
काठमाडौँ । गत भदौ २३ र २४ गतेको ‘जेनजी प्रदर्शन’ का क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा हालसम्म ६ करोड १० लाख रुपैयाँ संकलन भएको छ।
अर्थ मन्त्रालयका अनुसार आइतबार बिहानसम्म कोषमा सर्वसाधारण, व्यापारी, निजी क्षेत्रका प्रतिनिधि, गैरआवासीय नेपाली, संघ–संस्था र विकास साझेदारहरूले योगदान गरेका छन्। सरकारले असोज ८ गते पुनर्निर्माणका लागि सार्वजनिक सहभागिता र अपनत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कोष स्थापना गरेको थियो।
कोषमा आर्थिक सहयोग गर्ने व्यक्तिहरूका लागि सरकारले विशेष सुविधा प्रदान गरेको छ — योगदान रकमलाई चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न सकिने व्यवस्था गरिएको छ। उक्त कोषको खाता राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखा ९खाता नं। १९६०१००१०२०७०००४० मा खोलिएको छ, जहाँ इच्छुक व्यक्तिहरूले आफ्नो सहयोग रकम जम्मा गर्न सक्छन्।
अर्थ मन्त्रालयका अनुसार, चाडपर्व तथा बिदाका कारण हाल रकम संकलन अपेक्षाकृत कम भए पनि आगामी दिनमा यो रकम क्रमशः बढ्ने अपेक्षा गरिएको छ। मन्त्रालयले निकट भविष्यमा कोषका सबै योगदानकर्ताको विवरण सार्वजनिक गर्ने तयारी पनि गरेको छ।
सहरी विकास तथा भवन विभागका अनुसार, प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि करीब साढे ६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। देशभर संघीय सरकारी कार्यालयका ४४० भवनहरू, साथै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, संसद् भवन, प्रधानमन्त्री निवास र विभिन्न मन्त्रालय तथा मन्त्री निवासहरू गरी ५५ वटा विशिष्ट भवनहरू क्षतिग्रस्त भएका थिए। तीमध्ये ३० भवनमा सामान्य, १७६ भवनमा आंशिक र १३४ भवनमा पूर्ण क्षति पुगेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij