
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज २८ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
बोतल र जारको पानीमा बढी शुल्क लिए कारबाही हुने, विभागले तोक्यो नयाँ मूल्य दर
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको छ । विभागले आज एक सूचना प्रकाशित गरीे दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लाष्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्कभन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने जनाएको हो ।
विभागले काठमाडौँ उपत्यकामा एक लिटर बोतलको पानी रु १६ र उपत्यका बाहिर रु २० निर्धारण गरेको छ । यस्तै, २० लिटर जारको पानीको काठमाडौँ उपत्यकाका लागि रु ४७ र उपत्यका बाहिरका लागि रु ६० निर्धारण गरिएको जनाएको छ । यसअघि पानी व्यवसायीले मनलाग्दी मूल्यमा बोतल तथा जारको पानी बिक्री गर्दै आएका थिए ।
चालु आर्थिक वर्षको दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिँदै ३३ प्रतिशत वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।
चालु आर्थिक वर्षको दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिँदै ३३ प्रतिशत वृद्धि
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२र८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत भदौ मसान्तसम्म विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई रू तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको हो ।
विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यकः मन्त्री घिसिङ
पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
विपद् जोखिम न्यूनीकरणका लागि अन्तरराष्ट्रिय दिवस—२०२५ का अवसरमा सोमबारदेखि यहाँ आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन समापन गर्दै आज उहाँले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष विपद्को सामना गरिरहनुपरेको भन्दै यसका लागि प्रभावकारी व्यवस्थापन र सूचना प्रणाली आवश्यक रहेको बताउनुभएको हो ।
नेपाल गरी तीन देशका व्यक्ति र व्यवसायीलाई भारुमा कर्जा दिन आरबीआईको व्यवस्था भारतीय राजपत्रमा आयो
काठमाडौँ । भारतले नेपालसहित तीन देशका व्यवसायी तथा नागरिकलाई भारतीय रुपैयाँमै ऋण दिने व्यवस्था कार्यान्वयनमा ल्याउन सूचना जारी गरेको छ । भारतको केन्द्रीय बैंक भारतीय रिजर्व बैंकले (आरबीआई) विदेशी मुद्रा व्यवस्थापन नियमावलीमा नयाँ संशोधन गर्दै नेपाल, भुटान र श्रीलंकाका व्यवसायीलाई ऋण दिने व्यवस्था सुरु गरेको जनाएको हो । भारतले यो व्यवस्थालाई आफ्नो राजपत्रमा पनि सार्वजनिक गरिसकेको छ ।
ललितपुर महानगरपालिकाद्वारा जुम्लाको चन्दननाथमा गणेश मन्दिर निर्माण
जुम्ला। ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक सम्पदा संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । ललितपुर महानगरको आर्थिक सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिका–५ मा पुरातात्विक शैलीमा निर्माण गरिएको गणेश मन्दिरको उद्घाटन गर्न जुम्ला आउनुभएका प्रमुख महर्जनले ललितपुर महानगरमा भएका मन्दिर जस्तै झल्को दिने गरी मन्दिर निर्माण गरिएको बताउनुभयो । चन्दननाथका पुराना सम्पदालाई संरक्षण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । चन्दननाथमा निर्माण गरिएको गणेश मन्दिरका लागि ललितपुर महानगरले रु ३५ लाख सहयोग गरेको प्रमुख महर्जनले जानकारी दिनुभयो ।
अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत
काठमाडौँ, २८ असोजः गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल रु १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरिएकामा रु १५ खर्ब १२ अर्ब ९८ करोड अर्थात् ८१ दशमलव ३३ प्रतिशत खर्च भएको छ । चालु खर्चमा रु ११ खर्ब ४० अर्ब ६७ करोड विनियोजन भएकामा रु नौ खर्ब ५६ अर्ब ३६ करोड अर्थात् ८३ दशमलव ८४ प्रतिशत खर्च भएको छ ।
मतदाता नामावलीमा नाम दर्ता गराउन युवामा उत्साह
मोरङ। आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि युवा पुस्ता मतदाता नामावलीमा नाम दर्ता गर्न उत्साहित देखिएका छन् । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनबाट प्रेरित भएका नयाँ मतदाताहरू आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका हुन् । सरकारले अध्यादेशमार्फत मतदाता नामावलीमा नामदर्ता गराउन समय थप गरेपछि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा युवाको उपस्थिति उल्लेख्य देखिएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले प्रारम्भिक निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरमा भेटिएका अधिकांश युवाले पुराना राजनीतिक दल र नेताहरूको कार्यशैलीप्रति वितृष्णा जागेको र अब नयाँ तथा सक्षम व्यक्तिलाई मतदान गर्न नाम दर्ता गराउन आएको बताएका छन् ।
तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन
चितवन।दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि पुनः सञ्चालनमा आएको छ । जेठ अन्तिम साताबाट बन्द रहेको उद्योगमा अहिले दूध आउन थालेपछि सञ्चालन ल्याइएको हो । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत असारमा दुई दिन मात्रै सञ्चालनमा आएर बन्द भएको उक्त उद्योग असोज पहिलो सातादेखि क्रमशः सञ्चालनमा आएको हो । अहिले दैनिक एक लाख लिटरसम्म दूध आउन थालेको छ ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाद्वारा अभिषेक सर्राफको गोदाममा छापा, दुई किलो बढी सुन र दश किलो बढी चाँदी बरामद
वीरगञ्ज (पर्सा) । राजस्व अनुसन्धान कार्यालय पथलैयाले गोदाममा मारेर ठुलो परिमाणमा सुन बरामद गरिएको छ । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा रहेको सूचनाका आधारमा सो परिमाणको सुन र चाँदी बरामद गरेको हो ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाद्वारा अभिषेक सर्राफको गोदाममा छापा, दुई किलो बढी सुन र दश किलो बढी चाँदी बरामद
वीरगञ्ज (पर्सा) । राजस्व अनुसन्धान कार्यालय पथलैयाले गोदाममा मारेर ठुलो परिमाणमा सुन बरामद गरिएको छ । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा रहेको सूचनाका आधारमा सो परिमाणको सुन र चाँदी बरामद गरेको हो ।
जेनजी आन्दोलनमा घाइते भएका देउवा पहिलो पटक सार्वजनिक
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी कार्यालयमा पुगेका छन् । जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते घाइते भएका देउवा त्यसपछि पहिलो पटक मंगलबार पार्टी कार्यालयमा सार्वजनिक भएका हुन् ।
काठमाडौँको भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो आजदेखि सुरु
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो आजदेखि सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालले उक्त एक्स्पोको आयोजना गरेको हो ।
२०८२ असोज २८ गते देखि कार्तिक १ गते सम्म (पाँच दिन) "तिहारको उत्सव, फूलको महोत्सव" भन्ने नाराका यो एक्सपो सुरु भएको हो ।
नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द
काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिनुभयो । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको समेत निगमले जनाएको छ ।
मंगलबार सुनको मूल्यमा ८ हजार १०० रुपैयाँ बढेर तोलाको २ लाख ४८ हजार ५०० रुपैयाँ कायम
काठमाडौँ । मंगलबार सुनको मूल्यमा ८ हजार बढीको वृद्धि भई करिब अढाइ लाख नजिक पुगेर नयाँ रेकर्ड कायम भएको छ । निरन्तर वृद्धि भई आएको सुनको मूल्य मंगलबार तोलाको २ लाख ४८ हजार५०० रुपैयाँ कायम भएको छ । एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
प्रयासका बाबजुद घटेन बजेट घाटा, कुल जीडीपीको ७.३ प्रतिशत कायम
काठमाडौँ । बजेट घाटा बढेको देखिएको छ । बजेट घाटा घटाउने प्रयास भइरहँदा पनि बढेको देखिएको हो । गरिएका प्रयासबाट वित्तीय अनुशासन र खर्च व्यवस्थापनमा केही सुधार देखिए पनि समग्रमा बजेट घाटा कायमै रहेको छ ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष (आव) २०८०/८१ को तुलनामा गत आव २०८१/८२ मा बजेट घाटा बढेको हो । गत आवमा सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ७.३ प्रतिशत कायम भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij