Logo

Aug 20 2025 | २०८२, भदौ ४गते

Aug 20 2025 | २०८२, भदौ ४गते

images

मिलनचोक-लेखफाँट-शालिजा सडक कालोपत्र सुरु

मिलनचोक-लेखफाँट-शालिजा सडक कालोपत्र सुरु

  • पर्वत। जिल्लाको उत्तरी गाउँपालिका जलजला-७ मिलनचोकबाट वडा नं ६ शालिजा जोड्ने मिलनचोक-खोलाखेत-धौलापहरा-शालिजा सडक आयोजनाअन्तर्गत वडा नं ४ खोलाखेतमा सडक कालोपत्र गर्न सुरु भएको छ । लुङ्दीखोला मोटरेबल पुलबाट खोलाखेत खेलमैदानसम्मको सडक स्तरोन्नति ढलान गर्न सडक डिभिजन कार्यालय पोखराले गर्न गत आर्थिक वर्षको वैशाखमा दुई खण्डमा ठेक्का लगाएको थियो । गत आवमा सङ्घीय सरकारबाट विनियोजन भएको रु पाँच करोड १५ लाखको लागतमा थालिएको सडक स्तरोन्नति अहिले तीव्र गतिमा भइरहेको छ । सडक निर्माणको जिम्मा लिएको माछापुच्छ्रे निर्माण सेवाले पहिलो खण्डअन्तर्गत सडक फराकिलो, ग्रेड सुधार, नाली निर्माण, टेवा पर्खाललगायत संरचनाको काम सकेर कालोपत्र गर्न लागेको हो । पहिलो खण्डमा खोलाखेतमा करिब सात सय ४० मिटर सडक कालोपत्र गरिने छभने दोस्रो खण्डमा स्तरोन्नतिको काम तीव्र रूपमा भइरहेको निर्माण व्यवसायी कलाधर आचार्यले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आगामी असोजसम्म दोस्रो खण्डको काम पनि सम्पन्न हुनेछ । खोलाखेतमा सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सबबेस र बेस बिछ्याउने काम सकेर छ मिटर चौडाइ र सात सय ४० मिटर दूरीमा कालोपत्र गर्न प्राइम कोट (बिटुमिन) बिछ्याउन थालिएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर लोकेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम अनुकूल भए १० देखि १५ दिनभित्रमा यो खण्डमा कालोपत्र गर्ने काम सकिने छ । गत आवको असार मसान्तसम्म ठेक्काको म्याद भए पनि विभिन्न कारणले आयोजना सम्पन्न गर्न ढिलाइ भएकाले आगामी पुस मसान्तसम्म म्याद थप गरिएको उहाँले जानकारी दिनुभयो । जलजला गाउँपालिकाका चारवटा वडाका साथै छिमेकी जिल्ला म्याग्दीको नागीका बासिन्दालाई बाह्रैमास यातायातको सुविधा उपलव्ध गराउनका लागि सडक कालोपत्रसहित स्तरोन्नति गर्न थालिएको हो । गत आवभित्र आयोजना सम्पन्न गर्नेगरी बजेट विनियोजन भएकामा ढिलागरी ठेक्का आह्वान भएको र वर्षायामका कारण छ महिना म्याद थप भएको थियो । आगामी पुस समान्तसम्म सक्नुपर्ने काम असोजमा सम्पन्न हुने निर्माण व्यवसायी आचार्यको दाबी छ । यो सडकको करिब दुई दशकअघि ट्रयाक खोलिएको थियो । तरकारी पकेट क्षेत्रका रूपमा चिनिएको वडा नं ५ लेखफाँट हुँदै ६ नं वडा शालिजा जोड्ने कृषि सडक जीर्ण हुँदा किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म लैजान समस्या भोग्दै आएका थिए । गत आवमा मिलनचोकबाट लुङ्दी खोलाको मोटरेबल पुलसम्म प्रदेश सरकारको बजेटबाट सडक स्तरोन्नति भई कालोपत्र भइसकेको छ । कच्ची, जीर्ण र साँघुरो सडकका कारण कृषि उपजको बजारीकरण र आवतजावतमा सर्वसाधरणले वर्षौँदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएपछि स्थानीय उत्साहित भएका जलजला-४ का वडाध्यक्ष भरत क्षेत्रीले बताउनुभयो । सडक स्तरोन्नति भएपछि जलजलाको वडा नं ४ खोलाखेत, वढा नं ५ को रातामाटा, लेखफाँट, वडा नं ६ को भोटेडाँडा, शालिजा र ठोट्नेरीका साथै छिमेकी जिल्ला म्याग्दीका स्थानीय लाभान्वित हुनेछन् । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij