
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २२ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
शेयर बजार : नेप्से परिसूचक १९.५६ अंकले बढेर २८५१.६३ बिन्दुमा, ८ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार
काठमाडौं । लगातारको उतारचढावपछि साताको अन्त्यतिर सोमबार (साउन २२ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हरियाली देखिएको छ। सोमबार नेप्से सूचक १९.५६ अंकले बढेर २८५१.६३ विन्दुमा पुगेर बन्द भएको छ। यो वृद्धिले बजारमा ०.६९ प्रतिशतको सुधार देखाएको हो।
सो दिन कूल ८ अर्ब ४७ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा आएका ३१८ कम्पनीहरूमा २५२६१,०१२ कित्ता सेयर किनबेच भएका छन् भने कूल ९५,१६० वटा कारोबार सम्पन्न भएका छन्।
११ करोड रुपैयाँ ठगीको आरोप लागेपछि सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव प्रहरीमा आफैं हाजिर
काठमाडौँ । ११ करोड रुपैयाँ ठगी गरेको आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसर मा हाजिर भएका छन् । श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी गरेको आरोपको उजुरी परेपछि श्रीवास्तव आफैं प्रहरी परिसर पुगेका हुन् ।
काठमाडौ प्रहरी परिसरले सेयर कारोबारी दीपेन्द्र अग्रवालले सेयर खरिद–बिक्री गर्ने विभिन्न १५ नाममध्येका २ जना आफूहरूले पाउनुपर्ने रकम फिर्ता नदिएको भन्दै उजुरी दिएको जनाएको छ ।स्रोत अनुसार मिता मुरारका अग्रवाल र ज्योति अग्रवालले आफूहरूले पाउनु पर्ने ११ करोड ५५ लाख नपाएको भन्दै जाहेरी दिएका थिए । ठगी कसुर सम्बन्धी उजुरी आएपछि श्रीवास्तव आफैं परिसर कार्यालयमा उपस्थित भएका हुन् ।
सरकारले नै शिक्षा विधेयक अड्कायोः अध्यक्ष दाहाल
काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक वर्तमान सरकारले नै अड्काएको आरोप लगाउनुभएको छ ।
राष्ट्रियसभागृहमा आज माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी०ले आयोजना गरेको ‘विद्यार्थीसँग कमरेड प्रचण्ड, शैक्षिक संवाद’ कार्यक्रममा अध्यक्ष दाहालले सुरुमा एमाले र कांग्रेसकै कारण विधेयक आउनै ढिला भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारको सार्वजनिक शिक्षा सुधारतर्फ ध्यान छैन ।”
समयमै बजेट नल्याउने मधेसका स्थानीय तहसँग सङ्घीय मामिला मन्त्रालयले सहजीकरण गर्दै
वीरगञ्ज ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट ल्याउन नसक्ने मधेस प्रदेशका स्थानीय तहसँग आवश्यक समन्वय र सहजीकरण सुरुवात गरेको छ ।
मन्त्रालयबाट आएको टोलीले साउन २१ गतेदेखि २३ गतेसम्म मधेस प्रदेशका चार जिल्लाका बजेट नल्याएका स्थानीय तहसँग आवश्यक सहजीकरण थालेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव भूपेन्द्र सापकोटाले गत असार १० गतेभित्रै बजेट ल्याउन नसकेका स्थानीय तहसँगको समस्या र सो समस्या समाधानका लागि आवश्यक सहजीकरण गरेको बताउनुभयो । “अहिले हामीले मधेस प्रदेशका १५ वटा स्थानीय तहसँग तोकिएको समयभित्रै बजेट ल्याउन नसक्नुको कारणको विषयमा आवश्यक छलफल गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “हामी पुगेका स्थानीय तहमा खासै ठूलो प्रकृतिका समस्या त देखिएका छैनन । पालिका र वडालाई बजेट–कति छुटाउने भन्ने विषयमा केही समस्या देखिएका छन् । पालिकाले बजेट निर्माण तथा तर्जुमा गर्नुपर्ने हुन्थ्यो । सोही अनुसारको काम हुन भने सकेको देखिएन । पालिकाले क्षेत्रगत बजेट तोकेर तयार पारेको भए कुनै समस्या आउँदैन्थ्यो ।”
चुरे क्षेत्रको संरक्षण गर्न तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यकः कार्यवाहक प्रधानमन्त्री सिंह
सिरहा । कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
लहानमा निर्माण सम्पन्न भएको नयाँ व्यापारिक भवनको आज यहाँ एक समारोहबीच उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले चुरेको दीर्घकालीन संरक्षणले मधेसमा देखिएको वातावरणीय समस्या समाधान हुने उल्लेख गर्नुभयो ।
विदेशी नागरिकलाई सम्पूर्ण तलब विदेश लैजाने सुविधा, विनिमय निर्देशनमा ठूला परिमार्जन
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशन २०८१ संशोधन गर्दै विदेशी नागरिक, विदेशी ऋणदाता र आयातकर्तालाई लक्षित गरी महत्वपूर्ण नीतिगत परिमार्जन सार्वजनिक गरेको छ।
अबदेखि विदेशी विनियम ऐन, २०७५ अन्तर्गत सञ्चालित कम्पनीमा कार्यरत विदेशी नागरिकले कर कट्टापछि बाँकी सम्पूर्ण रकम आफ्नो देश लैजान पाउनेछन्। यसअघि ७० प्रतिशत मात्र लैजान पाइन्थ्यो। तर औद्योगिक व्यवसाय ऐन अन्तर्गत काम गर्ने विदेशी कामदारलाई भने यो सीमा यथावत् ७० प्रतिशतमा कायम गरिएको छ।
हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह
तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।
हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी ‘साइड इभेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठोस कार्यहरूद्वारा हाम्रा हिमालयलाई बचाउन सकिने बताउनुभयो ।
नेपाल शिक्षक महासंघद्वारा भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने घोषणा
काठमाडौं । नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको जानकारी दिएका हुन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा बिहीबार सकिएको बताउँदै सुवेदीले समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आफूहरूले आन्दोलनमा जाने निर्णय गरेको बताए ।
दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स
काठमाडौं। “महाबचत बजार“ को अपार सफलतापछि अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले नेपालको सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै, दराज ८.८ सेल्स क्याम्पेन ल्याएको छ । यो क्याम्पेन साउन २३ देखि २९ गतेसम्म संचालन हुनेछ, जसअन्तर्गत ग्राहकहरूले बम्पर छुट, एक्सक्लुसिभ डिल्स र रोमाञ्चक फ्ल्यास सेल्सको भरपूर फाइदा लिन सक्नेछन् ।
भर्खर सम्पन्न महाबचत बजार अभियानमा भिभोले पहिलो सातामै सयौं युनिट बिक्री गर्दै नेपाली बजारमा आफ्नो मजबुत उपस्थिति देखाएको थियो। यही उपभोक्ता भरोसालाई निरन्तरता दिँदै, भिभोले दराजसँग सहकार्य गर्दै ८.८ क्याम्पेनमार्फत स्मार्टफोन प्रेमीहरूका लागि उत्कृष्ट डिल्स र अफरहरू प्रस्तुत गरेको छ । जहाँ ग्राहकहरूले प्रत्येक फ्ल्यागशिप भिभो एक्स२०० प्रोको खरिदमा रु. ४,००० बराबरको भिभो बड्स उपहार स्वरुप निःशुल्क प्राप्त गर्नेछन् । यस उत्साहलाई थप गर्दै, श्रावण २३ गते राती १२ बजे हुने विशेष फ्ल्यास सेलमा भिभो वाई१९एस प्रो मात्र रु ८,८८८ को विशेष मूल्यमा सीमित समयका लागि उपलब्ध हुनेछ । साथै, ग्राहकहरूले दराजमा सिधै डिस्काउन्ट भाउचरहरू रिडिम गरेर पनि थप बचत गर्न सक्नेछन् ।
अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन
काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२ / ८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा आज भएको बैठकमा उहाँले बजेटसम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो । उहाँले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यावन्यनमा परिणाम निकाल्न पनि निर्देशन दिनुभयो ।
एनआरएनए पोचुगलद्वारा आगलागी पिडितहरुलाई राहत वितरण
घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार
गण्डकी । लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत गाँजाखेती र घरेलु मदिरालाई कानुनी मान्यता दिने घोषणा गरेको थियो । औद्योगिक उत्पादन र औषधिजन्य प्रयोजनका लागि गाँजाखेती खुला गर्ने गरी प्रदेश सरकारले विधेयकको मस्यौदा तयार पारेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन तथा संवैधानिक मामिला महाशाखाका सचिव रामजी दनाईले मस्यौदामाथि प्राररम्भिक छलफल सुरुआत भएको बताउनुभयो । “मुख्यमन्त्रीसहित सरोकार भएका पक्षहरुबीच एक चरण छलफल भइसकेको छ, मस्यौदा थप परिमार्जन तथा संशोधन हुनसक्छ”, उहाँले भन्नुभयो, “सेवनका लागि नभई गाँजाको औद्योगिक र औषधीजन्य उत्पादनलाई मात्र वैधता दिने गरी प्रदेश सरकारले कानुन ल्याउन लागेको हो ।” प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, विधेयकको प्राररम्भिक मस्यौदा तयारीमा प्रदेश सरकारलाई सहयोग गरिरहेको नेपाल कानुन समाजका पदाधिकारीलगायत सम्मिलित उक्त बैठकमा गाँजाखेतीलाई कानुनी मान्यता दिनुपर्नेमा एकमत देखिएको थियो । सचिव दनाईले प्रस्तावित विधेयकको खाकाले पूर्णता पाइनसकेकाले ऐन निर्माणको प्रक्रियाले केही समय लिने बताउनुभयो । लागूऔषध सम्बन्धी सङ्घीय ऐन र अन्य प्रचलित कानुनसँग नबाझिने गरी कानुन ल्याउनुपर्ने उहाँको भनाइ छ ।
भैरहवा कारागारमा रवि लामिछानेलाई भेट्न पुगे डा. बाबुराम भट्टराई, पत्रपत्रिका समेत पढ्न नदिएकोप्रति चिन्ता व्यक्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागारमा भेट्नका लागि नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई पुगेका छन्। भेट पछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा डा. भट्टराईले राजनीतिक जनताको प्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुने उल्लेख गर्दै, रवि लामिछानेलाई कारागारमा पत्रपत्रिका समेत नदिएको विषयमा चिन्ता व्यक्त गरेका छन्।
उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड
तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनामा नेपाल आफ्ना छिमेकी र अन्य मुलुकहरूसँगको साझेदारीलाई गाढा बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज यहाँ आयोजित ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
पाँच वर्षभित्र प्रत्येक नेपालीले जोखिमको पूर्वसूचना पाउने व्यवस्था हुनेछ :गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र देशका सबै नागरिकलाई जोखिमसम्बन्धी पूर्वसूचना उपलब्ध गराउने योजना रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित 'सबैका लागि पूर्वसूचना' राष्ट्रिय कार्यशालामा बोल्दै उनले पूर्वसूचना प्रणालीलाई जनसाधारणसम्म पु-र्याउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे।
रास्वपाबाट रुपन्देही–३ उपनिर्वाचनका लागि ९ जनाले दिए उम्मेदवारी आवेदन
काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन्। पार्टीले साउन ७ देखि २१ गतेसम्म मोबाइल एपमार्फत आवेदन दिने व्यवस्था गरेकोमा सो अवधिमा ९ जनाले उम्मेदवारीको इच्छा व्यक्त गर्दै आवेदन दिएका हुन्।
रास्वपाले बिहीबार उम्मेदवारी दिएका व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ। उम्मेदवारहरूमाथि दाबी–विरोधका लागि साउन २३ र २४ गते छुट्याइएको छ भने साउन २५ गते उनीहरूसँग छलफल गरिनेछ।
अवकाशअघि नै एसपी नवीनकृष्ण भण्डारीको राजीनामा, डीएसपी थापा बढुवा सिफारिसमा
काठमाडौं । गण्डकी प्रदेश प्रहरी गण, पोखरामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले अवकाशको १० दिनअघि नै पदबाट राजीनामा दिएका छन्। करिब ३० वर्षे सेवा अवधिको अन्त्यमा पुगेका भण्डारीले स्वेच्छिक राजीनामा दिएका हुन्।
गृह मन्त्रालयले साउन २० गते (मंगलबार) उनको राजीनामा स्वीकृत गरिसकेको छ। भण्डारीको पद खाली भएपछि त्यही दरबन्दीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापालाई बढुवा गर्न सिफारिस गरिएको छ। थापा यसअघि बढुवामा पटक–पटक छुट्दै आएका थिए।
राजस्व अनुसन्धान विभागले नयाँ महानिर्देशक आएसँगै सक्रियता बढायो
काठमाडौँ । राजस्व अनुसन्धान विभागले नयाँ महानिर्देशक आएसँगै सक्रियता बढाएको छ । राजस्व अनुसन्धान विभागमा नयाँ महानिर्देकको रूपमा तीर्थराज चिलुवाल आएसँगै विभागले सक्रियता बढाएको हो । एक महिना महानिर्देशक विहीन बनेको राजस्व अनुसन्धान विभागले नयाँ कमाण्डर पाएसँगै सक्रियता बढाएको हो । एक महिनासम्म राजस्व अनुसन्धान विभागको यार्ड खाली रहेकोमा अहिले विभिन्न सामान लोडेड गाडीहरूले भरीभराउ छ । राजस्व छलीको आशंकामा भन्सार बिन्दुहरूबाट आएका गाडीहरू राजस्व अनुसन्धान विभागको यार्डमा आइरहेका छन् । राजस्व छली रोक्न महानिर्देशक चिलुवालले महातहतका कार्यालयलाई गस्ती बढाउन निर्देशक दिएका छन् ।
दिव्यश्वरी हाइड्रोपावरको बिक्री आम्दानी ११.२२%ले वृद्धि,नोक्सानी घटेर ४५ लाखमा सीमित
काठमाडौं ।दिव्यश्वरी हाइड्रोपावर लिमिटेड (DHPL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रुपमा घटेको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म कम्पनी ३ करोड ९१ लाख रुपैयाँ नोक्सानीमा थियो भने गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको समीक्षा अवधिमा नोक्सानी ४५ लाख रुपैयाँ मात्र रहेको छ। कम्पनीको विद्युत बिक्री आम्दानीमा वृद्धि र वित्तीय खर्चमा कमी आएको कारणले नोक्सानी घट्न सफल भएको हो।
कुमारी बैंकको ४५,८२९% वृद्धि ,४६ लाखबाट २ अर्ब ११ करोड नाफा
काठमाडौं ।कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अनुसार, बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशतले वृद्धि भएको देखिएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले कुल २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। तर, अघिल्लो आर्थिक वर्षको खुद नाफा मात्र ४६ लाख रुपैयाँ देखाइएको कारणले यस्तो अत्यधिक प्रतिशत वृद्धिको आँकडा आएको हो। यद्यपि, गत वर्ष प्रकाशित विवरणअनुसार, २०८१ असार मसान्तसम्म बैंकको खुद नाफा २ अर्ब ३० करोड रुपैयाँ थियो।
साताको पाँचौं दिन बिहीबार सुनको मूल्य स्थिर, चाँदी तोलामा १० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँ कायम
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन भने चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, बिहीबार सुन प्रति तोला रु. १,९८,४०० मा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो, जसले गर्दा सुनको मूल्य स्थिर रहेको देखिन्छ।
त्यसैगरी, चाँदीको मूल्य भने तोलामा रु. १० ले बढेको छ। बुधबार चाँदीको मूल्य रु. २,३०५ प्रति तोला रहेकोमा बिहीबार यसको मूल्य रु. २,३१५ पुगेको छ।
मनसुनको प्रभाव कायमै, आज कोशी र लुम्बिनीमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौँ ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनियम दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij