
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बहुप्रतीक्षित निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण तथा सञ्चालनसम्बन्धी मोडालिटी छिट्टै टुंगो लगाइने बताएका छन्।
राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले निजगढ विमानस्थललाई राष्ट्रिय गौरवको आयोजना भए तापनि अझै निर्माण कार्य अनिश्चित रहेको स्वीकारे। उनले यो पटकको बजेटमार्फत मोडालिटी स्पष्ट पार्ने र योजनालाई तदारुकताका साथ अघि बढाउने प्रतिबद्धता जनाए।
पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलहरू यात्रु अभावका कारण क्षमताअनुसार सञ्चालनमा आउन नसकेको स्वीकार गर्दै उनले ती विमानस्थलहरूमा यात्रु वृद्धि गर्न विभिन्न रणनीतिहरू लागू गरिने बताए। श्रम स्वीकृति, मेनपावर सेवा तथा स्वास्थ्य परीक्षणजस्ता सेवाहरू सो क्षेत्रसम्म पुर्याएर यात्रु संख्यामा वृद्धि गरिने योजना अघि सारिएको उनले उल्लेख गरे।
नेपाल एयरलाइन्सको हाल सञ्चालनमा रहेका छ वटा विमानबारे जानकारी दिँदै मन्त्री पाण्डेले आगामी दिनमा सेवा अबरुद्ध नहुने गरी कामको निर्देशन दिइएको जानकारी गराए। साथै, प्रदेश सरकारसँगको सहकार्यमा पहाडी जिल्लामा साना विमानमार्फत सेवा विस्तार गर्ने तयारी भइरहेको पनि उनको भनाइ थियो।
सरकारले आगामी दशकलाई ‘पर्यटन प्राथमिकता दशक’को रूपमा घोषणा गर्ने तयारी गरिरहेको मन्त्री पाण्डेले बताए। उनले निजी क्षेत्रलाई समेत सहभागी गराउँदै पर्यटन विकासका लागि संवाद कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराए।
बैठकमा सहभागी सांसदहरूले निजगढ विमानस्थलको मोडालिटी चाँडो टुंगो लगाउन, पोखरा र भैरहवा विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सुरु गर्न तथा राष्ट्रिय गौरव आयोजनाहरूको स्पष्ट मापदण्ड तय गर्न सुझाव दिएका थिए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij