काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक ९ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
स्रोत नखुलेको करिब ७० लाखसहित पक्राउ परेकाविरुद्ध आठ दिन म्याद थप
काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ८५ हजार रकम र सुनका गहनासहित पक्राउ गरेका दुई जनामाथि आठ दिन म्याद थप गरिएको छ ।
तिहार बिदाको समयमा यही कात्तिक ५ गते पक्राउ परेका धादिङको नीलकण्ठ नगरपालिका दुई घर भई हाल काठमाडौँ बस्ने २२ वर्षकी रोजिना सुनार र चिनिया नागरिक झाओ झोङलाई आज म्याद थपिएको हो । दुवैलाई बिदा खुलेपछि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो ।
उत्तरी नाका बन्द भए पनि विद्युतीय गाडीको आयात बढ्यो
काठमाडौँ । उत्तरी नाका बन्द रहे पनि दशैं–तिहारको तयारीसँगै यस वर्ष विद्युतीय गाडीको आयात गत वर्षको तुलनामा बढेको छ। रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा पनि व्यवसायीहरूले कोरला नाकाबाट गाडी भित्र्याएका छन्।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सवारी साधन तथा तिनका पार्ट्स आयातबाट २९ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको २५ अर्ब २३ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।
शान्तिसुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल शान्तिसुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन मधेस प्रदेशको भ्रमणमा जानुहुने भएको छ ।
उहाँसँगै भ्रमण दलमा उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दङ्गाल पनि रहनु प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उहाँहरू सोमबार जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको रावलले बताउनुभयो ।
जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा
काठमाडौँ । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विष्फोटन, हिमपहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढेको देखाएको छ ।
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०ले गरेको ‘थामे उपत्यका हिमताल विष्फोटन बाढीको कारण, प्रभाव, र भविष्यका जोखिम’ नामक अध्ययनमा उक्त क्षेत्रमा प्रत्येक दश वर्षमा औसत ०।२८ डिग्री सेल्सियसले तापक्रम बढिरहेको उल्लेख छ । उक्त अध्ययन ईसिमोडका जोखिम विशेषज्ञहरू सुदनविकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा र अरुणभक्त श्रेष्ठले गर्नुभएको हो ।
निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्छः संयोजक दाहाल
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको माध्यममार्फत संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
माओवादी केन्द्र गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उहाँले पछिल्लो राजनीतिक परिस्थितिमा निर्वाचनको अर्को विकल्प नभएको बताउनुभयो ।
केन्द्रीय महाधिवेशन आयोजक समिति संयोजक दाहालले भन्नुभयो,“हामी निर्वाचनबाट पछि हट्ने कुरा हुँदैन । निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारलाई सबै ढङ्गले दबाब दिनु आवश्यक छ । पछिल्लो परिस्थितिको निकास यसैबाट हुनसक्छ ।”
नवनियुक्त युवा तथा खेलकुद मन्त्री गुप्ताद्वारा पदबहाली
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज आफ्नो पदबहाली गर्नुभएको छ ।
सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्र्तगतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सुनको मूल्यजस्तै आयात पनि बढ्यो , पहिलो तीन महिनामा करिब ६ गुनाले बढ्यो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा सुन आयात उच्च दरले बढेजस्तै आयात पनि बढेको छ ।पहिलो तीन महिनामा मा मात्रै ६ सय ६ किलो सुन आयात भएको हो ।भन्सार विभागको प्रतिवेदन अनुसार गत आव पहिलो तीन महिनामा १ सय १३.५ किलो सुन आयात भएको थियो भने चालु आवमा करिब ६ गुना बढेर ६ सय ६ किलो आयात भएको हो ।
पहिलो त्रैमासिकमा सबै भन्दा बढी निर्यात हुने वस्तुमा भटमास तेल
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सबै भन्दा बढी निर्यात हुने वस्तुमा भटमास तेल परेको छ । पहिलो त्रैमासिकमा ७२ अर्ब ७८ करोड रुपैयाँको निर्यात हुँदा ४२ प्रतिशत हिस्सा भटमास तेलको कायम भएको हो ।
भन्सार विभागको तथ्यांक अनुसारभटमास तेल ३० अर्ब ६९ करोड ७८ लाख ३५ हजार रुपैयाँ बराबर निर्यात भएको छ । परिमाणको आधारमा भटमास तेल १४ करोड ५५ लाख ४१ हजार ५ केजी निर्यात भएको छ। निर्यात धेरै हुने वस्तुको सूचीमा भटमास तेलपछि दोस्रो बढी निर्यात हुने वस्तु गलैंचा रहेको छ । २ अर्ब ५७ करोड ५४ लाख ७ हजार रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ।
किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण
गुल्मी ।गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परम्परागत रुपमा मकै र कोदोखेती मात्र खेती गरिँदै आएको उहाँले बारीमा किबीका बोट देख्न सकिन्छ । उहाँले किबी खेतीबाट मात्रै वार्षिक रु छ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउनुभयो । सत्यवती गाउँपालिका–८ मा वडा सदस्य समेत रहनुभएका थापाले विगत ११ वर्षअघि व्यावसायिक रुपमा किबीखेती गर्न सुरु गर्नुभएको हो । उहाँले हाल आठ रोपनीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो र मोन्टी गरी छ वटा किबीका जात लगाउनुभएको छ । जलवायु र भौगोलिक संरचनाका हिसाबले भार्से किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उहाँले गत वर्ष किबी र बिरुवा गरी रु छ लाख आम्दानी गर्नुभएको थियो । अहिले गत वर्षको तुलनामा अझै राम्रो हुने अपेक्षा गरिएको थापाले बताउनुभयो ।
अपाङ्गता भएकाहरु अन्नपूर्ण आधार शिविरको पदयात्रामा
म्याग्दी।अपाङ्गता भएका व्यक्तिहरुले म्याग्दीको अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गरेका छन् । अपाङ्ग सञ्जाल अन्नपूर्ण गाउँपालिकाको आयोजनामा छ प्रकारका अपाङ्गता भएका नौ जनाले यही कात्तिक ५ गते नारच्याङको हुमखोलादेखि पदयात्रा सुरु गर्नुभएको थियो । पदयात्रा आज पूरा भएको सञ्जालका सचिव विशाल विकले जानकारी दिनुभयो । पदयात्रामा चोमु शेर्पा खुसी, ईश्वर बास्तोला, राजेश भण्डारी, सेरेवल पालसी सङ्गीता शर्मा, विशाल विक, भीम गुरुङ, वासु थकाली रहनुभएको थियो । उहाँहरुको सहयोगीका रूपमा बन्दना राई सहभागी हुनुभएको थियो ।
पहिलो तीन महिनामा आयात निर्यात दुवै बढयो , व्यापार घाटा ३ खर्ब ९५ अर्ब बढी
काठमाडौँ । जेनजी आन्दोलनको चपेटमा परेको असोज महिनामा वैदेशिक व्यापारका दुवै पक्षमा वृद्धि भएको छ ।चालु आर्थिक वर्षको तेस्रो महिना असोजमा आयात निर्यात दुवै बढेको तथ्यांकमा देखिएको हो । भन्सार विभागका अनुसार असोजमा १ खर्ब ६२ अर्ब ९२ करोड ८२ लाख रुपैयाँको वस्तु आयात भएको छ। गत आवको असोजमा १ खर्ब २८ अर्ब २० करोड ९६ लाख रुपैयाँको वस्तु आयात भएको थियो।
पहिलो त्रैमासिकमा आयात १९.७९ र निर्यात ८९.६४ प्रतिशतले बढेको छ।
घोषित प्रतिनिधि सभा चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान
काठमाडौँ । फागुन २१मा घोषित प्रतिनिधि सभा चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।निर्वाचन आयोगले आसन्न चुनावको तयारी अन्तर्गत प्रारम्भिक अनुमानसहितको बजेट साढे सात अर्ब रुपैयाँ बराबर तयार पारेको हो। यसलाई अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगको तयारी छ।तयार पारिएको प्रारम्भिक अनुमान अनुसारको उक्त बजेटलाई अझ ठोस गरिने आयोगकका पदाधिकारीहरूको भनाइ रहेको छ ।
दुई दिनमा पर्यटक प्रवेश शुल्कबाट साढे पाँच लाख दस्तुर सङ्कलन
टीकापुर (कैलाली)। टीकापुर नगरपालिका–५ स्थित कर्णाली नदीको तटमा रहेको टीकापुर बहृत उद्यानमा दुई दिनमा पर्यटक प्रवेश शुल्कबाट रु पाँच लाख ४५ हजार सङ्कलन भएको छ । दसैँ र तिहारपछि उद्यानमा आन्तरिक पर्यटक बढेका छन् । टीकापुर उद्यानमा शनिबार छ हजार ५०० पर्यटक भित्रिएका छन् । शनिबार पर्यटकको प्रवेश शुल्कबाट रु तीन लाख ६० हजार राजस्व सङ्लकन भएको छ । शुक्रबार रु एक लाख ८५ हजार सङ्कलन भएको पार्क इञ्चार्ज अर्जुन कुँवरले जानकारी दिनुभयो । बृहत उद्यान तथा टीकापुर पार्कमा आउने कतिपय पार्कमै पिकनिक खाने र रमाउने गर्दछन्, भने कतिपय घुमघाम गर्ने, नदी किनारमा रहेको मोटरबोटमा सवार गरेर फर्कने गरेका छन् । पार्कमा फोटो खिच्ने र टिकटक बनाउनेको भीड लाग्न थालेको छ । कालिकोटको रास्कोटका ज्येष्ठ नागरिक कृष्णप्रसाद न्यौपाने टीकापुर आएका बेला पार्क पुग्नुभयो । उहाँलाई पार्क असाध्यै मनप¥यो ।
आइतबार सुनको मूल्य ११ हजार ६ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम
काठमाडौँ । तिहार पछि सुनको मूल्य नेपाली बजारमा घटेर अढाइलाख भन्दा तल झरेको छ । आइतबार सुनको मूल्य कायम भएको छ । तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेर सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।
बैंकिङ प्रणालीबाट राष्ट्र बैंक ९० अर्ब रुपैयाँ तान्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ आइतबार तान्न लागेको छ ।केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्न लागेको हो । ४२ दिने निक्षेप संकलन उपकरणको मंसिर २१ गते साँवा तथा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले सूचनामा जनाएको छ ।
बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुनेछ ।
डेडिकेटेड र ट्रंक लाइन बक्यौता नबुझाउने दुई दर्जन उद्योगहरूको विद्युत आपूर्ति लाइन काटियो
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको महसुल नतिर्ने दुई दर्जन उद्योगहरूको विद्युत् लाइन काटेको छ । शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हिजो पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटिएको हो ।
सिँचाइका १२ ठेक्का रद्द ,सडकका ४० ठेक्का सम्झौता रद्द गरिँदै
काठमाडौँ। ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का अन्त्य गरिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का अन्त्य गरिएको जलस्रोत तथा सिँचाइ विभागले जनाएको छ । विभागका अनुसार बबई सिँचाइ आयोजनाका छ रुग्ण ठेक्का अन्त्य गर्न गत ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij