
काठमाडौँ।केही वर्षअघिसम्म साना–ठूला अधिकांश भुक्तानी नगदमै हुने गर्थे । तर अहिले भने इलेक्ट्रोनिक भुक्तानी प्रणालीको प्रयोग तीव्र गतिमा बढ्दै, मुलुक क्यासलेस अर्थतन्त्रतर्फ अघि बढिरहेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको वार्षिक विवरण अनुसार गत आर्थिक वर्षमा मात्रै एक अर्ब ८४ करोडभन्दा बढी इलेक्ट्रोनिक ट्रान्जेक्सन भएका छन् । यसरी भएका भुक्तानीमार्फत ९८४ खर्ब रुपैयाँभन्दा बढीको लेनदेन भएको देखिन्छ । हाल नेपालमा १६ प्रकारका इलेक्ट्रोनिक भुक्तानी प्रणाली सञ्चालनमा रहेका छन् ।
यसमा पनि सबैभन्दा तीव्र वृद्धि क्युआर (QR) भुक्तानी मा देखिएको छ । आर्थिक वर्ष २०७६/७७ देखि ८१/८२ सम्मको विश्लेषणअनुसार, क्युआरको वार्षिक वृद्धि दर रकमको आधारमा १६२.१८ प्रतिशत र ट्रान्जेक्सन संख्याको आधारमा १७४.२५ प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्षमा मात्रै ३१ करोड ५७ लाख क्युआर ट्रान्जेक्सनमार्फत ९ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको तथ्याङ्क छ । पाँच वर्षअघिको तुलनामा यो ४७ गुणा बढी हो । त्यतिबेला क्युआरमार्फत जम्मा २० अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।
तुलना गर्दा—पाँच वर्षअघि प्रतिमिनेट तीनवटा क्युआर भुक्तानी हुने गरेकोमा अहिले प्रत्येक सेकेण्ड १० वटा भुक्तानी हुन थालेका छन् ।
यसअघि क्युआरमार्फत हुने भुक्तानी नेपालभित्र मात्र सीमित रहेकोमा अहिले भने अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तार हुन थालेको छ । गत वर्ष मात्र नेपाली इलेक्ट्रोनिक पेमेन्ट प्रणाली प्रयोग गरेर अन्तर्राष्ट्रिय भुक्तानीमा २ अर्ब ६६ करोड रुपैयाँ कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
यसबाहेक, प्रिपेड कार्ड र मोबाइल बैंकिङ को प्रयोग पनि उल्लेख्य रूपमा बढेको छ । प्रिपेड कार्डको वार्षिक ग्रोथ रेट रकमको आधारमा ९५.८५ प्रतिशत र मोबाइल बैंकिङको वृद्धि दर ८१.७४ प्रतिशत पुगेको छ । खासगरी वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने संख्यामा वृद्धि भएकोले प्रिपेड कार्ड प्रयोग बढेको देखिएको हो ।
तर सबै क्षेत्रको वृद्धि समान छैन । इलेक्ट्रोनिक चेक क्लियरिङ (ECC) को प्रयोग भने घट्दो क्रममा छ । नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित यस प्रणालीलाई बिस्तारै क्युआर र अन्य डिजिटल भुक्तानीले प्रतिस्थापन गर्दै लगेको देखिन्छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij