
काठमाडौँ । नेपालको पर्वतीय पर्यटनमा मलेसियाको लिङ्कन विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका कुलबहादुर गुरुङ नेपाल पर्वतारोहण सङ्घको अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।
तीन दशकभन्दा लामो समय नेपालको पर्वतीय पर्यटनमा क्रियाशिल धादिङ रुवीभ्यालीका गुरुङ भोलि (भदौ ७) गते हुन लागेको सङ्घको चुनावमा अध्यक्षका उम्मेदवार बन्नुभएको हो ।
‘हिमाल हाम्रो गौरव नेतृत्व हाम्रो पहिचान ! सशक्त संघ दिगो पर्वतीय पर्यटन !’, नारा लिएर चुनावी मैदानमा उत्रिएका गुरुङले बिहिबार एलिस रिसेप्सनमा भव्य कार्यक्रम आयोजना गर्नुभएको छ ।
कार्यक्रममा गुरुङले आफ्नो समूहलाई मतदाताले सहयोग गर्ने निश्चित भएकाले चुनाव पनि आफ्नै समूहले जित्ने निश्चित भएको बताउनुभयो उहाँले आफ्नो समूहमा पर्यटन क्षेत्रमा लामो समयदेखि रहेर काम गरेका अनुभवी र सक्षम व्यक्ति उम्मेदवार भएको भन्दै कार्यक्रममा सबै उम्मेदवारहरुको बारेमा छोटकरीमा परिचित गराउनुभएको थियो ।
गुरुङ समूहको नेतृत्वमा तयार भएको आरोही, समावेशी र व्यवसायी उम्मेदवारहरु समेतले आफूहरुलाई मतदान गर्न उपस्थित मतदाताहरुलाई आग्रह गर्नुभएको थियो । नेपालको पर्वतीय पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सफल गुरुङ सन् १९९२ देखि पर्यटन क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
एनएमएको सफल महासचिव भएर काम गरिसकेका गुरुङ ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)मा उपाध्यक्ष समेत भइसक्नुभएको छ । विश्व पर्वतारोहण महासंघलगायत अन्य थुप्रै पर्यटन संस्थाहरूमा समेत संलग्न गुरुङको परिचय व्यवसायीको रुपमा मात्र सिमित छैन, उनी बौद्धिक एवं प्राज्ञिक व्यक्तित्वको रुपमा पनि परिचित हुनुहुन्छ ।
नेपालको पर्वतीय पर्यटनको विषयमा मलेसियाको लिङ्कन विश्वविद्यालयबाट विद्यावारिधि गर्दै गरेका गुरुङ शिक्षण, प्रशिक्षण तथा तालिमकर्ता पनि हुनुहुन्छ । उहाँ किवानियन र रोटरियन पनि हुनुहुन्छ । किवानेश इन्टरनेशनल नेपालको नेपालभरिकै एक मात्र मास्टर ट्रेनर गुरुङले पब्लिक स्पिकिङ, मोटिभेशनल स्पिकर, इन्स्पिरेशनल स्पिकर तथा लाइफ कोचको रुपमा पनि काम गर्दै आएका छन् । गुरुङले पर्वतीय पर्यटन क्षेत्रको विकासको लागि सुत्रबद्ध रुपमा एजेन्डाहरुलाई अगाडी सार्नुभएको छ ।
उहाँले हाल विद्यमान आरोहण फोहोर धरौटी रकम फिर्ता गर्ने प्रणाली र फोहोर व्यवस्थापन सम्बन्धी वास्तविक, व्यवहारिक, प्रभावकारी र दिगो व्यवस्थापन कार्यमा जोड दिइने बताउनुभयो ।
ग्रीन गाइडलाइन कडाइका साथ पालना गर्न उचित पहल गरीने, जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय जगतलाई सन्देश दिने र जलवायु कूटनीतिमा नेपालको नेतृत्वकारी भूमिका सुनिश्चित गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहल गरीने उहाँले बताउनुभयो ।
गुरुङले हिमालसँग सम्बन्धित स्थानीय उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिइने, अफ–सिजन र कम परिचित शिखरहरूको प्रवद्र्धन गरेर पर्यटन लाभको समान वितरण सुनिश्चित लागू गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिनेछ, गाईड, शेर्पा र उच्च हिमाली श्रमिकका लागि तालिम, बीमा, स्वास्थ्य, कानूनी सहयोग र सामाजिक सुरक्षा सुनिश्चित गर्न प्रस्ताव तयार गरी कार्यान्वयन गर्न लाग्ने उल्लेख गर्नुभयो ।
यसैगरी, हिमाल आरोहणका क्रममा दिवंगत श्रमिकका परिवारका लागि विशेष पेन्सन, अक्षयकोष, छात्रवृत्ति, व्यावसायिक तालिम र आयस्रोतमुखी सीप विकासको कार्यक्रम लागू गर्न पहल गरिने बताउनुभयो ।
पर्वतारोहण तालिम प्रतिष्ठान र अनुसन्धान केन्द्र स्थापना गरिने, मनाङ पर्वतारोहण तालिम विद्यालय, अन्नपूर्ण उद्धार केन्द्र र ककनी अन्तर्राष्ट्रिय पर्वतारोहण स्मृति पार्कको स्तरोन्नति गरिने बताइएको छ ।
यस्तै, अन्य हिमाली क्षेत्रमा नयाँ तालिम तथा उद्धार केन्द्र स्थापना गर्न पहल गरिने, महिला पर्वतारोहण पहल, युवाका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति र विशेष सीप विकास कार्यक्रम सञ्चालन गरिने, प्रदेश र स्थानीय सरकार तथा स्थानीय सरोकारवालासँग सहकार्य गरेर पूर्वाधार विकास र तालिम कार्यक्रम सञ्चालन गरिने गुरुङले बताउनुभयो ।
उहाँले नेपालका हिमाललाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्दै प्रचार–प्रसार गर्ने र वार्षिक रुपमा अन्तर्राष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने बताउनुभयो । गुरुङ समूहको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्धितीय उपाध्यक्षमा धनबहादुर गुरुङ र महासचिवमा विमलकुमार नहर्कीले उम्मेदवारी दिनुभएको छ । यसैगरी, सचिवमा डिमा दिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी दिनुभएको हो ।
सदस्यमा पुस्कर शाह, बलबहादुर सुयल, माधवप्रसाद पाण्डे, हरिगोपाल प्रधान, सुदांश लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा, पासाङ शेर्पा र अशोककुमार तामाङले उम्मेदवारी दिनुभएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij