
काठमाडौँ । आन्दोलतरत दुग्ध उत्पादक कृषकहरूले सरकारसँग एक सम्झौता गरी आन्दोलनका कार्यक्रम स्थगन गरेका छन् ।आन्दोलनरत दुध उत्पादक किसानहरूले भाद्र १९ गतेदेखिको घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।
केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालले दुग्ध उत्पादक कृषकहरुको दुग्ध बक्यौता भुक्तानीको माग सहित २०८२ भाद्र १९ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा भएबमोजिम केन्द्रीय दुग्ध सहकारी संघ, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसन बीच पटक पटक भएको छलफलबाट आन्दोलन स्थगन गरिएको छ ।
छलफलबाट प्रस्तुत गरिएका मागहरुमा सहमति गरी दुग्ध विकास संस्थान, डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसन अन्तर्गत गरिने निर्णय भए बमोजिमको आन्दोलन कार्यक्रम हाललाई स्थगन गरिएको ब्यहोरा सम्पूर्ण कृषकहरु, दुग्ध उत्पादक सहकारी संस्थाहरु, जिल्ला दुग्ध उत्पादक सहकारी संघहरु र सम्पूर्ण सरोकारवाला निकायहरुलाई जानकारी गराउँदै एक विज्ञप्ति जारी गरिएको छ ।
दुग्ध सहकारी संघका अध्यक्ष अमर बहादुर कुँवर, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुंगाना बीच आन्दोलन स्थगन गर्न भएको सम्झौता भएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा जनाइए अनुसार दुग्ध उत्पादक कृषकहरुलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार मसान्त सम्मको २०८२ आश्विन ५ गते भित्र गर्ने र श्रावण मसान्त सम्मको बाँकी बक्यौता रकम २०८२ आश्विन ३० गते भित्र गरी भाद्र मसान्त सम्मको बाँकी बक्यौता रकम कार्तिक मसान्तसम्म भुक्तानी गरी त्यस उप्रान्त नियमित रुपमा भुक्तानी गर्दै जाने र नियमित भुक्तानी गर्ने उद्योगीले सोही बमोजिम गर्ने , हाल दुग्ध उत्पादक सहकारी संघ÷संस्थहरुबाट लिइरहेको दूधको परिमाण नघटाई निरन्तर दूध लिनेदिने , नेपाल सरकारले तोकेको कृषकको दूधको न्युनतम खरिद मूल्यमा देशैभरका उद्योगहरुबाट दूध खरिद गर्ने, गराउने, . एसएमपि तथा बटर मौज्दातको विवरण एकमुष्ठ रुपमा उल्लेख गरी सम्झौताको मितिले १० दिन भित्र यस केन्द्रीय दुग्ध सहकारी संघमा पठाउने, उद्योगीले वार्षिक के कति दूध संकलन गरी कन्भर्सन गरेकाछन् सोको विवरण उल्लेख गरी एकमुष्ठ रुपमा राख्नुपर्नेछ , सम्झौता बमोजिम भुक्तानी नगर्ने उद्योगी सदस्यहरुको हकमा डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसन साथै दुग्ध विकास संस्थान जवाफदेही हुने जनाइएको छ ।
यसैगरी विज्ञप्तिमा देश दूध उत्पादनमा आत्मनिर्भर भई दिनानुदिन दूधको उत्पादन बढ्दै गईरहेका कारण केही वर्ष अघिसम्म आन्तरिक खपत पूर्ति गर्न अबौँको दुग्धजन्य पदार्थहरु जस्तै धुलो दूध, बटर, आदि विदेशबाट आयात हुदै आएकोमा हाल यि दुग्धजन्य पदार्थहरु स्वदेशमै उत्पादन भई आयात प्रतिस्थापन समेत भै रहेको जनाइएको छ । विज्ञप्तिमा जनाइए अनुसार कोरना माहामारी पछि बजारमा आएको मन्दी एवं ठूलो युवा जनशक्ति विदेश पलायनहुनु जस्ता कारणले दुग्धजन्य पदार्थहरुको खपत हुननसक्दा कृषक स्तरमा मिल्क होलिडे हुन नदिन देशैभर संचालनमा आएका ७ ओटै धुलो दूध कारखानामा लगि सोबाट धुलो र बटर रुपान्तरण गर्दै आउनु परका कारण अहिले डेरी उद्योगहरुमा अबौँको दुग्ध जन्यपदार्थहरु स्टक रहन गएकाले विगत केही समयदेखि दुग्ध विकास संस्थान लयायतका नीजि उद्योगहरुको नियमित भुक्तानी चक्र बिग्रिँदा दुग्ध उत्पादक कृषक एवं उद्योगहरुले समस्या भोग्दै आउनु परेको छ ।
साथै, विगत केही समयदेखि डेरी उद्योगहरुमा वर्षभरिलाई आन्तरिक खपत भन्दा धेरै नै धुलो दूध, बटर मौज्दात रहकेकाले आगामी फ्लस सिजनमा मिल्क होलिडे हुन नदिन निम्न अनुसारका समस्याहरु सम्बोधन गर्न यस डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएसन र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लि नेपाल जोडदार आग्रह गरेको छ ।
जस अनुसार बजारको माग भन्दा बढी दूधको व्यवस्थापन गरी झोल दूधबाट धुलो दूध र मख्खन बनाउने दैनिक १०,००० लि वा सो भन्दा बढी दूध संकलन गर्ने उद्योगहरुको चालु पूँजीको अभाव भुक्तानी चक्र बिग्रन गएकाले बजारको माग भन्दा बढी दूध व्यवस्थापन गर्ने उद्योगलाई प्रति लि. रु १०। सम्म अनुदान माग गर्ने , आयात प्रतिवन्ध हुँदा पनि अवैध रुपमा सिमापारीबाट चोरी पैठारी भै आएका दुग्धजन्य पदार्थहरु जस्तै डेरी ह्वाइटनर, टेवुल बटर, स्किम मिल्क पाउडरहरु ठूला ठूला व्यापारिक कम्पेल्कस्हरुमा छ्याप छ्याप्ती बिक्री वितरण भई रहेकाले अवैध रुपमा भित्रिने दुग्धजन्य पदार्थको ओसार पसार, बिक्री वितरण नियन्त्रण गर्न माग गर्ने , हाल बजारमा घिउ जस्तै देखिने ढान्स फ्याट बढी भएको वेकरी सर्टेनिङ्गलाई गाई भैसीको घिउको रुपमा बिक्री वितरण भईरहेकोले नियन्त्रण गरि चिल्लोजन्य खाद्य वस्तु उपयोग गर्दा स्वदेशी मख्खन तथा घिउलाई प्राथामिकता दिने , संगठित क्षेत्रबाट उत्पादन भई आफ्नो ब्राण्ड नेम र लेवुल राखी बिक्री वितरण गर्ने उद्योगको राजस्व संकलनमा समेत महत्वपूर्ण योगदान हुने भएकाको दूध तथा दुग्धजन्य पदार्थहरुको खपत अभिवृद्धिमा प्रचार प्रसार गर्ने जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij