
काठमाडौँ । स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न सरकारलाई समस्या परेको छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको अभाव भएर राज्यले पूर्वाधार आयोजनामा लगानी गर्न समस्या परेको बताएका हुन् । अर्थ समितिमा सोमबार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा उनले यस्तो बताए ।
उनका अनुसार पूर्वाधारमा लगानी गर्न स्रोत नभएकाले वैकल्पिक वित्तको कानून ल्याउन खोजिएको छ । आयोजना छनोटका लागि, ट्रेजरीबाहिरबाट स्रोत जुटाउन र कार्यान्वयन गर्नका लागि यो कानूनले महत्वपूर्ण भूमिका खेल्ने छ । प्रतिफल दिने योजनामा निजी क्षेत्रबाट समेत लगानी जुटाउन यो कानून महत्वपूर्ण हुने मन्त्री पौडेलको विश्वास छ ।
अहिले राज्यले पूर्वाधारमा लगानी गर्नसक्ने अवस्था छैन् । सरकारलाई स्रोतको ठूलो दबाब भयो त्यसैले प्रतिफल दिने आयोजनामा ट्रेजरी भन्दा बाहिरबाट स्रोत जुटाउन यो विधेयक ल्याइएको हो । वैकल्पिक स्रोतमार्फत पूर्वाधारहरुमा लगानी जुटाएर ठूला आयोजनाहरु अघि बढ्न सघाउ पुग्ने विश्वास छ ।
वैकल्पिक वित्तको कानून बनेपछि स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अहिले परिरहेको समस्या सामाधान हुनेछ । खानीका अध्ययन, मल कालखाना, आइटी लगायतका क्षेत्रमा त्यस्तो स्रोत परिचालन गर्न सकिने छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij