Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

इप्पानको ११ बुँदे माग विद्युत प्राधिकरणसमक्ष, पीपीए सुचारु र कन्टिन्जेन्सी खारेजमा जोड

इप्पानको ११ बुँदे माग विद्युत प्राधिकरणसमक्ष, पीपीए सुचारु र कन्टिन्जेन्सी खारेजमा जोड

  • काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसमक्ष ११ बुँदे माग राखेको छ। वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको टोलीले विगतदेखि उठाउँदै आएका मुद्दाहरू छिटो समाधान गर्न आग्रह गरेको हो।

    मागहरूमा टेक एन्ड पे पिपिए खारेज, आरसीओडी म्याद थप, खेर जाने विद्युत व्यवस्थापन र कन्टिन्जेन्सी व्यवस्था हटाउने, विनासर्त २८,५०० मेगावाट लक्ष्यका लागि पिपिए खुलाउने तथा १० मेगावाटसम्मका आयोजनाको पिपिए तत्काल सुचारु गर्ने जस्ता विषय समावेश छन्।

    डाँगीले अहिले पनि २२ आयोजना कन्टिन्जेन्सीमा चलिरहेको भन्दै यो व्यवस्था खारेज गर्नुपर्ने बताए। उनले बजेटमा टेक एन्ड पे समावेश भएपछि साना आयोजनाको पिपिए रोकिएको र त्यसलाई तत्काल सुरु गर्न आवश्यक भएको उल्लेख गरे। उपाध्यक्ष रामप्रसाद आचार्यले विद्युत प्राधिकरणले पिपिए नगर्ने हो भने विद्युत विकास विभागले लाइसेन्स दिन र कनेक्सन एग्रिमेन्ट गर्न पनि रोक्नुपर्ने धारणा राखे।

    जवाफमा कार्यकारी निर्देशक शाक्यले आरसीओडी म्याद थपका लागि समितिको प्रतिवेदन आइसकेको र त्यसकै आधारमा निर्णय हुने बताए। कतिपय आयोजनामा भने अवस्थाअनुसार निर्णय गरिने उल्लेख गर्दै उनले प्रसारणलाइनको क्षमता विस्तार र नयाँ लाइन निर्माणमा निजी क्षेत्रसँग सहकार्यको आवश्यकता औंल्याए।

    उनका अनुसार पश्चिम सेती करिडोरमा निजी क्षेत्रसहितका चार निकायले संयुक्त रूपमा प्रसारणलाइन निर्माण सुरु गरिसकेका छन्। निजी क्षेत्रले प्रसारणलाइन बनाउँदा जलविद्युत पिपिएझैं आम्दानीको ग्यारेन्टी गरिने बताउँदै शाक्यले निर्माणाधीन र आगामी पिपिए हुने करिब ९,९०० मेगावाट विद्युतको ६ महिनामा भारतमा निर्यात सुनिश्चित भइसकेको र थप आयोजनाको पिपिए गर्न आफू सक्रिय रहेको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij