
भद्रपुर (झापा)। मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिना साउनमा अलैँची निर्यातमा उल्लेख्य वृद्धी भएको छ। कार्यालयका तथ्याङ्कअनुसार गत साउन महिनामा २१६ दशमलव १५ मेट्रिक टन अलैँची निर्यात भएको छ, जसको मूल्य रु ३२ करोड १७ लाख ६१ हजार रहेको छ। अघिल्लो आवको सोही अवधिसँग तुलना गर्दा अलैँची निर्यात ९९ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ।
तर, सो अवधिमा चिया निर्यातमा भने २६ दशमलव ८० प्रतिशतले गिरावट आएको छ। चालु आवमा साउनमा चियाको निर्यात रु ३७ करोड ४८ लाख २४ हजार रहेको छ भने अघिल्लो आवमा सोही अवधिमा रु ५१ करोड २२ लाख ७८ हजार बराबरको निर्यात भएको थियो।
निर्यात हुने अन्य मुख्य वस्तुहरूमा पनि विभिन्न परिवर्तन देखिएको छ। भेनियर सिट ३० दशमलव ४० प्रतिशत, छुर्पी ९२ प्रतिशत, धातुका अन्य अवशेष १०० प्रतिशत, काउली, ब्रोकाउली र बन्दाकोपी ८९ प्रतिशतले वृद्धि भएको छ। जबकि प्लाइउड ५४ दशमलव १० प्रतिशत, अदुवा ५७ दशमलव ४० प्रतिशत र अम्रिसो ० दशमलव ६० प्रतिशतले निर्यातमा कमी आएको छ।
मेची भन्सार कार्यालयका अनुसार साउन महिनामा कुल रु ३ अर्ब ६९ करोड ४० लाख २३ हजारको मालवस्तु निर्यात भएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij