
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म ११ करोड ७४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो नाफा २०८.४४ प्रतिशत ले वृद्धि भएको हो। अघिल्लो वर्ष कम्पनीले ३ करोड ८० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो।
नाफा वृद्धिको मुख्य कारण कम्पनीको खुद ब्याज आम्दानीमा ४१.३० प्रतिशत को वृद्धि र सञ्चालन नाफामा २५० प्रतिशतभन्दा बढी को उल्लेखनीय वृद्धि हो। गत वर्ष कम्पनीले ४५ करोड ३ लाख रुपैयाँभन्दा बढी ब्याज आम्दानी गर्दा सञ्चालन नाफा १६ करोड २७ लाख रुपैयाँभन्दा बढी पुगेको छ। साथै, इम्पेरमेन्ट चार्ज पनि अघिल्लो वर्षको २ करोड २१ लाख रुपैयाँभन्दा घटेर २ करोड २ लाख रुपैयाँमा झरेको छ, जसले समेत नाफा वृद्धि गर्न योगदान पुर्याएको छ।
कम्पनीको वितरणयोग्य नाफा पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष २ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेकोमा यस वर्ष सो रकम ९ करोड १० लाख रुपैयाँभन्दा बढी पुगेको छ।
हाल सिवाईसी नेपाल लघुवित्तको चुक्ता पूँजी २६ करोड ६४ लाख रुपैयाँ र जगेडा कोषमा ३५ करोड ८६ लाख रुपैयाँभन्दा बढी रहेको छ। कम्पनीले २ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३ अर्ब १० करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिई ६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरिसकेको छ। निष्क्रिय कर्जा अनुपात पनि अघिल्लो वर्षको ४.९५ प्रतिशतबाट घट्दै ४.५४ प्रतिशतमा झरेको छ।
सालभरमा कम्पनीको प्रति शेयर आम्दानी ४४ रुपैयाँ ९ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २७७ रुपैयाँ १७ पैसा कायम छ, जसले कम्पनीको वित्तीय अवस्था सबल रहेको संकेत गर्छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij