Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

आइजिन विवादले जलविद्युत क्षेत्रको शेयर कारोबारमा असर, लगानीकर्ताको आकर्षण घट्दै

आइजिन विवादले जलविद्युत क्षेत्रको शेयर कारोबारमा असर, लगानीकर्ताको आकर्षण घट्दै

  • काठमाण्डाै । ‘आइजिन’ (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर)को विवादले दोस्रो बजारमा जलविद्युत क्षेत्रको शेयर कारोबारमा गम्भीर प्रभाव पारेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार साउन महिनामा जलविद्युत क्षेत्रको शेयर कारोबार मात्र एक खर्ब ६ अर्ब रुपैयाँ भएको छ, जुन असार महिनाको भन्दा ३.१५ प्रतिशत कम हो।

    साउन महिनामा कुल दुई खर्ब ८९ अर्ब रुपैयाँको शेयर कारोबार हुँदा जलविद्युत क्षेत्रको हिस्सा ३६.७२ प्रतिशत मात्र रह्यो। तुलनात्मक रूपमा असारमा यो हिस्सा ५१.७२ प्रतिशत थियो। वैशाख महिनामा यो प्रतिशत ५५ भन्दा बढी थियो। यसरी, जेठदेखि बिस्तारै घट्दै आएको कारोबार साउनमा अझै घटेको छ। भदौमा भने कुल कारोबारमा जलविद्युत क्षेत्रको हिस्सा ३० प्रतिशत मुनि झरेको छ।

    विशेषज्ञ र ब्रोकरहरूका अनुसार, जलविद्युत क्षेत्रमा लगानीकर्ताको आकर्षण घट्नुको मुख्य कारण आइजिन नम्बर विवाद र १५ मिनेटको औसत मूल्यलाई अन्तिम मूल्य मान्ने नयाँ व्यवस्था हो। जेठदेखि सुरु भएको विवादले ठूला संस्थागत लगानीकर्तालाई पनि असर पारेको छ, जसले आम सर्वसाधारण लगानीकर्तामा डर उत्पन्न गराएको छ।

    साथै, कम्पनी अपरेटरहरूले अन्तिम समयमा मूल्य नियन्त्रण गर्न कठिन भएकोले पनि कारोबार घटेको छ। हाल सीडीएससीले तयार पारेको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’ अन्तर्गत संस्थापक र साधारण समूहका शेयरलाई फरक–फरक आइजिन दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यस निर्देशिका स्वीकृत नभएसम्म लगानीकर्ता अन्योलमा रहेकाले समग्र बजारमा कारोबारमा कमी आएको देखिन्छ।

    विशेषज्ञहरूले भने, “आइजिन विवाद समाधान नभएसम्म जलविद्युत क्षेत्रको शेयर कारोबारमा पुनः आकर्षण फर्किन गाह्रो हुने छ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij