Logo

Sep 16 2025 | २०८२, भदौ ३१गते

Sep 16 2025 | २०८२, भदौ ३१गते

images

पितृका नाममा गरिने श्राद्ध

पितृका नाममा गरिने श्राद्ध

  • पृष्ठभूमि
    हामी मानवहरू अवश्य माता-पिताबाट जन्मिएका ह्यौं। यसमा शङ्‌का गर्नुपर्ने ठाउँ नै छैन। जन्मेपछि पनि उहाँहरूकै असिमित प्यार, लालन पालनले हामी हुर्कन्छौं। हामीलाई पहिला माताले स्तनपान गराएर बिस्तारै पिताकासाथअन्य खानेपदार्थ, न्यानो- शीतलता, भोक-तिर्खा, निन्द्रा-आराम, दिशा- पिशाब, लुगा कपडा, शिक्षा-दीक्षा, विहे-दान, नाति-नातिनीको हर्काइ सारा काम सम्पन्न गरेर भएको सम्पत्ती समेत जगेर्ना गरेर उहाँहरूले मृत्युवरण गर्नु भएको हुन्छ। तिनै हाम्रा मृत्युवरण गर्ने माता-पिता, हजुरबा हजुरआमा, कुप्राबा कुप्रीआमा, मावलप‌ट्टिका हजुरबा हजुरमा र बुढा हजुर बा हजुरआमा एवम् स्वजनहरू सम्वन्धित सबैलाई मृत्युको तिथिमा आश्विन कृष्ण प्रतिपदादेखि आश्विन आमावस्यासम्मका पितृपक्षका दिनहरुमा गरिने सोह्रश्राद्ध, महालय श्राद्ध र पार्वण श्राद्ध पितृको मृत्यु भएको तिथिमा गरिने पितृ पक्षमा गरिने श्राद्ध हो। त्यसैगरेर पितृले कुन महिनाको कुन तिथिमा देहत्याग गनुभएको हो त्यो समयमा गरिने श्राद्धलाई एको‌द्दिष्ट श्राद्ध भनिएको हुन्छ ! श्राद्धका प्रकारका यसमा पछि बारेमा पनि चर्चा हुने नै छ।

    बास्तवमा के कुरा सत्य हो भने हामीलाई यो धरामा ल्याएर सबल, सफल बनाइदिने हाम्रा माता पितालाई सोह्रश्राद्धको समय पितृपक्ष र वार्षिक तिथिमा हामीले हाम्रो परम्परा अनुसार या आफ्नो मनले कसो गर्दा आफ्ना स्वर्गीय बाआमा लगायत स्वजनको सम्झना गरेको आफ्नो मनले ठहर्याउँछ, यति किन नगर्ने ! नगरिदा मन न हो एकान्तमा सम्झन्छ नि, मैले यति गरिन हो कि ! कस्तो पश्चाताप ! योबाट पनि मुक्तहुन हामीले आफ्ना पितृहरूलाई यथोचित श्रद्धा गर्ने पर्छ, श्राद्ध भनेको छोटकरीमा यही हो। पितृहरूमा श्रद्धा नै श्राद्ध हो साँच्चै भन्नेहो भने पितृ नै हाम्रा देवता हुन् । पितृको आशीष निश्चय नै हामीलाई लाग्नेछ। यो धार्मिक रूपले, साँस्कृतिक रूपले, संस्कारत रूपलै र सामाजिक रूपले पनि गर्नु पर्ने कर्तव्य रहेछ बाँचेकाहरूका ले।
    श्राद्धमा तीन भाग हुँदो रहेछ। पहिला पितृहरूका नामानुसार तर्पण, दोश्रोमा सिधा पितृ र ऋषिलाई र तेस्रोमा पिण्ड-बा, हजुरबा र कॅप्रीबा घरपट्टिका सपत्नी सहित तथा मावली पट्टिका पनि हजुरबा, कुप्रीबा र वृद्ध कुप्रीबाका सपत्नी सहित दिनु पर्यो। यो तर्पण र पिण्डमा मावलीपट्टि एकपुस्ता बढीलाई सपत्नी भनेको आमाहरू सहित दिनु पर्ने रहेछ।

    तर्पण दिदाका हाम्रा हतियार भनेका, जौ, तिल र कुश हुन् यसमा दूध, घिऊ, दही, मह, चिनी पनि मिसाइएको हुन्छ। यो एउटा पवित्र जल रहेछ। एउटा भनाई के रहेछ भने तामाको भाँडोमा खगौताबाट खगौतामा ओच्छ्‌याइएको कुशस्थ हुँदै तर्पण गरिदा विधिमिलेमा पितृसँग सम्वाद पनि हुन सक्ने र हाम्रो पहुँच पितृसँग पुग्न सक्ने कुरा विद्वत्वर्गहरू बताउँदा रहेछन्। यो पितृसँग वार्ताहने चरण पनि रहेछ तर यसमा अत्यन्तै अत्यन्तै शास्त्रोक्त विधान बमोजिम र कर्ता पनि असाध्यै नियम र आचरणमा रहनु पर्ने रहेछ। अर्को प्रसङ्ग नि हामीले तर्पण गर्ने खगौतो गैडाको खाग या छाला हुँनु पर्दो रहेछ भएसम्म। यो संचार साधनमा पनि प्रयोग हुन्छ रे। वा यसले हाम्रो आराधना हाम्रा पितृसम्म पुग्छ कि?


    श्राद्धलाई म पितृउत्सव पनि भन्न मनपराउँछु। किनकी यो दिन आफ्ना दिदी, बहिनी, छोरी, ज्वाइँ
    भिनाजु, भानाभाञ्जा, नाति, नातिनी, घरतिरका काका, बढीबा, काकी, बडीआमा पनि भेलाभइन्छ। सबैलाई एकछाक भोजन र दक्षिणा समेत दिएर तृप्त पारिन्छ। यसैबाट एक किसिमको खुसीको भाव आउँछ त्यही पितृ पनि खुसी हुन्छन्। सत्यभावले हामीले सम्झनु पर्दछ।
    शास्त्रहरूमा हाम्रो पन्द्रदिनको पितृको एक दिन हुँदो रहेछ त्यो हाम्रो वर्षमा पितृका १२ दिन हुने रहेछन्। हामी सोह्रवटा श्राद्ध गरेर पितृलाई तृप्त गर्ने रहेछौं।
    पितृहरू हाम्रा सादृश्य देवताहरू हुन्। हामी धेरै नदेखेका देवतालाई पनि विश्वास गरिरहेका छौं। विश्वाश गरेमा देवताले पनि हामीलाई रक्षा गर्नुभएको छ तर पितृदेवता भनेको हामीलाई जन्माउने हुर्काउने, बढाउने, पढाउने, धनसम्पती दिएर, असाध्यै माया गरेर अन्त्यमा पारलौकिक भएका देवताहरू हुन्। हामीलेदेखेका, सँगै बसेका, ख्वाएका, खाएका, हिडेका, रमाइलो गरेका देखेकाले सादृश्य देवता भनिएको हो। शास्त्रमा पनि मातृदेवो भव, पितृदेवो भव भनिएको छ। यसप्रकार ती हाम्रा पूर्वज अहिले हाम्रा देवता हुन्।
    श्राद्ध किन गर्नु पर्छ?
    अन्त्यकर्म श्राध्द प्रकाशमा-
    देवकार्यादपि सदा पितृकार्य विशिष्यते ।
    देवताभ्यो हि पूर्व पितृणामाप्यायनं वरम्।
    देवकार्यभन्दा पिपृकार्यको विशेषता बढी भएकोले देवकार्य भन्दा पितृकार्य पहिला गर्नु पर्छ। शास्त्रको यही कारणले होला हामी दसैं मान्नुभन्दा आगाडि सोह्रश्राद्धमा आफ्ना पितृहरूलाई तृप्त गरेरमात्र दसैंको सुरुवात घटस्थापनाबाट गछौँ। यो हाम्रो शास्त्रोक्त नियम हो। पितृ नभए हामी हुँदै हुँदैनौ। ती स्वर्गारोहण भए पनि उनीहरूको देन, हामी प्रतिको जिम्मेदारीलाई चटक्क कुन मनले विर्सन सकिन्छ र? त्यसैले उनीहरुको श्रद्धा गर्नु हाम्रो परम कर्तव्य हुन जान्छ ।
    श्रादद्यात् परतरं नान्यच्छ्रेयस्करमुदाहृतम् ।
    तस्मात् सर्व प्रयत्नेनश्राद्धमं कुर्याद् विचक्षणः
    श्राद्धभन्दा अर्को कल्याणकारी काम केही पनि हुँदैन। यसकारणले पनि यत्नपूर्वक श्राद्ध गर्नु पर्दछ ।
    एवम् विधानतः श्राद्धमं कुर्यात् स्वविभवोचितम्।
    आब्रह्मस्तम्बपर्यन्तम् जगत् प्रीणाति मानवः ।।
    श्राद्ध गरिनाले खाली आफ्नो तथा आफ्ना
    पितृहरुको मात्र कल्याण हुने होइन जो व्यक्ति आफ्नो गच्छेअनुसार श्राद्ध गर्छन् भने ती व्यक्तिले ब्रह्मादेखि
    वनस्पति तथा अन्य जीवहरूसम्मलाई तृप्त गर्दछन् ।
    योऽनेन विधिनांश्राद्धं कुर्याद वै शान्तमानसः ।
    व्यपेत्कल्पमसो नित्यम याति नावर्तते पुनः ।।
    जो व्यक्ति शान्त मनले विधिपूर्वक श्राद्ध गर्ने गर्दछ ऊ सम्पूर्ण पापबाट मुक्तभएर जन्म मृत्युको वन्धनबाट छुटकारा पाउँछ भन्ने शास्त्रीय मान्यता यी दृष्टान्तहरुबाट पाइन्छ भन्ने उल्लेख गरिएको छ।
    श्राद्धका प्रकारहरू
    पितृहरुको उ‌द्देश्य गरेर श्रद्धा साथ विधिपूर्वक गरिने कामलाई श्राद्ध भनिन्छ। श्रद्धा शब्दबाटै श्राद्ध शब्दको निष्पत्ति भएको हो। श्राद्धहरू नित्यम् नैमित्तिकमं काम्यं त्रिविधं श्राद्ध मुच्यते। अर्थात नित्य, नैमित्तिक, काम्यका भेदले श्राद्ध तीन किसिमका हुन्छन् ।

    (क) प्रतिदिन गरिने श्राद्धलाई नित्य श्राद्ध भनिन्छ। यसमा विश्वदेव हुँदैनन् र अशक्त अवस्थामा खाली जलप्रदानबाटै यो श्राद्ध गरिन्छ।
    (ख) एको‌द्दिष्ट श्राद्धलाई नैमित्तिक श्राद्ध भनिन्छ यसमा पनि विश्वदेव हुँदैनन्। यो कुनै पनि व्यक्तिको मृत्यु भएको तिथिमा वार्षिक रूपमा गरिन्छ।
    (ग) कुनै कामना पूरा गर्न गरिने श्राद्ध काम्य श्राद्ध हो। यी श्राद्ध मत्स्य पुराणमा उल्लिखित छन्। यी बाहेक पनि वृद्धिकाल या सन्तान जन्मदा या विवाहमा गरिने श्राद्धलाई वृ‌द्धिश्राद्ध (नान्दी श्राद्ध) पितृपक्ष, औसी अथवा पर्वको तिथिमा जुन सधैं विश्वदेव राखेर गरिन्छ त्यस्तोश्राद्धलाई पार्वण श्राद्ध भनिन्छ। तीर्थका उ‌द्देश्यले देशान्तर जाने समयमा गरिनेलाई श्राद्धलाई यात्रा श्राद्ध भनिन्छ। यस्तो श्राद्ध ध्यू‌द्वारा गरिन्छ। तीर्थमै पनि पुगेर गरिने श्राद्ध तीर्थश्राद्ध हो। यसरी अनेकौं ९६ किसिमका श्राद्धहरु हुने रहेछन्। मैले यहाँ प्रचलनमा आइरहेका श्राद्धबारे छोटकरीमा जानकारी गराएको मात्र हो। मान्छेले मान्छेको मात्र श्राद्ध गर्नु पर्ने रहेछ र अन्य प्राणीले श्राद्ध गर्दैनन् र गर्ने चेतना क्षमता र विधान पनि हुँदैन उनमा अस्तु ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij