Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच सीमा–पार भुक्तानी प्रणाली सञ्चालनमा सहकार्य, नेपालमै पहिलो विकास बैंकको उपलब्धि

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच सीमा–पार भुक्तानी प्रणाली सञ्चालनमा सहकार्य, नेपालमै पहिलो विकास बैंकको उपलब्धि

  •  

    काठमाडौं ।  महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमा–पार वित्तीय सेवाहरू प्रवर्द्धन गर्न सहकार्यको समझदारी भएको छ। यस समझदारीअन्तर्गत भारतबाट नेपालमा भुक्तानी गर्न सकिने प्रणाली सञ्चालनमा ल्याउँदै महालक्ष्मी विकास बैंकले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस प्रणालीमार्फत बैंक भारतबाट नेपाल पैसा भित्र्याउने सुविधा उपलब्ध गराउने पहिलो विकास बैंक बनेको छ।

    दुवै बैंकले सम्पूर्ण प्रक्रियागत तयारीहरू पूरा गरी सफल परीक्षण कारोबार समेत सम्पन्न गरिसकेका छन्। अब महालक्ष्मी विकास बैंकले एचडीएफसी बैंकको अत्याधुनिक क्यास म्यानेजमेन्ट प्रणाली (CMS) अन्तर्गत चेक कलेक्सन तथा इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवामा प्रत्यक्ष पहुँच प्राप्त गरेको छ। यसले भारतमा रहेका व्यक्ति तथा संस्थाहरूलाई NEFT (National Electronic Fund Transfer), RTGS (Real-Time Gross Settlement) तथा अन्य डिजिटल माध्यमबाट सिधै नेपालमा रहेका महालक्ष्मी बैंक खातामा रकम पठाउने सुविधा प्रदान गर्नेछ।

    त्यसैगरी, भारतमा रहेका अन्य बैंकहरूको चेक जम्मा गरेर समेत नेपालमा पैसा पठाउन सकिनेछ। यो सहकार्यले नेपाल–भारत बैंकिङ सम्बन्धलाई थप सुदृढ बनाउने तथा सीमा–पार व्यापार र रेमिट्यान्स सेवा सरल, प्रभावकारी र प्रविधिमैत्री बनाउने विश्वास बैंकले लिएको छ।

    साथै, डिजिटल सेवा विस्तारको प्रतिबद्धताअनुसार महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूलाई ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एपमार्फत भर्चुअल क्रेडिट कार्डको सुविधा पनि प्रदान गरेको छ, जसले डिजिटल नवप्रवर्तनमा बैंकको अग्रता देखाउँछ।

    ‘सबल बैंक, सफल सहकार्य’ भन्ने नाराका साथ बैंकले देशभर १०३ शाखा र करिब ८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ। बैंकले नेपालका सर्वसाधारणसम्म गुणस्तरीय वित्तीय सेवा पु-याउने आफ्नो उद्देश्यमा थप एक महत्वपूर्ण कदम चालेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij