Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

निकिता पौडेलद्वारा गृहमन्त्री लेखकमाथि न्यायिक प्रक्रियामा हस्तक्षेपको आरोप, अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी

निकिता पौडेलद्वारा गृहमन्त्री लेखकमाथि न्यायिक प्रक्रियामा हस्तक्षेपको आरोप, अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी

  • काठमाडौं । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले गृहमन्त्री रमेश लेखकमाथि न्यायिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाएकी छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले लामिछानेविरुद्ध मुद्दा अगाडि बढाउँदा गृहमन्त्रीकै निर्देशनमा अदालतको आदेश रोकिएको र राजनीतिक दबाबमा न्यायिक निर्णय प्रभावित भएको दाबी गरिन्।

    लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन्। पौडेलका अनुसार, सबै मुद्दा रमेश लेखक गृहमन्त्री बनेपछि मात्र दर्ता भएका छन् र कुनै पनि मुद्दा हदम्यादमा छैन। उनले आफू उच्च अदालत बुटवल हुँदै अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी दिएकी छन्।

    उनले गृहमन्त्रीको कार्यकक्षमै न्यायिक परिषद् उजुरीको मस्यौदा तयार भएको र सम्बन्धित व्यक्तिहरूलाई पठाइएको दाबी गर्दै, यसलाई न्यायालयमाथि खुला धम्कीको रूपमा व्याख्या गरिन्। साथै, मुद्दाको पेशी चढ्ने दिन नै उजुरी परेपछि न्यायाधीशहरूले आफ्नो करियरको जोखिम मोल्दै सही फैसला गर्न नसक्ने वातावरण सिर्जना गरिएको आरोपसमेत लगाइन्।

    पौडेलले सर्वोच्च अदालतमा समान प्रकृतिका मुद्दामा धरौटीमा छोड्ने नजिर भए पनि लामिछानेलाई निरन्तर थुनामा राखिएको प्रश्न गर्दै, अदालतको आदेश दिने प्रक्रियामा ‘अस्वाभाविक गतिविधि’ बढेको आरोप गरिन्। उनले न्यायका लागि सबै कानुनी र संवैधानिक ढोकामा निरन्तर ढकढक्याउने र अन्तर्राष्ट्रिय मञ्चमा मुद्दा लैजाने अठोट दोहोर्याइन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij