
काठमाडौँ।क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले पौड्याल क्यानडा नेपालको भरपर्दो मित्र भएको बताउनुभएको छ । अटवा–क्यानडा नेपाल फोरम फर रिसर्चको आयोजनामा क्यानडामा आयोजित ‘चौथो अटवा रिसर्च कन्फरेन्स’मा राजदूत पौड्यालले क्यानडाले विभिन्न बहुपक्षीय संस्थामार्फत नेपाललाई बर्सेनि चार करोड डलर बराबरको सहयोग उपलब्ध गराई रहेको जानकारी दिनुभयो । उहाँले नेपालले बर्सेनि क्यानडाबाट झन्डै रु सात अर्ब बराबरको सरसामान आयात गरिरहेको र रु एक अर्ब बराबरको निर्यात गरिरहेको समेत उल्लेख गर्नुभयो । “क्यानडामा नेपालबाट हुने निर्यात बढाउन सकिन्छ, यसमा नेपाली ‘डायस्पोरा’ले थप भूमिका निर्वाह गर्नुपर्छ”, राजदूत पौड्यालले भन्नुभयो । राजदूत पौड्यालले क्यानडामा नेपाली डायस्पोराको सङ्ख्या बढ्दै जाँदा नेपालमा क्यानडाको राजदूतावास स्थापना गर्न क्यानडा सरकारलाई अनुरोध गरिएको बताउनुभयो ।
अर्थशास्त्री डा राम आचार्यले सन् २०१९ देखि सम्मेलन सुरु गरिएको उल्लेख गर्दै कोभिड महामारीका कारण केही समय रोकिएको बताउनुभयो । त्यस अवसरमा न्यु ब्रन्सविक विश्वविद्यालयका पूर्वप्राध्यापक बासु शर्माले ‘नेपालमा सङ्घीयताका चुनौतीहरू’ विषयक कार्यपत्र प्रस्तुत गर्दै एकता र विविधताबीच सन्तुलन ल्याउन नेपालले सङ्घीय प्रणाली अपनाएको धारणा राख्नुभयो । दुईदिने सम्मेलनले अटवा विश्वविद्यालयमा प्राध्यापनरत डा भानुभक्त आचार्यको अध्यक्षतामा क्यानडा नेपाल फोरम फर रिसर्च (क्यानेफोर) को नयाँ कार्यसमिति पनि चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा डा दिनेश गजुरेल, बोर्ड निर्देशकमा डा शिवहरि गौतम, डा अनुप बस्नेत, डा होमनाथ घर्ती र इन्जिनियर सुवास पौडेल निर्वाचित हुनुभएको छ । कार्यसमितिको सचिवमा कुसुम शर्मा, कोषाध्यक्षमा अम्बिका पौडेल र प्रविधि अधिकृतमा सौगात श्रेष्ठ निर्वाचित हुनुभयो । दीपेन्द्र कुँवर विद्यार्थी सम्पर्क अधिकृतमा मनोनयन हुनुभएको छ । ---
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij