
काठमाडौं । सार्वजनिक पद सम्हाल्नेहरूको सम्पत्ति विवरण कडाइका साथ पालन गराउन जोड दिइएको छ । सार्वजनिक पद सम्हाल्नेहरूले पदबहाली गर्न अघि नै सम्पत्ति विवरण बुझाउनुपर्ने भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस सम्बन्धी निर्देशन जारी गरेको छ ।मन्त्रालयले मातहतका सबै निकायलाई पत्राचार गरी सम्पत्ति विवरण अग्रिम रुपमा संकलन गर्न भनेको छ ।
यसअघि पनि गरिएको यो व्यवस्था कार्यान्वयनमा ढिलाइ देखिएकोले सरकारले यसमा थप कडाइ गर्न साउन २६ गते निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै मन्त्रालयले सो निर्देशन प्रवाह गरेको छ ।
सबै गाउँपालिका, नगरपालिका र राष्ट्रिय किताबखाना (निजामती) लाई परिपत्र गरी निर्णय कार्यान्वयन गर्न मन्त्रालयले निर्देशन दिएको हो । राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने राष्ट्र सेवक कर्मचारी बढेको प्रतिवेदन सार्वजनिक गरेपछि सरकारले यस्तो कदम चालेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबारे सिफारिस गरेपछि यसमा कडाइ गर्न थालिएको देखिएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij