Logo

Oct 17 2025 | २०८२, असोज ३१गते

Oct 17 2025 | २०८२, असोज ३१गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असोज ३१ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् असोज ३१ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज ३१ शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    एमाले केन्द्रीय कमिटी बैठकद्वारा पोखरामा ११ औँ महाधिवेशन तय

    काठमाडौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा हुने तय भएको छ ।

     

    ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा सम्पन्न एमालेको दसौँ केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत महाधिवेशन आयोजनाको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

    एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकको तेस्रो तथा अन्तिम दिन आज अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका सवालमा पार्टीका एकमुष्ट जवाफ दिनुभएको थियो ।

    विपद् जोखिम न्यूनीकरण समितिद्वारा निजी आवास पुनर्निर्माणका लागि रु २२ अर्ब २४ करोड आवश्यक पर्ने अनुमान

    काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले निजी आवास पुनर्निर्माण तथा पुनःस्थापनाका लागि रु २२ अर्ब २४ करोड आवश्यकता पर्ने अनुमान गरेको छ ।

     

     

    समितिको आजको बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनियर दिनेशप्रसाद भट्टराईले ८२ हजार ८०० घर निर्माण तथा पुनःस्थापनाको लागत अनुमान गरिएको जानकारी दिनुभयो ।

    सञ्चार मन्त्रालयद्वारा जेनजी युवासँग छलफल, सुशासन प्रवर्द्धन र डिजिटल रूपान्तरणमा जोड

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुशासन, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधिको प्रवर्द्धन र युवाहरूको संलग्नताबारे जेनजी युवाका प्राविधिक क्षेत्रका प्रतिनिधिहरूसँग सुझाव लिएको छ ।

     

    सञ्चारमन्त्री जगदीश खरेलको अग्रसरतामा मन्त्रालयले पहिलोपटक जेनजी युवाका प्राविधिक क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरी सुझाव लिएको हो । सञ्चार मन्त्रालयले आज आयोजना गरेको डिजिटल रूपान्तरणसम्बन्धी अन्तक्र्रियामामा जेनजीका सूचना प्रविधि विज्ञहरूको सूचना प्रविधिको क्षेत्रमा युवापुस्तालाई समेटेर मन्त्रालयले आगामी कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।

    मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता निकासा गरेर अनियमितता गरेको अभियोगमा मुद्दा दायर

    काठमाडौँ ।  मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेर ७३ लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा वडाध्यक्षसहितका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीमा  जानकी गाउँपालिका–९ को वडा कार्यालयले छ सय ८३ जना लाभग्राहीको आफैंले औंठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता निकासा गरेर अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको हो ।

     
    नेपाल पुनर्बीमा कम्पनीमा १५ अर्ब ७६ करोडको दाबीमध्ये भुक्तानी १ अर्ब ६३ करोड मात्र

    काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीबाट भुक्तानी हुनुपर्ने गरी   निर्जीवन बीमा कम्पनीहरूको तर्फबाट १५ अर्ब ७६ करोड रुपैयाँ बराबरको दाबी परेको छ । पुनर्बीमा कम्पनीका अनुसार २ हजार ७३३ वटाको १५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ दाबी परेको हो।

     

    त्यसमध्ये पुनर्बीमा कम्पनीले हालसम्म १ अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेश्की) भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई भुक्तानी गरेको छ । ६० वटा दाबीको मूल्याङ्कन तथा अनुगमनका लागि संयुक्त बीमा सर्भेयर खटाइएको छ ।

    राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

    काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

     

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गर्नुभएको हो ।

    देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारीहरू माथि अभियोग चलाउन फाइल खोलिएको जानकारी

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारीहरू माथि अभियोग चलाउन फाइल खोलिएको बताएकी छिन् । विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई नेपालको विद्यमान राजनीतिक सामाजिक अवस्थाबारे जानकारी गराउने क्रममा   ब्रिफिङ गर्ने क्रममा शुक्रबार  उनले यस्तो बताएकी हुन् ।

    अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक बढ्दै

    गण्डकी। पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । दसैँको पूर्णिमापछि विस्तारै पर्यटकको आकर्षण बढ्दै गएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिनुुभयो । बिहीबार मात्रै एक हजारभन्दा बढीले सङ्ग्रहालयको अवलोकन गरेको उहाँले बताउनुुभयो । पर्वतीय पर्यटनका विविध पक्ष अवलोकन गर्नका लागि सङ्ग्रहालय बनाइएको छ ।

    त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, रु १० अर्ब लाग्ने

    काठमाडौँ ।सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो । गुरुयोजना बमोजिम क्रिकेट मैदानका लागि करिब रु १० अर्ब लाग्ने अनुमान गरिएको छ । सहरी विकासमन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तरराष्ट्रिय क्रिकेट मैदान भएको र अन्तरराष्ट्रिय खेल तथा पर्यटन प्रवद्र्धनमासमेत यसको योगदान हुने उल्लेख गर्नुभयो ।

    प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री अर्याल

    काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उहाँले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको हो । गृहमन्त्री अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराई मुलुकभित्रको आन्तरिक सुरक्षालाई थप मजबुद बनाउन गृह मन्त्रालयको प्रमुख दायित्व रहेकाले सोहीअनुसार काम गरिरहेको उल्लेख गर्नुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्रोतसाधनको अभाव हुन नदिन सरकार सजग रहेको उहाँको भनाइ थियो । गृहमन्त्री अर्यालले नेपाल प्रहरी कानुन कार्यान्वयनमा अग्रपङ्क्तिमा रहने र सरकारप्रतिको धारणा तथा प्रतिक्रिया अभिव्यक्त गर्दा निशानामा पर्ने भन्दै गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन यसैको प्रतिबिम्ब भएको धारणा राख्नुभयो  ।

    हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता

    काठमाडौँ, ३१ असोजः डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको छ । उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको प्रिमियम महसुलको कूल रु १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता रु ५० लाख ४३ हजारको एक मासिक किस्ता हुनेगरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ ।

    शुक्रबार सुनको मूल्यमा २ लाख ५८ हजार रुपैयाँ  सहित नयाँ रेकर्ड कायम

     काठमाडौँ । शुक्रबार सुनको मूल्यमा ७ हजार १०० रुपैयाँको वृद्धि भई २ लाख ५८ हजार रुपैयाँ  कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ कायम भएको हो ।  जुन हालसम्मकै उच्च मूल्य हो । बिहीबार सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    लाइन काट्ने समयसीमा नजिकिँदै जाँदा गरे तीन कम्पनीले बक्यौता तिर्न सुरु

    काठमाडौँ । लाइन काट्ने समयसीमा नजिकिँदै जाँदा तीन कम्पनीले बक्यौता तिर्न सुरु गरेका छन् । डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका हुन् ।

     

    सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन् । विगतमा किस्ताबन्दीको सुविधा लिइ बक्यौता रकम तिर्न सुरु गरेका तीनवटै उद्योगले  गत वैशाखदेखि किस्ता तिर्न छाडेका थिए ।

     

    कातिक महिनामा  अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेप ब्याजदर घटाए , ९ले यथावत राखे

    काठमाडौँ । वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर कातिक महिनामा पनि घटाएका छन् । सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्। ९ वटा वाणिज्य बैंकले भने असोजकै ब्याजदरलाई यथावत् राखेका छन्।

     

    यथावत् ब्याज दर राख्ने वाणिज्य बैंकहरूमा  नबिल ५.५, नेपाल इनभेष्टमेन्ट मेगा ५.२५, हिमालयन ६, कुमारी ५.०१, सिद्धार्थ ५.५, ग्लोबल आईएमई ६, सिटिजन ५.२५ , नेपाल बैंक ५.२५ र राष्ट्रिय वाणिज्य बैंक ५.५रहेका छन् ।

    पुष्प व्यवसायमा आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

    काठमाडौँ।नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत बढेको छ । फूल र रङको पर्वको रुपमा रहेको तिहार सुरु भएसँगै फूलको किनबेच बढेको हो । पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ । नेपालमा २०११ सालदेखि सामान्य रुपमा फूलखेती हुँदै आए पनि २०५० सालको दशकपछि भने यसले व्यावसायिक रुप धारणा गरेको हो । पछिल्लो एक दशकयता नेपालमा फूलको व्यावसायिक खेती गर्नेको सङ्ख्या बढ्दो छ । पुष्प व्यवसायबाट मनग्य आम्दानी हुने भएपछि कृषिका अन्य क्षेत्रसँगै पुष्पखेती गर्नेको सङ्ख्या बढ्न थालेको हो । यस्तै, पूmलको प्रयोग धेरै हुने भएकाले तिहारलक्षित फूलखेती गर्नेको सङ्ख्या बढ्दै गएको छ । छोटो समयमा पर्याप्त आम्दानी हुने भएकाले तिहारमा प्रयोग हुने सयपत्री र मखमलीको व्यावसायिक खेती हुने गरेको छ ।

     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij