Logo

Aug 17 2025 | २०८२, भदौ १गते

Aug 17 2025 | २०८२, भदौ १गते

images

साउनमा खर्च नबढ्दा सरकारको आम्दानी ३९ अर्ब बढीले बचत

साउनमा खर्च नबढ्दा सरकारको आम्दानी ३९ अर्ब बढीले बचत

  • काठमाडौँ । सरकारले साउन महिनामा संकलित राजस्वबाट ३९ अर्ब बढी बचत गरेको देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा सरकारको खर्चभन्दा आम्दानी धेरै देखिएकोले यस्तो देखिएको हो  ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन  महिनामा सरकारले राजस्व र अन्य आम्दानीबाट ८५ अर्ब ५१ करोड ९७ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी ४६ अर्ब ३० करोड रुपैयाँ बराबर भएको खर्च भएको देखिएको छ । सरकारले यस वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेको छ ।

    निर्धारित लक्ष्य अनुसार साउन महिनाभर उठेको ८४ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ कुल राजस्व लक्ष्यको ५.७३ प्रतिशत हो । यसबीचमा कर राजस्व लक्ष्यको ६.११ प्रतिशत र गैरकर राजस्व २.४६ प्रतिशत उठेको छ ।यसैगरी वैदेशिक अनुदान लक्ष्यको ०.७९ प्रतिशत उठेको देखिन्छ । सरकारले चालु आवमा  ५३ अर्ब ४४ करोड अनुदान प्राप्त गर्ने  लक्ष्य तय गरेको छ । साउनमा ४२ करोड १९ लाख रुपैयाँ अनुदान आएको देखिन्छ ।

    खर्चतर्फ वित्तीय व्यवस्थामा सबैभन्दा धेरै  खर्च भएको छ । यो ऋणको साँवा भुक्तानी र लगानीका लागि उपयोग गरिन्छ । साउन महिनामा वित्तीय व्यवस्थामा कुल २७ अर्ब १० करोड रुपैयाँ खर्च भइसकेको छ । यो लक्ष्यको ७.२२ प्रतिशत हो । साउनमा भएको चालु खर्च १८ अर्ब ४७ करोड रुपैयाँ लक्ष्यको १.५६ प्रतिशत मात्र हो ।

    पूँजीगत खर्च तर्फ  साउनमा भएको  ७२ करोड ६७ लाख लक्ष्यको ०.१८ प्रतिशत मात्र हो । यो वर्ष सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन  गर्ने घोषणा मध्ये चालु खर्चको लक्ष्य ११ खर्ब ८० अर्ब र पूँजीगत खर्चको लक्ष्य ४ खर्ब ७ अर्ब ८८ करोड विनियोजन गरिएको  छ । वित्तीय व्यवस्थातर्फको खर्च ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

    गत आर्थिक वर्षको एक वर्षको अवधिमा संघीय सरकारको कुल खर्च १५ खर्ब ८ अर्ब २३ करोड रुपैयाँ बराबर भएको  थियो । गत  आवमा सरकारले चालुतर्फ ९ खर्ब ८० अर्ब ३८ करोड र पूँजीगत तर्फ २ खर्ब २२ अर्ब रुपैयाँ खर्च गरेको थियो । सबैभन्दा बढी खर्च असार महिनामै भएको सरकारी हिसाबकिताब छ ।

    साउन चालु आवको सुरुवाती महिना भएकाले सरकारी खर्च समान्यतया हुने गरेको पाइँदैन् । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले साउन लाग्नु अगाडि नै कागजी प्रक्रिया पूरा गरी १ साउनबाट बजेट कार्यान्वयनलाई द्रुतगतिमा बढाउन भनेपनि परिणाम त्यस्तो भने नदेखिएको पर्यवेक्षकहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij