
काठमाडौँ । साउन महिनामा विदेश जान चाहने ६८ हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति पाएका छन् । वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको पहिलो महिना ६८ हजार १सय १० जनालाई श्रम स्वीकृति दिएको हो ।
विभागको तथ्यांकअनुसार व्यक्तिगत तवरबाट ८ हजार ५सय४७ पुरुष र ३ हजार २ सय २५ जना महिला गरी कुल ११ हजार ७ सय ७२ जनाले श्रम स्वीकृति पाएका छन् । यसैगरी मेनपावरमार्फत पुरुष २९ हजार १ सय ३० र महिला २ हजार ७ सय गरी कुल ३१ हजार ८ सय ३० जनाले श्रम स्वीकृति लिएका छन् ।
यसैगरी पुनः श्रम स्वीकृतिमार्फत पुरुष २० हजार ५ सय ४७ र महिला ३ हजार ९७ गरी कुल २३ हजार ६ सय ४४ जनाले श्रम स्वीकृति पाएका छन् । साथै सरकार सरकारबीच ( जीटुजी) मार्फत पुरुष ७ सय २४ र महिला १ सय ४० गरी कुल ८ सय ६४ जनाले श्रम स्वीकृति पाएका छन् । यसरी कुल ६८ हजार १ सय १० जनाले श्रम स्वीकृति लिँदा महिला ९ हजार १ सय ६२ जना रहेका छन् भने पुरुष ५८ हजार ९ सय ४८ जना रहेको विभागले जनाएको छ ।
गत आर्थिक वर्षको पहिलो महिना साउनको तुलनामा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको तथ्यांकले देखाएको छ । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा पुरुष ५१ हजार ४सय३० र महिला ८ हजार १सय ४५ जना गरी कुल ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए ।
विभागका अनुसार साउन महिनामा मात्रै वैदेशिक रोजगारीमा ठगीसम्बन्धी ५ सय ८० वटा उजुरी परेको छ । जसमा ७४ वटा उजुरी मिलापत्र गराइएको छ भने २६ वटाचाहिँ अदालतमा पुगेको छ । यसैगरी ९८ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
नेपालमा काम गर्नका लागि चालु आर्थिक वर्षको पहिलो महिनामा ९८ जना विदेशीले समेत श्रम स्वीकृति लिएका छन् । साथै नेपालमै काम गरिरहेका थप ९४ जना विदेशीले श्रम स्वीकृति नवीकरण पनि गराएका छन् । गत आर्थिक वर्षमा यस्तो श्रम स्वीकृति ८ सय ९२ जनाले लिएका थिए भने श्रम स्वीकृति नवीकरण गराउनेको सङ्ख्या १ हजार ६ सय ६७ जना रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आफ्नो प्रतिवेदनमा जनाएको छ ।
यसैबिच गत आर्थिक वर्ष विदेशमा मृत्यु भएका ४सय ८१ जनाको शव नेपाल ल्याइएको थियो । यस्तै साउन महिनामात्रै ३९ जनाको शव झिकाइएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जानकारी सार्वजनिक गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij