Logo

Aug 25 2025 | २०८२, भदौ ९गते

Aug 25 2025 | २०८२, भदौ ९गते

images
पशुपतिनाथ मन्दिरमा तीजको तयारी

पशुपतिनाथको दर्शन हरेक दुई सेकेन्डमा आठ जनाले गर्न पाउने र गर्मी चर्को भए शितल पारिने व्यवस्था

पशुपतिनाथको दर्शन हरेक दुई सेकेन्डमा आठ जनाले गर्न पाउने र गर्मी चर्को भए शितल पारिने व्यवस्था

  • काठमाडौँ । नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा आउने व्रतालु र तीर्थालु भक्तजनका लागि विशेष व्यवस्था मिलाइएको छ । पशुपति विकास कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले यस्तो बताएका हुन् । उनका अनुसार  हरेक दुई सेकेन्डमा आठ जनाले पशुपतिनाथको दर्शन गर्नपाउने व्यवस्था मिलाइएको छ । साथै पशुपतिमा व्रतालु र तीर्थालुहरूलाई खप्न नसक्ने गर्मी भएको बेला त्यस क्षेत्रको वातावरण चिसो पार्न वाष्पीकरण विधिको उपयोग गरिने भएको छ । जोशीका अनुसार यो पटक व्रतालु र तीर्थालुहरूको सहजतलाई ध्यान दिएर वाष्पीकरण विधिको परीक्षण गर्न लागिएको हो । यसले अपेक्षित परिणाम दिए यसको निरन्तरता दिइने छ ।

    पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालु महिलाका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ ।

    p.jpg

    पशुपति क्षेत्रमा तीजको तयारीका बारेमा जानकारी दिन कोषले आइतबार  पत्रकार सम्मेलन गरी कोषका निमित्त सदस्यसचिव जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एकदेखि डेढ घण्टाभित्र दर्शन गरेर फर्की सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए ।  पशुपति क्षेत्रमा तीजको तयारी लगभग सकिएको जानकारी दिँदै उनले तीजमा पशुपतिको बाहिरी भागमा मात्र स्वयंसेवक खटाइने बताए ।

     
    यसैगरी कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले लाइनमा बस्न उचित व्यवस्था मिलाइएको जनाए । उनका अनुसार  मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिने छ ।  कोषका संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख अरुणकुमार श्रेष्ठले तीजका अवसरमा पशुपति क्षेत्रमा समाचार सङ्कलन गर्न आउने पत्रकारका लागि सूचना विभाग र सम्बन्धित सञ्चारगृहकै परिचयपत्रले मन्दिरको मुख्य क्षेत्रसम्म जान दिइने बताए  । तीजका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, ट्राफिक एवं पार्किङ व्यवस्था, स्वास्थ्य सेवा, सरसफाइ तथा जुत्ता–चप्पल कक्षको व्यवस्थापन एवं सञ्चालन गरिने कोषका सूचना अधिकारी अनिता भट्टले बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij