Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

पहिलो तीन महिनामा आयकर घट्यो

पहिलो तीन महिनामा आयकर घट्यो

  • काठमाडौँ ।  चालु आर्थिक वर्ष पहिलो  तीन महिनामा आयकर घटेको छ । साउनदेखि असोजसम्मको तीन महिनामा आयकर संकलनमा ९ प्रतिशतको गिरावट देखिएको हो ।अर्थ मन्त्रालयका अनुसार सो अवधिमा  ४६ अर्ब ९० करोड ६८ लाख रुपैयाँ आयकर संकलन भएको छ। गत आवको सोही अवधिमा  ५१ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ आयकर संकलन भएको थियो।

    भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क र गैरकरलगायत अन्य सबै राजस्व शीर्षकमा वृद्धि देखिएपनि  आयकर संकलन करिब ५ अर्ब रुपैयाँले घटेको हो।आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहालले जानकारी सार्वजनिक गरे अनुसार घरजग्गा कारोबार तथा सेयर बजारमा आएको मन्दीले  पुँजीगत लाभकर संकलनमा गिरावट आएको छ । 

    गत आवको सोही अवधिमा ८ अर्ब ७३ करोड रुपैयाँ ब्याज कर संकलन भएको बेला ७ अर्ब १६ करोड मात्रै उठेको छ।सरकारले चालु आवको पहिलो तीन महिनामा ७१ अर्ब २२ करोड आयकर संकलन गर्ने लक्ष्य लिएको थियो । तर  लक्ष्यको ६६ प्रतिशतमात्रै उठेको छ।भन्सार विभागका अनुसार चालु आवको तीन महिनामा आयात १९ र निर्यात ९० प्रतिशतले बढेको छ।  

    आयात  निर्यातमा भएको वृद्धिले भन्सारतर्फको महसुल संकलन गत आवकोभन्दा बढ्न गएको छ ।  गत आवको पहिलो तीन महिनामा ५१ अर्ब ९७ करोड संकलन भएको भन्सार महसुल चालु आवको असोजसम्म ५६ अर्ब ८६ करोड रुपैयाँ उठेको छ।

    मन्त्रालयका अनुसार असोजसम्म भ्याट ८ प्रतिशतले बढेको छ। गत आवको पहिलो त्रैमासिकमा  ७५ अर्ब ८ करोड संकलन भएको भ्याट चालु आवको सोही अवधिमा ८१ अर्ब २३ करोड रुपैयाँ संकलन भएको  छ।सोहीगरी  अन्तःशुल्क संकलन १९ प्रतिशतले बढेर तीन महिनामा ४७ अर्ब ८३ करोड रुपैयाँसंकलन भएको छ। यो रकम गत वर्ष पहिलो तीन महिनामा ३९ अर्ब ९७ करोड रुपैयाँ थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij