Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

भरतपुर रंगशाला निर्माणमा ढिलाइः ७८ करोड ५० लाखको परियोजना सुस्त, १० करोडभन्दा बढी रकम फिर्ता

भरतपुर रंगशाला निर्माणमा ढिलाइः ७८ करोड ५० लाखको परियोजना सुस्त, १० करोडभन्दा बढी रकम फिर्ता

  •  

    चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनले काम अघि बढाउन नसकेपछि भरतपुर रंगशाला निर्माण परियोजना हाल भरतपुर महानगरपालिकाको जिम्मामा छ। निर्माण कार्यको जिम्मा हिमालयन कालिञ्चोक बिबिआर जेभी लाई दिइएको छ। कुल ७८ करोड ५० लाख रुपैयाँमा ठेक्का गरिएको यो परियोजना २०८३ पुस २२ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ।

    इञ्जिनियर मिश्रका अनुसार, पहिलो चरणको काम सम्पन्न भएपछि रंगशालामा अन्तरराष्ट्रियस्तरका खेल आयोजना गर्न सकिनेछ। पहिलो चरणमा १५ हजार दर्शक क्षमता भएको प्यारापिट, दुई वटा भिआइपी टावर, मुख्य खेलमैदानसहित पाँच वटा पिच, ड्रेनेज प्रणाली, रेलिङ, बाटो र पार्किङ क्षेत्र निर्माण गरिनेछ। दोस्रो चरणमा रंगशालाको थप विस्तारका काम हुनेछन्।

    रंगशाला त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तर कृषि तथा वनविज्ञान विश्वविद्यालयले उपयोग गरिरहेको २० बिघा १९ कठ्ठा जमिनमा, अर्थात् भरतपुर महानगरपालिका–१५ मा निर्माण भइरहेको हो। यो रंगशालालाई अन्तरराष्ट्रियस्तरका खेलका लागि मापदण्डअनुसार बनाउन योजना गरिएको छ।

    महानगरले यो परियोजना संघीय र प्रदेश सरकारको सहयोगमा अघि बढाइरहेको छ। तर, निर्माण कार्यमा ढिलाइ हुँदा गत आर्थिक वर्ष ९२०८१र८२० मा विनियोजित रकम १० करोड ५४ लाख रुपैयाँ फिर्ता भएको छ।

    संघीय सरकारले निकासा गरेको २५ करोडमध्ये १७ करोड ६५ लाख मात्रै खर्च भएको र ७ करोड ३४ लाख फिर्ता भएको छ। त्यस्तै, बागमती प्रदेश सरकारले दिएको १० करोडमध्ये ६ करोड ८० लाख मात्रै खर्च भएको र ३ करोड २० लाख फिर्ता भएको छ।

    रंगशाला निर्माणमा बागमती प्रदेश सरकार ७० प्रतिशत र भरतपुर महानगरपालिका ३० प्रतिशत खर्च व्यहोर्ने सहमति छ। संघीय सरकारले महानगरको तर्फबाट आउने रकमको सहयोग गरेको थियो।

    तर, महानगरले विनियोजन गरेको ५ करोड रुपैयाँ पनि फ्रिज भएको छ। निर्माण कम्पनीले असार मसान्तसम्म ४० प्रतिशत काम सम्पन्न गर्नुपर्ने भए पनि आर्थिक प्रगति २ दशमलव ४९ प्रतिशत मात्र भएको महानगरले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij