Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

पहिलो त्रैमासिकमा सरकारको पुँजीगत खर्च खुम्चियो ,आम्दानी भन्दा खर्च बढी

पहिलो त्रैमासिकमा सरकारको पुँजीगत खर्च खुम्चियो ,आम्दानी भन्दा खर्च बढी

  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन–असोज)मै सरकारको खर्च आम्दानी भन्दा बढी भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु प्रकृतिको खर्च बढेर गएको छ ।असोज मसान्तसम्म सरकारले ३ खर्ब ६४ अर्ब ५८ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यस अवधिमा राजस्व, अनुदान र अन्य गरी  आम्दानी   २ खर्ब ५३ अर्ब १८ करोड रुपैयाँ मात्र भएको देखिन्छ । तीन महिनामै सरकारको आम्दानी र खर्चका बीचमा १ खर्ब ११ अर्ब रुपैयाँ बराबरको अन्तर देखिएकाले सरकारले ऋण लिएर खर्चको व्यवस्थापन गर्नुपर्ने  अवस्था आएको छ ।

    कार्यालयका अनुसार असोजसम्म भएको कुल बजेट खर्च लक्ष्यको १८.५६ प्रतिशत हो । चालु आवमा सरकारले १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । चालु खर्च असोजसम्म २ खर्ब ५६ अर्ब ८० करोड रुपैयाँ बराबर भएको छ । यस आवमा ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबर चालु खर्चको लक्ष्य छ । असोजसम्म २१.७५ प्रतिशत चालु खर्च भएको देखिन्छ ।तीन महिनामा १९ अर्ब १८ करोड रुपैयाँ मात्र पूँजीगत खर्च भएको छ । यो लक्ष्यको ४.७ प्रतिशत मात्र हो । यस वर्ष सरकारले ४ खर्ब ८ अर्ब ८८ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य निर्धारण गरेको छ ।

    वित्तीय व्यवस्थातर्फ तीन महिनामा ८८ अर्ब ६० करोड रुपैयाँ  भएको खर्चमा अधिकांश ऋणको साँवा, ब्याज तिर्न खर्च भएको हो । यस वर्ष सो प्रयोजनका लागि सरकारले ३ खर्ब ७५ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । वित्तीय व्यवस्थातर्फको खर्च लक्ष्यको २३.६१ प्रतिशत भइसकेको छ ।

    गत आवको पहिलो तीन महिनासँग दाँजेर हेर्दा चालु खर्च विस्तार भएको र  पुँजीगत खर्च  खुम्चिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार अघिल्लो वर्ष असोज मसान्तसम्म कुल बजेट खर्च ३ खर्ब २९ अर्ब रुपैयाँ बराबर भएको थियो । जसमा चालु खर्च २ खर्ब २९ अर्ब र पुँजीगत खर्च २९ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको थियो ।गत आवमा सरकारले आव २०८०/८१ मा खर्च भएको बक्यौता पहिलो त्रैमासिकमा भुक्तानी गरेकोले पुँजीगत खर्च बढेको पर्यवेक्षकहरूको भनाइ छ । सो आवमा वित्तीय व्यवस्थापनतर्फ ६९ अर्ब ९७ करोड रुपैयाँ भएको थियो ।

    अर्थ मन्त्रालयका अनुसार यस वर्ष असोजसम्म २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ । यो निर्धारित लक्ष्यको ७८.१२ प्रतिशत मात्र हो । यो  वर्ष कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा  असोजसम्म ३ खर्ब २१ अर्ब ५३ करोड संकलन गर्ने लक्ष्य थियो ।

    असोज महिनामा मात्र १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलनको गर्ने लक्ष्य रहेकोमा ९२ अर्ब ४७ करोड रुपैयाँ संकलन भएको जनाइएको छ । यो  ८९.७१ मात्र हो । असोज ३१ का दिन मात्र ८ अर्ब ६ करोड राजस्व उठेको थियो  । गत आवको असोज मसान्तसम्म २ खर्ब ५३ अर्ब १ करोड राजस्व उठेको थियो । यस अनुसार गत आवको तुलनमा राजस्व असोजमा घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij