काठमाडौं । मेची भन्सारबाट सवा १२ अर्ब बढी रुपैयाँको मालवस्तु आयात, निर्यात घटेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १२ अर्ब २८ करोड ३० लाखका मालवस्तु आयात भएका हुन्। यो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३.३१ प्रतिशतले बढी हो।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा १० अर्ब ८४ करोड तीन लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात भने घटेको छ। उक्त अवधिमा ४ अर्ब ८० करोड ३९ लाख बराबरको सामान विभिन्न मुलुकमा निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ८ करोड ६९ लाखको वस्तु तथा सामान निर्यात भएको थियो। यो नाकाबाट निर्यात २१.०८ प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारी हुमागाईंले बताए।
पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन् भने आयात हुने मुख्य मालवस्तुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडालगायत रहेका छन्।
कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा आयात निर्यातबाट ४ अर्ब १५ करोड २० लाख आठ हजार राजस्व संकलन भएको छ। यो गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १५.६९ प्रतिशत अर्थात् ५६ करोड २९ लाख ९७ हजारले बढी हो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij