Logo

Sep 04 2025 | २०८२, भदौ १९गते

Sep 04 2025 | २०८२, भदौ १९गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ १८ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ १८ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ १८ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू....

    ओमस्टोन होटेल्स र सिटिजन्स क्यापिटलबीच आईपीओ बिक्री प्रबन्धक सम्झौता

    काठमाडौं । ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट) र सिटिजन्स क्यापिटल लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडका प्रबन्ध निर्देशक रमेशकुमार हमाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापछि सिटिजन्स क्यापिटलले ओमस्टोन होटेल्स लिमिटेडको प्राथमिक शेयर सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । सम्झौता कार्यक्रममा संस्थापक पक्षका प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको विशेष उपस्थिती रहेको थियो । सन् २०२३ को चौथो त्रैमासिकदेखि सञ्चालनमा आएको दुसित थानी हिमालयन रिसोर्ट काभ्रेपलाञ्चोकको धुलिखेलस्थित पात्लेखेतमा रहेको छ । अन्तर्राष्ट्रिय ब्रान्डको संरचना र प्रविधि मापदण्डमा बनेको यो रिसोर्टले हिमालय र उपत्यकाको मनोरम दृश्यका साथै शान्त र रमणीय वातावरणमा सम्मेलन, सेमिनार तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि आकर्षक गन्तव्य बनेको छ ।

    बचत तथा ऋण सहकारी संस्थाहरूलाई साधारण सभाको उद्घाटन सत्रमा फजुल खर्च नगर्न प्राधिकरणको निर्देशन

    काठमाडौँ । सहकारी संस्थाहरूलाई साधारण सभाको उद्घाटन सत्रमा खर्च नगर्न निर्देशन दिइएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरूका लागि ८ बुँदे निर्देशन जारी गरेको हो । सहकारी प्राधिकरणले  बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारण सभा सञ्चालनमा कडाइ गर्न ८ बुँदे निर्देशन जारी गरेको छ । 

    साधारण सभामा गैर सदस्य व्यक्ति वा पदाधिकारीलाई आमन्त्रण गरी उद्घाटन सत्र, आसन ग्रहण वा अतिथिका मन्तव्य जस्ता औपचारिक कार्यक्रममा समय व्यतित नगरी सिधै साधारण सभाको छलफल एजेन्डामा प्रवेश गर्नुपर्ने पनि निर्देशनमा जनाइएको छ । यसैगरी  बचतकर्ताको हितलाई मध्यनजर गरी संस्थामा मितव्ययिता कायम गर्न साधारण सभामा उद्घाटन , अतिथि सत्कार, यातायात खर्च, सहभागी भत्ता, अतिथि उपहार, भोज भतेर (आवश्यकताअनुसार सदस्यहरूको सामान्य खाजा खाना बाहेक) जस्ता क्रियाकलापमा फजुल खर्च नगराउन प्राधिकरणको  निर्देशनमा जनाइएको छ ।

    एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट सुविधा उपलब्ध

    काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी  अर्जुन राज खनियाले एक विज्ञप्ति मार्फत् जनाएका छन् ।

    गोंगबुबाट बरामद सवा चार करोड नगद,  ९ किलो  बढी सुन र गरगहनासहित विनोदकुमार श्रेष्ठलाई राजस्व अनुसन्धान विभागमा पठाइँदै

    काठमाडौँ । गोंगबुबाट बरामद सवा चार करोड नगद,  ९ किलो  बढी सुन र गरगहनासहित विनोदकुमार श्रेष्ठलाई राजस्व अनुसन्धान विभागमा पठाउन लागिएको छ । प्रहरीले राजस्व अनुसन्धान विभागमा थप अनुसन्धान र कारबाहीका लागि सवा चार करोड नगद, ९ किलो बढी सुन र गरगहना  पठाउन लागेको हो ।

    काठमाडौंको गोंगबु क्षेत्रमा ७६ वर्षीय विनोदकुमार श्रेष्ठको गोंगबुस्थित तीनतले घरमा मंगलबार दिउँसो प्रहरी पुगेको थियो। विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेर  त्यहाँबाट चार करोड २५ लाख ५० हजार रूपैयाँ बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी सार्वजनिक गरेका छन् । ठूलो रकम बरामद भएपछि प्रहरीले बैंकबाट नगद गन्ने मेसिन ल्याएको थियो।

    पुनर्बीमा शुल्क तथा बीमा दाबी रकम लगायतका भुक्तानी गर्न प्राधिकरणको सिफारिस अनिवार्य गरियो

    काठमाडौँ । पुनर्बीमा शुल्क तथा बीमा दाबी रकम, लाभांश फिर्ता, परामर्श सेवा लिएबापतको रकम भुक्तानी गर्न बीमा प्राधिकरणको सिफारिस लिएरमात्र गर्नुपर्ने व्यवस्था गरिएको छ । 

    अब बीमकले विदेशी बीमक वा पुनर्बीमक वा नेपालमा रहेका बीमकमा लगानी गर्ने विदेशी लगानीकर्ता वा बीमकलाई सेवाप्रदान गर्ने विदेशी सेवाप्रदायक संस्थालाई सीधै वा बीमा दलालको संलग्नतामा गरिएको पुनर्बीमासँग सम्बन्धित पुनर्बीमा शुल्क तथा बीमा दाबी रकम, लाभांश फिर्ता, परामर्श सेवा लिएबापतको रकम भुक्तानी गर्न प्राधिकरणसँग  सिफारिस लिनुपर्ने भएको हो ।

    नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आउन दुई दिन बाँकी, २ हजार ३४९ जना सहभागी हुने

    काठमाडौं। नेकपा एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ। केन्द्रीय कार्यालयका अनुसार महाधिवेशनको तयारी करिब पूरा भइसकेको छ।

    पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनका प्रतिनिधी र आयोजकको नाम तथा संख्या निश्चित भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार, “दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधी नै वर्तमान विधान महाधिवेशनका प्रतिनिधी हुन्। मृत्यु, पार्टी छोड्ने वा कारबाही भएका व्यक्तिको नाम हटाइएको छ। तर रिक्त स्थानमा नयाँ प्रतिनिधी छनोट गर्ने व्यवस्था छैन। दशौं महाधिवेशनपछि मनोनित वा अन्य पार्टीबाट समायोजित केन्द्रीय सदस्यहरू आयोजकको हैसियतमा मात्र रहनेछन्।”

    महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधी र २ हजार ३ सय ४९ जना सहभागी हुनेछन्। केन्द्रीय कार्यालयले सबै प्रतिनिधीलाई एसएमएस मार्फत निमन्त्रणा पठाइसकेको छ। केही प्रतिनिधीको मोबाइल नम्बर अद्यावधिक नभएकोले सम्बद्ध जिल्ला कमिटीलाई जानकारी दिन निर्देशन दिइएको छ।

    नेप्से सूचक मङ्गलवार १९.८९ अंकले घट्दै २७४१.९७ मा, चार वर्षको तथ्याङ्कमा घट्ने दिन बढि

    काठमाडौं।मङ्गलवार शेयर बजार मापक नेप्से सूचक १९.८९ अंकले घटेर २७४१.९७ अंकमा ओर्लिएको छ। गत बिहीवारदेखि लगातार घटिरहेको सूचक भदौ लागे यता मात्रै १३ कारोबार दिनमध्ये ७ दिनमा तल झरेको छ भने ६ दिन बढेको छ।

    नेप्सेले दैनिक कारोबारमा हुने उतारचढावलाई संकलन गरी समग्र बजारको स्थिति सूचकमार्फत देखाउने गर्छ। धेरै कम्पनीको मूल्य बढे सूचक बढ्ने र धेरै घटे सूचक घट्ने हुँदा लगानीकर्ताले सूचकलाई आधार बनाएर बजारको अवस्था मूल्याङ्कन गर्छन्।

    सन् २०२२ देखि २०२५ सम्मको अध्ययनले देखाएको छ कि बढ्ने दिनभन्दा घट्ने दिन बढी भए पनि अन्तर खासै ठूलो छैन। २०२२ मा २४२ कारोबार दिनमध्ये १४० दिन घट्दा १०२ दिन मात्रै बढेको थियो। २०२३ मा १२२ दिन घटेर १०५ दिन बढ्यो भने २०२४ मा १२० दिन घट्दा ११२ दिन बढ्यो। यस्तै, २०२५ लागे यता गत बिहीवारसम्म १५८ कारोबार दिनमा ७८ दिन घट्दा ८० दिन बढेको छ। प्रतिशतमा हेर्दा ४९.३७ प्रतिशत घट्दा ५०.६३ प्रतिशत बढेको देखिन्छ।

    सांसद नेम्बाङले इम्बोस्ड नम्बर प्लेटको तत्काल कार्यान्वयन फिर्ता गर्न सरकारसँग माग

    काठमाडौँ ।प्रतिनिधि सभाका सांसद सुहाङ नेम्बाङले सरकारले हतारमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने नियम ल्याएकोमा प्रश्न उठाउँदै, यसले नागरिकमा थप भार मात्र सिर्जना गरेको बताउनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा भाग लिँदै नेम्बाङले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय उठाउन चाहेको स्पष्ट पार्नुभयो।

    सांसद नेम्बाङले भन्नुभयो, “सवारी साधन भएका नागरिकमा एकपछि अर्को भार परेको छ। गाडी किन्ना उच्च कर तिर्नुपर्छ, प्रत्येक वर्ष अनिवार्य बीमा, सडक कर भर्न लामो लाइन बस्नुपर्छ, र लाइसेन्स बनाउँदा फारम, परीक्षा र ट्रायलमा लामो लाइनको सामना गर्नु पर्छ। यस्तो अवस्थामा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्नु जनतालाई सुविधा दिनु भन्दा बढी सास्ती बढाउने काम हो।”

    शेयर बजार : नेप्से परिसूचक १५.५९ अंकले घटेर २,७२६.३७ बिन्दुमा, ४ अर्ब ७२ करोड बढीको कारोबार

    काठमाडौँ । आज बुधबार शेयर बजारमा नेप्से परिसूचकसँग कारोबार पनि झरेको छ । बुधबार १५.५९  बिन्दुको गिरावट भई २,७२६.३७ बिन्दुमा नेप्से झरिरहेका बेला कुल कारोबार करिब एक अर्बले घटेर४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८सय ६० रुपैयाँ ९८ पैसा बराबर भएको छ । मंगलबार १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयरको खरिदबिक्री भएको नेप्सेले जनाएको छ । गलबार १७.७६ बिन्दुको गिरावट भई २७४४.०९ बिन्दुमा नेप्से झरिरहेका बेला कुल कारोबार करिब एक अर्बले घटेर ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८सय १२ रुपैयाँ ७१ पैसा बराबर भएको थियो ।सोमबार नेप्से परिसूचक १२.९१ले बढेर जाँदा २७६२.७४ बिन्दुमा उक्लिएको थियो । सोमबार एक करोड १४ लाख ४० हजार ८ सय ४४ कित्ता शेयरको खरिद बिक्री भइ कारोबार ५ अर्ब १० करोड ५७ लाख ४७ हजार ६सय ५७ रुपैया ६५ पैसा बराबर भएको थियो । यस्तै आइतबार १ करोड ४८ दाख ५ हजार ५ सय ६९ कित्ता शेयरको खरिद बिक्री भइ ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३ सय ७९ रुपैयाँ १० पैसाको कारोबार भएको थियो । आइतबार नेप्सेमा ३०.६९को गिरावट भइ नेप्से २७५०.३०मा झरेको थियो ।

    XPENG  २०२५ भित्र ६० देशमा विस्तार,नेपालको विद्युतीय सवारी बजारमा

    काठमाडौं, नेपाल – विश्वव्यापी ईभी (EV) नवप्रवर्तक XPENG ले आफ्नो अन्तर्राष्ट्रिय विस्तार रणनीतिलाई अझ गति दिँदै यस वर्षकै अन्त्यसम्म ६० देशमा आफ्नो उपस्थिति पुर्याउने र ३०० भन्दा बढी सेवा केन्द्रहरू स्थापना गर्ने लक्ष्य अघि सारेको छ।

    यो महत्वाकांक्षी योजनाले ह्एभ्ल्न् को मूल दृष्टिकोण–‘विश्वभर प्रिमियम विद्युतीय मोबिलिटी सहज रूपमा उपलब्ध गराउने’–लाई अझ मजबुत ढंगले प्रस्तुत गर्दछ, जहाँ नेपाललाई विशेष प्राथमिकतामा राखिएको छ।सन् २०१४ मा स्थापना भएको ह्एभ्ल्न् ले अत्याधुनिक प्रविधि, तीव्र चार्जिङ सुविधा र स्मार्ट ड्राइभिङ प्रणालीका कारण छोटो समयमा नै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाएको छ।

    एसवाई प्यानल नेपाललाई ४० प्रतिशत आईपीओ निष्कासनको अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले एसवाई प्यानल नेपाल लिमिटेडलाई सर्वसाधारणमा ४० प्रतिशत आईपीओ निष्कासन गर्न अनुमति प्रदान गरेको छ । भदौ १७ गते प्राप्त स्वीकृतिपछि कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५२ लाख ३२ हजार ५४८ कित्ता, कुल ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आईपीओ सार्वजनिक गर्नेछ । हाल कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत शेयर स्वामित्व रहेको छ । ७८ करोड ४८ लाख ८२ हजार ३०० रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँटपछि चुक्तापूँजी बढेर १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १०० रुपैयाँ पुग्नेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले वहन गर्नेछ ।

    बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले ५० अर्ब खिच्दै

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट   ५० अर्ब रुपैयाँ  तान्न लागेको छ ।केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ  तान्न लागेको हो । २५ दिने निक्षेप संकलन उपकरणको असोज १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

    बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुनेछ । राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने छ ।

    दशैं–तिहार लक्षित सुपथ मूल्य पसल भदौ ३० देखि सञ्चालन हुने

    काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीको प्रमुख चाडपर्व दशैं, तिहार र छठ लक्षित सहुलियत पसल (सुपथ मूल्य पसल) भदौ ३० गतेदेखि देशभर सञ्चालन हुने भएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४९ पालिकाका १५१ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेशनले ४० स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो।

    हरेक वर्षझैं, खाद्य कम्पनी र साल्ट ट्रेडिङले संयुक्त रूपमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री–वितरण गर्ने प्रथा यस वर्ष पनि कायम राखिएको छ। यसअन्तर्गत उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा चाडपर्वका आवश्यक सामग्री खरिद गर्न सक्नेछन्।

    सुपथ मूल्य पसलमा नुन, चामल, तेलदेखि खसी–बोकासम्ममा छुटको व्यवस्था गरिएको छ। कम्पनीले सञ्चालन गर्ने पसलमा सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइनेछ। जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ, हरेक ब्रान्डका खानेतेल, आँटा र मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट उपलब्ध हुनेछ।

    बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट सम्पन्न

    काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि भदौ ३ गतेसम्म निष्कासनमा ल्याएको शतप्रतिशत हकप्रद शेयरको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले जेठ २१ गतेसम्म कायम शेयरधनीका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।

    तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका २८ हजार ७५५ जना आवेदकलाई ५१ लाख १९ हजार ७०७ कित्ता शेयर भदौ १७ गते बाँडफाँट गरिएको हो। बाँडफाँटमा नपरेको रकम भदौ १८ गतेदेखि सम्बन्धित आवेदकहरूको बैंक खातामा फिर्ता गरिने कम्पनीले जनाएको छ।

    यस चरणमा करिब २ लाख ३८ हजार ४४३ कित्ता हकप्रद शेयर वितरण हुन नसकेका कारण कम्पनीले ती शेयर लिलामीमार्फत बिक्री गर्नेछ। हाल कायम ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ चुक्ता पूँजीका आधारमा हकप्रद निष्कासन गरिएको हो। बाँकी सबै हकप्रद बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

    जोशी हाइड्रोपावरको ६५% हकप्रद शेयर खरीद गर्ने अन्तिम दिन भदौ १९

    काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि निष्कासनमा ल्याएको ६५ प्रतिशत हकप्रद शेयर खरीद गर्ने अन्तिम मिति आउँदो भदौ १९ गते, बिहीवार तोकिएको छ। कम्पनीले हाल कायम ३७ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजीको आधारमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो।

    यस प्रयोजनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार, असार ५ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र हकप्रद शेयर खरिदका लागि आवेदन दिन पाउनेछन्। हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। साथै, कम्पनीको कार्यालय, लक्ष्मी सनराइज बैंकको इलाम शाखा, सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, र मेरो शेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    सुनको मूल्य नयाँ कीर्तिमानमा, सुन तोलाको २ लाख ७ हजार पुग्यो

    काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा सुनको दरले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज (बुधबार) सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो। मंगलबार प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ हजार रुपैयाँले बढेको हो।

    यसैबीच, चाँदीको मूल्य भने अलिकति घटेको छ। प्रतितोला ५ रुपैयाँले घट्दै अहिले २ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    आरबिबि मर्चेन्ट बैंकिङ्गले ‘आरबिबि फोकस ४०’ सामूहिक लगानी कोषको १० करोड इकाई सार्वजनिक निष्काशनमा ल्यायो

    काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालन हुने सामूहिक लगानी कोष ‘आरबिबि फोकस ४०’ को इकाई आज (भदौ १८ गते)देखि सार्वजनिक निष्काशनमा ल्याएको छ। प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरका १० करोड इकाई बिक्री खुला गरिएको हो।

    यसमा न्यूनतम १ करोड ४० लाख इकाई (१४%) कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि सुरक्षित गरिएको छ भने न्यूनतम १० लाख इकाई (१%) योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि सुरक्षित छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ। निष्काशन छिटोमा भदौ २२ गते बन्द हुनेछ, तर सो अवधिभित्र पूर्ण बिक्री नभएमा असोज १ गतेसम्म लम्बिन सक्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij