काठमाडौँ। आज ग्लोबल आइएमई बैंक (GBIME), गुराँस लघुवित्त वित्तीय संस्था (GLBSL) र मुक्तिनाथ कृषि कम्पनी (MKCL) का लगानीकर्ताका लागि लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेको छ।
गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले भोली (कात्तिक १४ गते) बुकक्लोज गर्नेछन् भने ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते (आइतबार) बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार आजसम्म नेप्सेमा कारोबार गरी कायम रहेका शेयरधनीहरूले यी कम्पनीहरूको साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्ने भएका छन्।
गुराँस लघुवित्तले आफ्नो दशौँ वार्षिक साधारण सभा कात्तिक २३ गते, आइतबार, हिले कान्जिरोवा मकालु होटल, धनकुटामा बिहान ९ बजे बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन, सञ्चालक नियुक्ति र लेखापरीक्षक चयन सम्बन्धी प्रस्तावहरू पनि छलफल हुनेछन्।
त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनीले आफ्नो सातौँ वार्षिक साधारण सभा कात्तिक २१ गते, शुक्रबार, सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा दिउँसो साढे ११ बजे बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र सोपश्चात कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछ।
ग्लोबल आइएमई बैंकले भने आफ्नो १९ औँ वार्षिक साधारण सभा कात्तिक २६ गते, बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजे आयोजना गर्ने जनाएको छ। सभामा हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, बैंकले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि ल्याएको छ।
यसरी, आजसम्म नेप्सेमा यी कम्पनीका शेयर खरिद गरी कायम भएका लगानीकर्ताहरूले सबै कम्पनीका लाभांश र साधारण सभामा सहभागी हुने अधिकार सुरक्षित गर्न सक्नेछन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij