काठमाडौँ । चालु आवको तीन महिनामा सार्वजनिक ऋण दायित्व ५० अर्ब बढीले बढेको छ । पहिलो त्रैमासिकको असोज मसान्तमा सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रहेको थियो । तीन महिनामा ५० अर्ब ६० करोड थप वृद्धि भएको जनाइएको छ ।अहिले कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको ४४ .६१ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा असोज मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
ऋण व्यवस्थापनको कार्यालय अनुसार चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्न लक्ष्य राखिएकामा असोज मसान्त सम्ममा १ खर्ब ८४ कराड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति १६.९३ प्रतिशत रहेकोमा बाह्य ऋण प्राप्तिको प्रगति क्रमशः २४ .८६ र ४.६४ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र वाह्य ऋणको हिस्सा क्रमश ८९ दशमलव २४ र १०.७६ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्ष २०८२÷८३ मा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा असोज मसान्तसम्म १ खर्ब ९ अर्ब ८९ करोड भुक्तानी भएको कार्यालयले जनाएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा २६.७४ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा असोज मसान्तसम्ममा कुल ऋण सेवा खर्च १.८० प्रतिशत रहेको जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij