
काठमाडौँ ।काठमाडौँ उपत्यकाबाट उद्योगहरू बाहिर पठाउने विषयमा अर्थमन्त्रालयमा छलफल भएको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ को बजेट कार्यान्वयनसम्बन्धी आयोजना गरेको मन्त्रालयगत छलफलमा यसबारे छलफल भएको हो ।मन्त्रालयले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गरेको छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशीलता कार्यक्रम विकास कार्यक्रम अन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण र तालिमसँगै उत्पादित वस्तुलाई बजारसँग जोडेर अघि बढ्ने छलफल भयो ।
साथै काठमाडौँ उपत्यकामा सञ्चालित उद्योगहरुलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिने विषयमा छलफल भयो । भारत, चीन लगायत अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने गरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने, झापा, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्रको निर्माणसम्बन्धी विषयमा पनि छलफल भएको जनाइएको छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा। रामप्रसाद घिमिरे लगायत उपस्थित थिए ।आर्थिक वर्ष २०८२/८३ को बजेटलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय र विभागहरुसँग क्रमशः छलफल गर्ने कार्यक्रम तय गरेको छ । सोही अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग यो छलफल भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij