
काठमाडौँ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत साउन १ गतेदेखि अडलट अर्डर देखिने व्यवस्था लागू गरेसँगै शेयर बजारको कारोबार एक महिनामै दोब्बरले बढेको छ।
नेप्सेले सार्वजनिक गरेको साउन महिनाको रिपोर्टअनुसार, २१ लाख १ हजार २९३ कित्ता शेयर खरिद–बिक्री भई ७१ करोड ४४ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। जुन असार महिनाको तुलनामा ६४.०८ प्रतिशत बढी हो। असारमा ११ लाख ४४ हजार ३५४ कित्ता शेयर ४३ करोड ५४ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि पनि जेठ महिनाको तुलनामा असारमा कारोबार बढेको थियो तर ३१.१८ प्रतिशत मात्र वृद्धि भएको थियो। जबकि, साउनमा अडलट कारोबार ११५.२४ प्रतिशतले बढ्दै दोब्बरभन्दा बढी भएको नेप्सेको तथ्यांकले देखाउँछ।
नेप्सेले साउनदेखि ट्रेड म्यानेजमेन्ट सिस्टम (TMS) मा राखिएको अर्डर आफ्नो वेबसाइटको मार्केट डेप्थमा देखाउने व्यवस्था गरेको हो। यद्यपि, टिएमएसमा राखिएको अर्डर एक मिनेट ढिला मात्र वेबसाइटमा देखिन्छ।
तर लगानीकर्ताहरूले भने अर्डर प्रत्यक्ष टिएमएसमै देखिने माग गरिरहेका छन्। नेप्सेले खर्च र प्रविधिगत जटिलताको कारण तत्काल टिएमएसमै देखाउन नसकिने बताएको छ।
लगानीकर्ता सन्तोष भट्टराईका अनुसार, “बजारलाई जति सरल र आधुनिक बनाउन सकिन्छ त्यति गर्न बजार सञ्चालकको कर्तव्य हो। खर्चकै कारण वास्तविक समयमै अर्डर नदेखिनु लाजमर्दो विषय हो।”
नेप्से अनुसार, कुनै पनि शेयर फेस भ्यालुको आधारमा दुई प्रकारका लट हुन्छन् – बोर्ड लट र अडलट।
फेस भ्यालु १० रुपैयाँ भएको शेयरमा १०० कित्ता = बोर्ड लट, १०० भन्दा कम = अडलट।
फेस भ्यालु १०० रुपैयाँ भएको शेयरमा १० कित्ता = बोर्ड लट, १० भन्दा कम = अडलट।
फेस भ्यालु १००० रुपैयाँ भएको शेयरमा १ कित्ता = बोर्ड लट, १ भन्दा कम = अडलट।
पहिले अडलट कारोबार शुक्रबार मात्र हुने गरे पनि, अनलाइन कारोबार सुरु भएपछि नियमित समयमा नै गर्न सकिने व्यवस्था भएको छ। तर, अडलट कारोबारले सूचक (Index) मा कुनै प्रभाव पार्दैन।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij