Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

  • पर्वत ।साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ । जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले सञ्चालन गरेको विश्वकै अग्लो बञ्जी पुल र ‘द हार्नेस’ प्रालीले सञ्चालन गरेको विश्वकै लामो ‘सुपरम्यान’ शैलीको जिपलाइनलाई जोडेर मुदुकमा पहिलोपटक अग्लो र लामो दूरीमा हाइलाइनको अभ्यास गरिएको हो । हाइलाइन मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेलका रूपमा मानिन्छ । कालीगण्डकी खोँचमा ४०८ मिटर लामो र २२८ मिटरको उचाइमा पहिलोपटक हाइलाइनको परीक्षण सफल भएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । हाल जर्मनीमा बसोबास गर्दै आउनुभएका धनकुटाको हिलेका शङ्कर कोइरालाले लामो समयदेखिको गहन योजनाका रूपमा यो कार्यक्रम गर्नुभएको हो । कोइरालाले १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएको बताउँदै लामो प्रयासपछि पर्वतमा पनि यो सम्भव भएको उल्लेख गर्नुभयो ।

    साहसिक पर्यटन प्रवर्द्धनको उद्देश्यले कोइरालाको संयोजनमा नेपालमा हाइलाइनको यस्तो प्रयास हुनु पर्यटकका लागि नयाँ खेलका रूपमा स्थापित हुने क्लिफका अध्यक्ष कार्कीले विश्वास व्यक्त गर्नुभयो । पहिलोपटक गरिएको हाइलाइनको क्रु सदस्यमा कोइरालासहित तीन जना नेपाली र तीन विदेशी छन् । गत असोज २९ गतेदेखि सुरु भएको हाइलाइन कार्यक्रम शनिबार सकिएको छ । नेपाल स्ल्याकलाइन कम्युनिटी र लोकप्रिय एड्भेञ्चर हब ‘द क्लिफ’को सहकार्यमा यो हाइलाइन आयोजना गरिएको हो । क्लिफका अध्यक्ष कार्कीका अनुसार नेपालमा पहिलोपटक यति उचाइमा हाइलाइन गरिएको हो । “यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो । नेपाल स्ल्याकलाइन कम्युनिटीका सदस्यको अनुभव र युरोपेली प्रशिक्षकको सहयोगमा यो परियोजना अघि बढाइएको कोइरालाले बताउनुभयो ।

    उहाँका अनुसार खेल हेर्दा डरलाग्दो देखिए पनि पूर्ण रूपमा सुरक्षा मापदण्ड अपनाइएको थियो । “हाइलाइन २० मिटरबाट सयौँ मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो । सन्तुलनका लागि गहिरो ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ”, उहाँले भन्नुभयो । वर्षायाम सकिएसँगै पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । सोही अवसरमा गरिएको हाइलाइन हेर्न पनि सयौँ पर्यटक सहभागी भएका थिए । यसबाहेक जिपनलाइन, बञ्जी, स्वीङ, स्काइसाइक्लिङ, मेगाट्रोल, पिङ, रक क्लाइम्बिङ, र्‍याफ्टिङका लागि पर्यटकको आकर्षण बढ्दै गएको छ । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij