमा पनि बेरुजु देखिएको तर त्यसलाई कसरी फर्छ्यौट गर्ने भन्ने प्रश्न पेचिलो रहेको उहाँको भनाइ थियो । विभिन्न मन्त्रालय मातहतका स्वायत्त संस्थाहरूको बेरुजु मन्त्रालयले बोक्नुपरेको गुनासो सचिवको थियो । प्रविधिको प्रयोग, प्रभावकारी आन्तरिक लेखापरीक्षण, कानुनी सुधार, बेरुजु ड्यासबोर्ड निर्माण र नियमित अनुगमन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले व्यवस्था गरेको बेरुजु फर्छ्यौट समिति सशक्त बनाउने, लेखा परीक्षण प्रणालीमा डिजिटल प्रणालीको प्रयोग र दक्ष जनशक्ति विकास, पुराना बेरुजु फर्छ्यौट गर्न छुट्टै कानुनी व्यवस्था गर्नेलगायतका सुझाव मन्त्रालयबाट आएका छन् । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन २०८२ अनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु रू सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ । अद्यावधिक बेरुजु गतवर्षको भन्दा ९.४५ प्रतिशतले बढेको छ । अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरि टुङ्गो लगाउनुपर्ने रकम रू पाँच खर्ब ५१ अर्ब एक करोड गरी हालसम्मको कुल बेरुजु रू १२ खर्ब ८४ अर्ब २० करोड बराबर पुगिसकेको छ । प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०÷८१ मा मात्रै रु ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुजु थपिएको छ । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij