
काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय बुटवलले भारतीय नागरिक समेत उपर राजस्व चुहावट कसुरमा २ करोड ६२ लाख ७१ हजार २९ रुपैया बिगो दाबी सहितको मुद्दा दायर गरेको छ ।जिल्ला सरकारी वकील कार्यालय, सिद्वार्थनगर, भैरहवा, रुपन्देहीबाट प्राप्त राय अनुसार सोही ऐनको दफा २०(६) बमोजिम भदौ २ गते रुपन्देही जिल्ला अदालत सिद्वार्थनगर, भैरहवामा अभियोग पत्र दायर गरिएको हो ।
राजस्व अनुसन्धान कार्यालय बुटवलले जारी गरेको विज्ञप्ति अनुसार राजस्व चुहावट सम्बन्धी कसूरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी भारत प्रदेश पंजाब जिल्ला अमृतशहर, सि.४१२ न्यूप्रताप नगर जि.टी रोड बस्ने कुलदिप सिंह र नेपाल लुम्बिनी प्रदेश जिल्ला रुपन्देही, तिलोत्तमा न.पा. वडा नं.–१६, कोटीहवा बस्ने राम बहादुर बिक विरुद्धरुपन्देही जिल्ला अदालत सिद्वार्थनगर, भैरहवामा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा २०(६) बमोजिम अभियोग पत्र दायर गरिएको छ ।
प्रतिवादीहरु कुलदिप सिंह र राम बहादुर बिकले सुनका गरगहनाहरुको खरिद स्रोत, बिलबिजक तथा भन्सार प्रज्ञापन पत्र लगायतका कागज प्रमाण नभएका भन्सार चोरी पैठारी गरेका सुनका गरगहनाहरुको कारोबार गरी भन्सार महसुल तथा कारोबार लुकाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन,२०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी ऐ.ऐनको दफा ४ को उपदफा (क), (ख), (च), (छ) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको कार्यप्रमुख विवेक घिमिरेले बताएका छन् ।
जारी विज्ञप्तिमा जनाइए अनुसार प्रतिवादीहरु कुलदिप सिंह र राम बहादुर बिकको संयुक्त मिलेमतोमा गरेको राजस्व चुहावटको प्रकृति, गाम्भिर्यता तथा राजस्व चुहावट भएको रकम समेतलाई मध्यनजर राखी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (प्रथम संशोधन) को दफा २(छ१) बमोजिम भन्सार चोरी पैठारी तर्फको मुख्य अभियुक्त कुलदिप सिंहको एक करोड पाँच लाख आठ हजार चार सय एघार रुपैयाँ तिस पैसा मात्र) बिगो कायम गरी सोही ऐनको दफा २३(१) बमोजिम बिगो सुनका गरगहनारु जफत गर्ने प्रावधान अनुसार बिगो जफत गरी बिगोको शत प्रतिशत रु. एक करोड पाँच लाख आठ हजार चार सय एघार रुपैयाँ तिस पैसा मात्र) जरिवाना र सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्मको कैद सजाय तथा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (३) बमोजिम राजस्व चुहावटको कसुरको मतियार राम बहादुर बिकलाई मुख्य अभियुक्त लाई हुने सजायको आधा सजाय बाउन्न लाख चौवन्न हजार दुई सय छ रुपैयाँ गरि जम्मा सजाय÷जरिवाना स्वरुप दुई करोड बैसठ्ठी लाख एकहत्तर हजार उनन्तिस रुपैयाँ मागदाबी लिई मुद्दा दायर गरिएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij