Logo

Jul 29 2025 | २०८२, साउन १३गते

Jul 29 2025 | २०८२, साउन १३गते

images

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निर्माण तीव्र, पहिलो चरणको काम एक महिनाभित्र सकिने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निर्माण तीव्र, पहिलो चरणको काम एक महिनाभित्र सकिने

  • काठमाडौँ।कीर्तिपुरमा निर्माणाधीन त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको पहिलो चरणको कार्य एक महिनाभित्र सम्पन्न हुने भएको छ। प्यारापिट र फ्लडलाइटसहितको स्तरोन्नति अन्तर्गत हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ।

    सोमबार निर्माण स्थलमा निरीक्षणका लागि पुगेको संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिलाई सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिहरूले प्रगति विवरण प्रस्तुत गरेका थिए। टोलीको नेतृत्व समितिका सभापति ठाकुर गैरेले गरेका थिए।

    सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार मैदानमा १२ ब्लक सिट ढलानमध्ये १० ब्लकको काम पूरा भइसकेको छ भने बाँकी १,७०० सिट भारतबाट आउने क्रममा छन्। पहिलो चरणको निर्माण सम्पन्न भएपछि मैदानमा १० हजार दर्शक अट्ने क्षमता हुनेछ भने दोस्रो चरणमा यो संख्या २५ हजार पुर्‍याइने लक्ष्य छ।

    खेल राति पनि सञ्चालन गर्न मिल्ने गरी ६ वटा फ्लडलाइट जडान हुने छन्, जसका लागि आवश्यक जमिनमुनिको पूर्वाधार निर्माण पूरा भइसकेको छ। तीन वटा स्ट्यान्ड भारतबाट ल्याइसकिएको र ४२० वटा बत्ती युरोपबाट आयात गरिँदैछ।

    रङ्गशाला निर्माणमा पहिलो र दोस्रो चरण गरी झन्डै ६ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। निर्माण सम्पन्न भएपछि नेसनल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण यही मैदानमा आयोजना गर्ने तयारी छ।

    यही निरीक्षणका क्रममा त्रिवि विश्वविद्यालय र क्रिकेट संघबीच लिज सम्झौता आगामी वैशाखमा सकिने भएकाले विश्वविद्यालयका चासो सम्बोधन गर्दै सहमति जुटाउनुपर्ने आवश्यकता पनि सरोकारवालाहरूले औंल्याए।

    अनुगमन टोलीमा विभिन्न सांसदहरूको उपस्थिति रहेको थियो भने नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले मैदान निर्माणले देशभरका क्रिकेटप्रेमीहरूको सपना साकार हुने विश्वास व्यक्त गरे। उनले देशका अन्य स्थानमा पनि स्तरीय क्रिकेट मैदान निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij